coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

काठमाडौं– करिब एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही साता बिहीबार बस्ने तयारी भएको छ। प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसङ्गठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको बैठक बस्न लागेको हो।

 पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ।  यसबीचमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको तथा तिहार र छठ पर्व परेकाले बैठक बस्न सकेको थिएन। नेकपाको पछिल्लो सचिवालय बैठक गत कात्तिक ८ गते बसेको थियो।

सो बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिश गर्न महासचिव विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो। 

नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले यही मङ्सिर ६ गते सचिवालयको बैठक बस्ने तथा त्यसले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्ने तयारी भएको जानकारी दिए। ‘‘पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार स्वदेश फर्कनुहुन्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि आगामी बैठक बस्ने तयारी गरिएको छ।’’ पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ। ती पदाधिकारीले जिल्लामा काम गर्नका लागि संयन्त्र गरेका छन्।

दुई सदस्यीय उक्त कार्यदलले निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न निर्देशन दिएको थियो। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि तीन महीनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन। रासस

प्रकाशित: ३ मंसिर २०७५ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App