७ वैशाख २०८१ शुक्रबार
राजनीति

दुई नम्वर प्रदेशको राजधानी जनकपुर बन्ने सम्भावना बढ्यो: गृहमन्त्री निधि

जनकपुर- उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरमा उच्च अदालत स्थापना गर्ने निर्णयले जनकपुर प्रस्तावित दुई नम्बर प्रदेशको राजधानी हुने प्रष्ट संकेत गरेको बताएका छन्।

स्थानीय निकाय र प्रदेशको सीमांकन सम्बन्धी विवाद नै मिल्न नसकेको बेला निधिले आइतबार गृहनगर जनकपुरस्थित कपिलेश्वर प्रहरी चौकीको भवन उद्घाटन समारोहमा यस्तो बताएका हुन्। यद्यपि जनकपुर राजधानी हुने विषयमा यहाँका बासिन्दाले भने निश्चिन्त भएर बस्न नहुने उनले बताए।

‘जनकपुरलाई भविष्यमा प्रस्तावित यो प्रदेशको राजधानी बनाउनकै लागि भनेर यसै नगरमा उच्च अदालत कायम गर्ने निर्णय गरिएको हो’ उपप्रधानमन्त्री निधिले भने, ‘तर, राजधानी लायकको सहर बनाउन आवश्यक तयारी र योजनाको काम जनकपुरवासीले गर्नैपर्छ ।’ राजनीतिमा जे पनि हुन सक्ने बताउँदै उनले जनकपुरवासीले यसकालागि दबाव सिर्जना गरिरहनुपर्ने प्रष्ट पारे । उक्त कार्यक्रममा बोलेको अधिकांस समय उनले जनकपुरलाई प्रस्तावित दुई नम्बर प्रदेशको राजधानी बनाउने विषयमा बोलेका थिए।

उनले संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गर्ने काम अन्तिम चरणमा रहेको बताउँदै यसका लागि आवश्यक छलफल सम्बन्धित सबै पक्षसँग तिव्रसाथ भइरहेको पनि बताए। उपप्रधानमन्त्री निधिले संविधान संशोधन बिना अहिलेकै अवस्थामा चुनाव असम्भव रहेको विश्लेषण गर्दै पक्रिया अड्काएर मुलुकलाई अर्निणयको बन्दी हुनबाट जोगाउन सबै दलले पहल गर्नुपर्ने उल्लेख गरे।

१६ महिनामा तीन तहको निर्वाचन गर्न सजिलो नरहेको भन्दै निधिले अझै पनि संविधान संशोधन हुन नदिने हो भने संविधान कार्यान्वयन नै हुन नसक्ने स्थिति आउन सक्ने आंकलन गरे । ‘अहिले संशोधन प्रस्ताव दर्ताको प्रक्रिया अघि बढिरहेको छ । यसपछि एमालेले पनि यो कार्यमा साथ दिनेछ भन्ने मेरो विश्वास हो’ उनले भने। 

आइतबारै आयोजित मैथिली विकास कोषले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा निधिले दुई नम्बर प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा नेपाली पछि मैथिली हुने बताए।

जनसंख्याको आधारमा मैथिली भाषा नेपालको दोश्रो र प्रदेश नम्बर दुईको पहिलो भाषा रहेकोले पनि मैथिली सरकारी कामकाजको भाषा बन्नेमा दुई मत नरहेको उनले प्रष्ट्याए। उनले मैथिली भाषालाई प्राथमिकतामा पार्न आवश्यक दबाव दिइरहन पनि प्रदेशवासीलाई आग्रह गरे।

अर्को प्रसंगमा उनले आफू हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधनको कुरा कहीं कतै नबोलेको पनि स्पष्ट पारे।

 

प्रकाशित: ९ आश्विन २०७३ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App