चक्रव्यूहमा त्रिवि

मङ्गलबार, ०४ मङि्सर २०७५, ०७ : ५४ प्रा.डा. टंकनाथ धमला

छ दशकदेखि उच्च शिक्षाको गौरवमय इतिहास बोकेको, गुणवत्ता र विस्तारका आधारमा नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय स्थापनाकालदेखि वर्तमानसम्मको यात्राका थुप्रै कठिनतामा सफल र सार्थक बनेको छ । भरपुर अध्यापक, कर्मचारी तथा विद्यार्थीका आधारमा विश्वमै ठूलोमध्ये र उत्कृष्टतामा एक हजारभित्रको कोटिमा पर्ने यसका विभिन्न संकाय तथा अध्ययन संस्थानहरूमार्फत विश्वव्यापी ढंगले प्रतिस्पर्धा गर्न सक्ने उच्च शैक्षिक एवं प्राज्ञिक जनशक्ति उत्पादन हेतु सञ्चालित यसको उत्पादन नै विभिन्न मुलुकहरूमा र नेपालको अधिकांश निकाय, कूटनीतिक नियोग तथा राज्यको नीति निर्माण एवं संयन्त्रका हरेक तहमा योगदान पु-याइरहेको छ । यसर्थ त्रिविसँगै मुलुकको प्रतिष्ठा, पहिचान र समृद्धि पनि जोडिएको किटान गर्न सकिन्छ।

विश्वविद्यालयको गुणस्तरीयता तथा उत्कृष्टता मूलतः प्राध्यापकहरूको दक्षता, विद्यार्थीहरूको शैक्षिक उपलब्धि तथा कर्मचारीहरूको कार्य कुशलतामा निर्भर गर्ने हुँदा उच्च दक्षता भएका प्राध्यापकहरूलाई पहिचान गरी आ–आफ्नो क्षेत्रमा अझ बढी प्रभावकारी ढंगले लाग्न अभिप्रेरित गर्न र सोका लागि वातावरण निर्माण गर्न सके मात्र यसले उन्नतिको खुड्किलो चढ्न सक्छ । विश्वका उत्कृष्ट विश्वविद्यालय तथा अनुसन्धान निकायहरूसँग तुलनात्मक ढंगले काम गर्न सक्ने क्षमतावान् प्राध्यापकहरू त्रिविसँग अध्यावधि भएको प्रमाणहरू उहाँहरूले प्राप्त गरेका उपलब्धिहरू, अन्तर्राष्ट्रिय विशेष महत्व राख्ने सम्मान तथा उच्च महत्वका छात्रवृत्तिहरू, विश्वका विश्वविद्यालयहरूमा भेटिने त्रिविका विद्यार्थी एवं प्राध्यापकहरूको उपस्थिति र प्राप्त गरिरहेको वैज्ञानिक उपलब्धि नै हुन् । कैयौँ सिर्जनशील उत्कृष्ट व्यक्तिहरू विदेश पलायनको नराम्रो पीडा भोगेको त्रिविले आफूसँग भइरहेको स्तरीय जनशक्तिको उच्च सदुपयोग गर्दै प्रतिभा पलायनको यो क्रम रोकेर क्षमतावान् ऊर्जालाई निर्धक्कसँग प्राज्ञिक उन्नयनमा लाग्न तदनुरूपको सुविधा तथा अवसरहरू प्रदान गरिनु प्रारम्भिक सर्त नै हो । स्थापनाकालदेखि आज यो उचाइसम्म ल्याई पु-याउन ऐतिहासिक लगन र परिश्रम हुँदाहुँदै, आफ्ना कमी कमजोरीको साँचो मूल्यांकन गर्दै अथाहा अवसर ओगटेको त्रिविको उच्च मर्यादा कायम राख्दै यसलाई थप प्रभावकारी बनाउँदै लैजान थुप्रै चुनौतीहरूको सामना गर्नुपर्नेछ।

हामीले संस्था, पेसाको मर्यादा, आफ्नो विषय र नियुक्तिप्रतिको जिम्मेवारी के–कति निर्वाह गरेका छौँ ? आफ्नो क्षमताप्रति कति विश्वस्त छौँ र कति अरूका प्रति आसक्त छौँ ? अन्य मुलुकका प्राध्यापकहरूले गरे–सोचेका कार्यकलापसँग हाम्रा गतिविधिहरूको तुलना गर्ने कहिल्यै प्रयास गरेका छौँ ?

