coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चेल्सीमाथि फिफाको अनुसन्धान

लन्डन – विश्व फुटबल महासंघ (फिफा) ले कम उमेरका खेलाडीलाई अनुबन्धन गरेका कारण चेल्सीमाथि थप अनुसन्धान गर्ने भएको छ । एक प्रतिवेदनले १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई चेल्सीले अनुबन्धित गरेको सार्वजनिक गरेपछि इङ्लिस क्लबमाथि फिफाले अनुसन्धानलाई बृहत् बनाउने भएको छ।

पूर्वस्ट्राइकर बरट्रान्ड ट्रावरेलाई पनि चेल्सीले सन् २०१४ मा १८ वर्षभन्दा कम उमेरमा अनुबन्धित गरेको आरोप लाग्दै आएको छ ।चेल्सीले तीन वर्षमा गरेको १९ अनुबन्धनमा पनि अनुसन्धान हुने भएको छ । यता, फ्रेन्च वेबसाइट मिडियापार्टले पनि चेल्सीले भित्र्याएका १४ खेलाडी १८ वर्षभन्दा कम उमेरका रहेको दाबी गर्दै आइरहेको छ । चेल्सीले भने विज्ञप्तिमार्फत फिफाको अनुसन्धानमा पूर्ण रूपमा सहयोग हुने जनाएको छ।

क्लबले भनेको छ, ‘रिपोर्टमा देखाइएका कुनै पनि प्रमाण फिफाको नियमविपरीत छैन ।’ मिडियापार्टका अनुसार फिफाको अनुसन्धानले चेल्सीलाई चार ट्रान्सफर विन्डोमा प्रतिबन्ध लागाउनुका साथै ४५ हजार पाउन्ड जरिवाना लगाउने सक्नेछ । गत सेप्टेम्बरदेखि नै चेल्सीमाथि अनुसन्धान भइरहेको छ।

‘सबै छानबिन प्रक्रिया जारी छ । त्यसैले कुनै किसिमको निर्णय भएका छैनन्,’ फिफाको विज्ञप्तिमा उल्लेख छ । बुर्किना फासोका अन्तर्राष्ट्रिय खेलाडी ट्रावरे हाल लिग वान क्लब लियोनका लागि खेल्दै छन् । तर, उनले यसअघि व्यावसायिक फुटबल सन् २०१३ मा १८ वर्षकै उमेरमा चेल्सीबाट सुरु गरेका थिए।

यद्यपि उनको रजिस्टर भने जनवरीमा देखाइएको रिपोर्टहरूमा उल्लेख छ । मिडियापार्टको रिपोर्टले फिफाको प्रमाणलाई चेल्सीले मोड्न खोजेको दाबी गरिरहेको छ । ट्रावरेले यु–१६, यु–१८ र पहिलो टिमबाट गरी कुल २५ खेल खेल्दासम्म चेल्सीले फुटबल संघमा खेलाडीको बारेमा दर्ता नगराएको रिपोर्टमा उल्लेख छ।

चेल्सीले सन् २०११ को अप्रिलमै ट्रावरेको आमालाई १ लाख ५५ हजार पाउन्ड र बुर्किना फासो फुटबल संघलाई १३ हजार पाउन्ड दिने प्रस्ताव गरेको रिपोर्टमा उल्लेख छ । तर, चेल्सीको पहिलो प्रस्ताव दुवैले अस्वीकृत गरेको रिपोर्टमा उल्लेख छ।

त्यतिबेला चेल्सीले १८ वर्षभन्दा कम उमेर हुँदाहुँदै ट्रावरेलाई साढे चार वर्षका लागि अनुबन्धनको प्रस्ताव गरेको थियो । चेल्सीले पछि उनलाई २० हजार पाउन्डमा अनुबन्धित गरेको थियो । यता, यो समाचार सार्वजनिक भएसँगै यसअघि रियाल मड्रिड र एट्लेटिको मड्रिडलाई जस्तै चेल्सीलाई पनि अनुबन्धनमा प्रतिबन्ध लगाउने सक्ने सञ्चारमाध्यमले दाबी गर्दै आइरहेका छन्।

सन् २०१४ मा १८ वर्षभन्दा कम उमेरको खेलाडी अनुबन्धन गरेपछि बार्सिलोनालाई पनि खेलाडी प्रतिबन्ध लगाइएको थियो । १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई देशबाहिरबाट अनुबन्धित गर्न नपाउने फिफाको नियम छ । तर, उनको अभिभावक सोही देशमा बसाइ सरेको खण्डमा भने यो नियम लागू हुने छैन।

युरोपियन युनियनको नियममा १८ वर्षभन्दा कम उमेरका खेलाडीलाई अनुबन्धन गर्दा शिक्षा, गाँस र बासमा पनि क्लबले नै बेहोर्नुपर्ने नियम छ । क्लबले सय किलोमिटरभन्दा टाढा खेलाडीलाई राख्न पाउने छैन।

प्रकाशित: ४ मंसिर २०७५ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App