८ वैशाख २०८१ शनिबार
खेल

प्रवीणको गोलमा एपिएफ विजयी, दाेस्राे चरणका खेल सकिँदा थ्री स्टार शीर्ष स्थानमा

एपिएफका प्रवीण स्याङ्तान र फ्रेन्ड्सका जीवन गुरुङ बलका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्यः एन्फा

काठमाडाैं - प्रवीण स्याङ्तानको निर्णायक गोलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो दोस्रो खेलमा फ्रेन्ड्स क्लबमाथि १–० को कठिन जित निकालेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा भएको खेलमा गोलकिपर राजु योगीको लामो पास नियन्त्रण गर्दै प्रवीणले इन्जुरी समयमा गोल गरेका थिए । प्रवीणको त्यही गोल एपिएफलाई तीन अंक जोड्न पर्याप्त बन्यो।

पहिलो हाफको सुरुआतमा विपक्षीलाई दबाबमा राख्दै गोलका लागि सुन्दर मौका सिर्जना गरे पनि एपिएफका फरवार्डले सदुपयोग गर्न सकेनन् । १३औं मिनेटमा एपिएफका रूपबहादुर लामाले पेनाल्टी बक्सभन्दा बाहिरबाट गरेको कडा प्रहार पे्रmन्ड्सका विदेशी गोलकिपर मोहम्मद नुरुल करिमले उत्कृष्ट बचाउ गर्दा एपिएफले निराश बन्नुपर्यो ।

लगत्तै प्रवीणले नै पोस्टको दायाँ भागमा पाएको बललाई फिनिसिङ गर्न प्रयास गरे पनि फ्रेन्ड्सका किपरले फेरि उत्कृष्ट बचाउ गरेका थिए । पे्रmन्ड्स मिडफिल्डर ब्रहिमान फोफानले ३३औं मिनेटमा पाएका अवसर सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा सुधारिएको खेल पस्किए पनि अन्तिम समयमा सम्हालिन नसक्दा अंक गुमाउनुपरेको हो।

दोस्रो हाफमा केही राम्रा मुभ बनाए पनि एपिएफका किपरले फ्रेन्ड्सका मौकालाई विफल पारेका थिए । खेलको अन्तिम समयमा एपिएफले काउन्टरमा गोल गर्दै संघर्षपूर्ण जित हात पारेको हो।

‘फ्रेन्ड्स आजको खेलमा रक्षात्मक खेल्छ भन्ने थाहा थियो । त्यसैले जित्ने लक्ष्यका साथ मैदान उत्रिएका थियौं । विपक्षी गोलकिपरले केही नाटक गर्दा हामीलाई सम्हालिन सजिलो भयो,’ एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हाम्रा फरवार्डमा केही समस्या देखियो । अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनौं । अन्तिम समयको काउन्टरले हामीलाई सफलता मिल्यो । स्पष्ट जितबाट खुसी छु । तर, आउँदा खेलमा टोलीको सुधार आवश्यक छ ।’ लिगको पहिलो खेलमा फ्रेन्ड्स थ्री स्टारसँग २–० ले पराजित भएको थियो।

उता, फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले अन्तिम समयमा सम्हालिन नसक्दा अंक गुमाउनुपरेको बताए । ‘हामीले राम्रो नै खेलेका थियौं । तर, अन्तिम मिनेट सम्हालिन नसक्दा पराजय भोग्नुपर्यो । हाम्रा खेलाडीमा अनुभवको कमी देखियो,’ फ्रेन्ड्सका प्रशिक्षक महर्जनले भने, ‘युवा खेलाडीबाट नै नतिजा आउने विश्वास छ।’

सोमबारै हलचोकस्थित एपिएफको मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले  लिगमा पहिलो जित निकाल्न सफल भयो । सुरुआतबाट दबाबमा राखेको हिमालयनले सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको हो।

पहिलो खेल एपिएफसँग गोलरहित खेलेको हिमालयनलाई तीन अंक दिलाउन विश्वास श्रेष्ठले ३०औं मिनेटमा गोल गरेका थिए । सोमबार सम्पन्न तीन खेलपछि लिगमा दोस्रो चरणका खेल समाप्त भएका छन् । थ्री स्टार र मनाङको समान ६ अंक छ । तर, गोलअन्तरका आधारमा थ्री स्टार शीर्षमा हुँदा साबिकको विजेता मनाङ दोस्रो स्थानमा छ । यस्तै दुई खेलमा स्पष्ट जित हात पारेको संकटा तेस्रो स्थानमा छ ।

समान ४ अंक बटुलेका हिमालयन शेर्पा, एपिएफ, त्रिभुवन आर्मी  र नेपाल पुलिस क्लब क्रमशः चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा छन् । एक खेलमा बराबरी र एक खेलमा पराजय भोगेका च्यासल र न्युरोड टिम नवौं र दशौं स्थानमा छन् भने फ्रेन्ड्स, सरस्वती, जावलाखेल र ब्रिगेड ब्वाइज क्रमशः अन्तिम चारमा छन्।

     

प्रकाशित: ३ मंसिर २०७५ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App