विश्वविद्यालय जस्तो वैज्ञानिक उन्नयनको पवित्र मन्दिरका पूजारी जो उच्च चिन्तन, दक्षता र जीवनशैली अपनाउँदै सम्पूर्ण भूगोलकै उत्थानमा आफूलाई समर्पित गर्नुपर्नेमा क्रमशः सीमित राजनैतिक तथा व्यावसायिक ढंगले प्रभावित हुँदै जाँदा प्राज्ञिक यात्रा धराशयी बन्दै आफ्नै सक्षमता, सबलता, निर्विवादिता र उत्कृष्टतामा प्रश्न खडा भई खासगरी नेतृत्वमा हुनेसँग संस्थालाई निस्वार्थ ढंगले दिशाबोध गर्न सक्ने सामथ्र्य र इच्छाशक्तिमा गिरावट आउन सक्छ । उच्च प्राज्ञिकता, प्रकाशन, प्रशासन, अनुसन्धान, पेसागत इमानदारी एवं सक्रियता, अनुभव तथा जेष्ठताका आधारमा ठीक समयमा ठीक ठाउँमा उपयुक्त व्यक्ति चयन गर्नुपर्नेमा थुप्रै पटक विभिन्न राजनैतिक प्रभावको हस्तक्षेप हुँदै जाँदाको परिणामस्वरूप कतिपय सक्षम जनशक्ति निरुत्साहित हुँदै गएको र नियुक्ति भएकाहरू पनि सीमितताकै खाँतिरदारीमा भुल्दा संस्था कमजोर हुँदै गएको यथार्थ लुकाएर लुक्दैन । उच्चकोटिको चेतनशील प्राणीको चेतनाको त्यो स्वरूपलाई केही स्वार्थको सामलले निर्मित सीमित संकीर्ण दायराबाट मुक्त गराई उसको दक्षता कक्षाकोठा र विज्ञान तथा व्यवस्थापनको प्रयोगशालामा मुखाकृत गरिनु नै संस्थाको मुख्य लक्ष्य हुनुपर्छ।

विद्यार्थीहरू चेतनाका संवाहक, परिवर्तनका द्योतक र मुलुकको भविष्य हुन्, विश्वविद्यालयहरू सपनाहरूको नर्सरी हुन् । अहिले उनीहरूले प्राप्त गर्ने ज्ञान, सीप र क्षमतामा भोलिको विश्व निर्माणको आधारशिला हुन्छ । के नेपाली विद्यार्थीहरूले संसार हाँक्ने सिद्धान्तको प्रतिपादनका सपना देख्न हुन्न ? के नेपाली विश्वविद्यालयहरूले त्यस्तो उत्पादन शक्तिको अवधारणा राख्न हुन्न ? तिनै सपनाहरूको व्यवस्थापन तथा हकहितका लागि निर्माण भएका विद्यार्थी संस्थाहरूको ध्यान विश्वविद्यालयको भौतिक, शैक्षिक तथा प्रशासनिक सुधारका कार्यक्रमहरू सँगसँगै संस्थाको स्रोत, साधनको व्यवस्थापन तथा विद्यार्थीहरूको उनीहरूले उत्कृष्टतामा पढ्न पाउनुपर्ने अधिकार र सोको वातावरणको खबरदारीतर्फ भन्दा पनि आफू सम्बद्ध संगठनको चिन्ता र भविष्यप्रति ढल्केको देखिनु आफ्नै स्वर्ण भविष्यमाथि कुठाराघात गर्नु हैन ? जानी नजानी कतिपय अवस्थामा त उनीहरूको प्रभाव विश्वविद्यालयको नीति तथा कार्यक्रमको तर्जुमा र सञ्चालनमा रचनात्मक जिम्बेदारीको भूमिका देखिनुपर्नेमा उल्टै गतिरोधात्मक देखिनु सम्बन्धित सबैको अहितकारी हुन जान्छ।

