८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

वीरमा डिजिटल प्रविधीबाट दाँतको शल्यक्रिया

काठमाडौं - वीर अस्पतालमा नेपालमै पहिलो पटक डिजिटल्ली प्लान्ड अर्थोग्न्याथिक (कम्पयुटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरी सम्पन्न भएको छ । शुक्रबार वीर अस्पतालको डेन्टल विभागले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

वीरमा पहिलो पटक गरिएको सो शल्यक्रिया काठमडौंका एक २७ वर्षीय युवकको दाँतमा गरिएको हो । उनको दाँतको तल्लो भाग लामो र बाहिर निस्केका कारण शल्यक्रिया गरिएको चिकित्सकले जनाएका छन् । हड्डी बढी भएको कारण उनको च्यापु लामो देखिएको र अघिल्लो दाँतले खाना चपाउन नसक्ने समस्या थियो।

चिकित्सकहरुको संयुक्त टोलीले पाँच घण्टामा शल्यक्रिया सम्पन्न गरेका हुन् । शल्यक्रियाको क्रममा युवकको पाँच ठाउँका हड्डी काटेर जोडिएको छ । अर्थोडेन्थिक युनिटका डा. मनिष बज्राचार्य र ओरल तथा म्याक्सोफेसियल सर्जन डा. किशोर भण्डारीको नेतृत्वमा सो शल्यक्रिया सम्पन्न भएको थियो । शल्यक्रियामा एनेस्थेसियातर्फ डा. अभय पोख्रेल, अर्थोडेन्टिकतर्फ डा. अभिलाष, डा. निशा सहभागी थिए । अन्य चिकित्सकमा डा.बन्दना, डा.इफा, डा. सन्ध्या, डा.कृष्ण संलग्न थिए।

शल्यक्रियापछिको सुरुको अवस्था सफल भइरहेको र थप परिणाम तीन सातापछि मात्र भन्न सकिने चिकित्सकले बताउँछन् । ‘कुनै पनि शल्यक्रिया केही सातापछिसम्म सामान्य रह्यो भने मात्र पूर्ण सफल मान्न सकन्छि,’ डा. भण्डारीले भने । तर प्रविधिको दृष्टिले भने शल्यक्रिया सफल भएको उनले बताए।

यो प्रविधि सरकारी तहका अस्पतालमा पहिलो पटक भएको शल्यक्रियामा सहभागी चिकित्सक डा. भण्डारीले बताए । डिजिटल प्लानमा गरिएको सो शल्यक्रिया बिरामी र चिकित्सक दुवैका लागि फलदायी भएको उनले बताए । यो प्रविधिमा दाँतको कुन भागको कति शल्यक्रिया गर्ने भन्ने यकिन कम्पुटर सफ्टवेयरमै गरिन्छ । ‘पहिला कम्प्युटरमा शल्यक्रिया गर्छौं, त्यसपछि अनुहारमा,’ डा.भण्डारीले भने।

यो शल्यक्रियाका लागि दाँतलाई विशेष प्रविधिबाट बाँधेर तयारी अवस्थामा राख्ने काम विभागका ओरल तथा डेन्टिक विभागका चिकित्सक डा. मनिष बज्राचार्यले गरेका थिए । शल्यक्रियापछिको दाँत बाँध्ने काम पनि उनले नै गर्नेछन् । ‘यस्तो शल्यक्रिया गर्न डेढदेखि दुई वर्ष लाग्छ,’ बज्राचार्यले भने।

यस अघि सन् २०१६ देखि अस्पतालमा मुखको हड्डीको शल्यक्रिया सुरु गरिएको थियो । डिजिटल प्लानमा आधारित भने यो पहिलो शल्यक्रिया हो । म्यानुल अर्थात् पुरानो प्रविधिबाट अस्पतालमा यस अघि नै चार वटा सफल शल्यक्रिया भइसकेका छन् । १५ जना यस्तै शल्यक्रियाको पर्खाइमा छन् । यो प्रविधीबाट दाँतको हड्डीको शल्यक्रिया गर्दा शल्यक्रियापछि जटिलता नआउने, बिरामीको माग अनुसारको स्वरुपमा शल्यक्रिया गर्न सकिने, शल्यक्रियामा कम समय लाग्ने, शल्यक्रिया गर्दा ठिक्क मात्र काटिने सुविधा हुन्छ।

हाल शल्यक्रियाको लागि चाइनाका प्राध्यापकको सहयोग रहेको र आगामी शल्यक्रियाको लागि भने अस्पताल आफैंले व्यवस्था गर्ने बताइएको छ । हड्डी बढ्दा हुने गडवडी, जिनमा आएको गडवडी, चोटपटक, वंशाणुगत कारण, दाँत तथा कानमा आउने टियुमरको कारणले अनुहारको हड्डी लामो हुने, बिग्रिने, बाँगो हुने लगायतका समस्या उत्पन्न हुन्छन् । वीर अस्पतालमा यो शल्यक्रियाको लागि हालको शुल्क तीनदेखि पाँच हजार तोकिएको छ । शल्यक्रियामा आवश्यक सामग्री भने बिरामी आफैंले व्यवस्था गर्नु पर्नेछ । निजीको तुलनामा वीरमा यो सेवा कम खर्चिलो भएकाले बिरामीलाई लाभदायी हुने चिकित्सकहरु बताउँछन्।

प्रकाशित: ४ मंसिर २०७५ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App