यसका अधिकांश कर्मचारी तथा प्राध्यापकका संस्थाहरू विशुद्ध प्राज्ञिक भएर आफ्नो वर्गीय हक, हित, दायित्व र भविष्यभन्दा पनि अन्य प्रभावले काम गरेको प्रस्टै देखिनु एक विडम्बना हो । हामीले संस्था, पेसाको मर्यादा, आफ्नो विषय र नियुक्तिप्रतिको जिम्मेवारी के कति निभाएका छौँ ? आफ्नो क्षमताप्रति कति विश्वस्त छौँ र कति अरूका प्रति आसक्त छौँ ? अन्य मुलुकका प्राध्यापकहरूले गरे सोचेका कार्यकलापसँग हाम्रा गतिविधिहरूको तुलना गर्ने कहिल्यै प्रयास गरेका छौँ ? एउटा प्राज्ञ राष्ट्रको साझा सम्पत्ति, मार्गदर्शक, विद्यार्थीको भविष्य, मुलुक निर्माणको द्योतक र सम्पूर्ण भूगोलको आशाको आँखा हुनुपर्ने हो । भलै, कतिपय सवालमा रचनात्मक कार्यहरू भएरै पनि विश्वविद्यालय नचाहिँदो राजनैतिक प्रभाव, अस्वस्थ राजनैतिक अभ्यास र यसको नकारात्मक छायाँबाट मुक्त हुन अति आवश्यक छ । आफूभित्रका गलत प्रवृत्ति जसले संस्थालाई विकरालको बाटोतिर धकेल्छ उसलाई दण्डित गर्ने र यसको उत्कृष्टतामा टेवा पु-याउनेलाई पुरस्कृत गर्ने जुझारु संस्कृति हामीसँग हुनुपर्छ । प्राध्यापनको जिम्मेवारीमा प्रवेश गरी उदाहरणीय बन्नुपर्नेमा आफ्नै अनुकूलता हेरी स्वतः स्थायी तथा बढुवाजस्ता चाँजोपाँजो मिलाउँदाको नतिजा आज हामीले भोगेका छौँ । विश्वविद्यालय त अनावश्यक द्वन्द्व, ध्वंश, बाधा, विरोध, बन्द, हड्ताल आदिबाट मुक्त भई शान्ति, विद्या र विज्ञानको मन्दिर हुनुपर्छ।

एउटा प्राज्ञ राष्ट्रको साझा सम्पत्ति, मार्गदर्शक, विद्यार्थीको भविष्य, मुलुक निर्माणको द्योतक र सम्पूर्ण भूगोलको आशाको आँखा हुनुपर्ने हो ।

राज्य संयन्त्रका सर्वोच्च निकायहरूदेखि नीति निर्माणका हरेक तप्कामा त्रिविको आफ्नै उत्पादनको वर्चस्व कायम रहँदा रहँदै र उल्टै आफ्नै मातृसंस्थाको हालत खस्कँदो अवस्थामा जान सक्ने अधिक सम्भावना देख्दा–देख्दै पनि सम्बद्ध सम्पूर्ण निकायहरूको ध्यानाकृष्ट गरी सुधार कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै अरू सबल, चुस्त, दुरुस्त र उत्कृष्ट बनाउनतिर प्राथमिकता दिनुपर्ने हैन ? विश्वविद्यालय र सरकारी निकायहरू तथा उद्योग क्षेत्र एवं राष्ट्रिय अन्तर्राष्ट्रिय सच्चा सम्बन्ध बीचको आपसी सहकार्य र सहअस्तित्वलाई विशेष जोड दिँदै राज्यमा आवश्यक जनशक्ति उत्पादन गर्न र मुलुकको चौतर्फी आर्थिक एवं सामाजिक विकासको क्रान्तिमा विशेष जोड दिनुपर्ने बेला हैन ? विज्ञान–प्रविधिमैत्री शिक्षा र अनुसन्धान, बाहिर सिकेको ज्ञान, सीप मुलुकमा भित्र्याउने गरी, विभिन्न मुलुकहरूबाट समेत दक्षता प्राप्त आफूभित्रै र बाहिर रहेका ऊर्जाहरू समेतको सहकार्यमा बाँकी जनशक्तिहरूको क्षमता तथा दक्षता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । चलिरहेका कार्यक्रमहरूको प्रभावकारिता, सुधार, अनुगमन, विस्तार, अध्ययन–अनुसन्धान भ्रमण र सोका लागि आवश्यक पूर्वाधारहरूको निर्माण लगायत गर्नुपर्ने थुप्रै कामहरूको सट्टा जे नगर्नुपर्ने हो, त्यसमा बढ्ता चियोचर्चो, चिन्ता–चासो दिइरहेछौँ।

मानव एवं समाजशास्त्रका अत्यन्त महत्वपूर्र्ण विषयहरूमा देखिएको विद्यार्थीहरूको न्यून उपस्थिति चिन्ताजनक छ । यो क्रम यथावत रहेमा हाम्रा पहिचानहरू के हुन्छन् र हामी कतातिर जान्छौँ ? ती लगायत अन्य विषयहरूलाई कसरी समसामयिक, विद्यार्थीहरूको रुचि र रोजाइको बनाउने ? यो विज्ञान प्रविधिको युगमा यस्ता विषयहरूलाई थप प्रभावकारी कसरी बनाउने ? विश्व बजारमा चलेका र आफ्नु आवश्यकता नहेरी सीमित स्रोत, साधनको भरमा केही सीमित विषयहरू उही पुरातन शैलीमा पढाएर ठूलो उपलब्धि खै कसरी सम्भव छ ? भन्दै आएको जीवनउपयोगी शिक्षा कहिले कसरी प्राप्त हुने ? बग्रेल्ती प्रश्न र उत्तरहरू पनि हामीबीच नै छन् भने किन समाधानको बाटोतिर समाहित नहुने?

मुलुकको सर्वाधिक महत्वको शिक्षा, स्वास्थ्य र सञ्चारमा भएको निजीकरणका नाममा कुनै गहन योजनाविना नै अन्धाधुन्द बाँडिएको सम्बन्धनले त्रिवि आफैँँ गहन समस्यामा परेको स्पष्ट छ । हाम्रा आफ्ना विगत ६० वर्षका आंगिक र विगतका केही वर्षभित्रै अनुमोदन प्रदान गरिएका क्याम्पसको संख्यालाई तुलना गरेर हेरौँ त, एक पटक हामी कुन अवस्थामा छौँ ? यो पंक्तिकारको कुनै जानकारीमा छैन कि संसारको कुनै पनि विश्वविद्यालयले आफूलाई यस्तो सीमित घेरा रचना गर्दै अरूलाई यत्रो संख्यामा सम्बन्धन देओस् । के हामीसँग पर्याप्त भवन र काम गर्न सक्ने जनशक्ति छैन अथवा विद्यार्थी अभिभावकहरू हामीसँग वितृष्ण छन् र अरू कसैले विनाकुनै आधारभूत योजना एकै भवनभित्र कोचाकोच गरिएका मेलाको बजार जस्तो, व्यापारिक केन्द्र जस्तो विभिन्न विश्वविद्यालय र विषयका मिश्रित कार्यक्रममा इच्छुक छन् ? चिकित्सा क्षेत्रमा देखिएको सम्बन्धनको खेती र त्यहाँ देखिएको व्यावसायिक धन्दा तथा विसंगति आफैँमा विकृत छ । त्रिविले आफैँ विगतका वर्षहरूमा यी विषयमा जनताको पहुच पु¥याउन कति पहल ग¥यो, आम नागरिकको आकांक्षा कत्तिको पूरा गर्न खोज्यो ? राज्यले र बाँकीलाई सम्बन्धन दिनुपर्ने अवस्था आएको हो ? निजी संस्था आफैँँमा सञ्चालन गर्नै हुन्न भन्ने होइन तर ती संस्था त आत्मनिर्भर, आफैँ जनशक्तिमा भर परेको र राज्यको स्थापित संस्थाभन्दा भिन्न प्रकृतिको उत्कृष्टता हुनुपर्ने हो न कि अरूकै आत्मा र सञ्चारमा भर गर्ने।

आफ्ना जनशक्तिहरूलाई आफैँँले सेवा सुविधा दिएर प्राज्ञिक उन्नयन तथा क्षमता अभिवृद्धि गराउने र सँगसँगै उनीहरूलाई नै निजी लगानीका कलेजहरूमा रम्ने, रमाउने अवसरका लागि त्रिवि जसरी मलजल गरिरहेछ, यो एक भस्मासुर शैली हो । के सम्बन्धन प्राप्त गर्ने संस्थाले आफ्नै पहुँचमा आफ्ना जनशक्तिहरू तयार गर्नुपर्दैन ? के त्रिवि जस्तो विशिष्ट संस्थाका कार्यक्रम सञ्चालन गर्छु भन्नेले विभिन्न विश्वविद्यालयका कार्यक्रम मिश्रित गर्न मिल्छ ? यी सम्बन्धनको स्वीकृतिको बुँदा हुनुपर्दैन ? अबको संघीय संरचनामा पनि त्रिवि सम्बन्धनको स्रोत बनेर नै बसी राख्ने होला कि ? त्रिविले आफूलाई क्रमशः रित्याएर अरूलाई हराभरा बनाइरहेछ, कल्की नभएको डाँफे जस्तो, माकुराको जालो जस्तो । यो उल्टो यात्रा नरोकिए हामीलाई यसले भोलि कहाँ पु-याउला ? यस्तो आत्मघाती कार्यको दूरगामी प्रभाव देखिनेछ निकट भविष्यमै।

विभिन्न बहानामा, पुँजी प्रवाह या जनशक्ति पलायन रोक्न भनेर, नेपाली स्वीकृतिमा अरू नै राष्ट्रका शैक्षिक संस्था खोलिने आधार पनि प्रस्ट छैन । अन्तर्राष्ट्रिय विशेष महत्व राख्ने संस्थाहरू पनि सीमित संख्यामा स्वागत गर्न सकिन्छ, जसले गर्दा उत्कृष्ट जनशक्तिको विकास, विदेशी प्रविधिको आगमन, विदेशी विद्यार्थी तथा विज्ञहरूको आकर्षण, संस्थाहरूबीचको सम्बन्ध विस्तार र मुलुकको चौतर्फी उन्नतिमा उल्लेख्य सहयोग प्रदान गर्न सक्छ । तर सस्तो जनशक्तिको भरमा अधिक शुल्क असुल्ने हेतुले र विदेशी स्तरको पाठ्यक्रमसँग खासै प्रतिस्पर्धा गर्न नसक्ने र मापदण्डसमेत पूरा नगरी खोलिएका नाम मात्रका विदेशी संस्थाले हामीलाई खोक्रो बनाउनुसिवाय अरू केही गर्दैन । बदलामा नेपालकै विश्वविद्यालयहरू रित्तो पारिरहने, पुँजी प्रवाह नरोक्ने र नेपालको उच्च कोटिको शक्तिलाई बाहिरिने बाध्यता सृजना गरि नै रहन्छ । त्यसैले पनि विदेशी संस्थालाई अनुमति दिँदा सरकार थप गम्भीर हुनु आवश्यक छ । स्पष्ट नीति नियम, पारदर्शी एवं विश्वसनीय अनुगमन र सही अर्थमा मुलुकको आवश्यकता र औचित्यका आधारमा मात्र बाह्य सम्बन्धन दिनुपर्छ । अन्यथा, अहिलेकै जस्तो अन्धाधुन्ध सम्बन्धनको बाढीले एकदिन आफैँलाई बढार्नेछ।

त्रिविप्रति नेपाली सबैको उत्तिकै जिम्मेदारी, दायित्व, अधिकार एवं कर्तव्य पनि छ । यसलाई उत्कृष्ट र आत्मनिर्भर बनाई नेपाललाई स्वदेशी तथा विदेशी शिक्षा निजीकरण तथा व्यापारीकरणको भुमरीबाट मुक्त गराउँदै मुलुकको समृद्धिको यात्रामा सहयोग पु¥याउन र त्रिविलाई विश्वसामु परिचित एवं तुलनीय बनाऔँ।

(त्रिवि गणित केन्द्रीय विभागमा अध्यापनरत धमला नेपाल गणित समाजका पूर्वसभापति हुन्।)








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad