coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा विमानस्थलको धावनमार्ग मर्मत सुरु

पोखरा विमानस्थलको धावनमार्ग मर्मतका लागि ल्याइएको कच्चा पदार्थको ड्रम विमानस्थल परिसरमा । विमानस्थलमा उडान अवतरण रोकेर धावनमार्ग मर्मत गर्न थालिएको छ। तस्बिर : सन्तोष/नागरिक

पोखरा - पोखरा विमानस्थल धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ । मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछि भोलिपल्ट ६ बजेसम्मका सबै उडान र अवतरण बन्द गरिने नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाईंका अनुसार धानवमार्ग, ट्याक्सी–वे, एप्रोनसहित धावनमार्ग वरिपरिको कालोपत्रे सडकको पनि मर्मतसम्भार गर्न थालिएको छ । ‘झन्डै एक दशकपछि विमानस्थलको धावनमार्ग मर्मत गर्न लागिएको हो,’ उनले भने, ‘यसका लागि झन्डै दुई साता लाग्नेछ । हरेक दिन दिउँसो ३ बजेपछि काम गर्नुपर्ने भएकोले समय अभावमा धेरै दिन लाग्नेछ।’

गुरागाईंका अनुसार धावनमार्ग सहित विमानस्थलभित्रको सबै कालोपत्रे खण्ड मर्मत हुनेछ । त्यसका लागि अलकत्रा जस्तै पदार्थले कालोपत्रेको सबै खण्ड पोतिनेछ । यो प्रविधिलाई स्लरी सिल भनिन्छ । यो प्रविधिबाट धावनमार्ग मर्मत गर्दा उप्किएको साना आकारको गिट्टी पूर्ण रुपमा टासिनेछन् । ‘गोबरले घर पोतेजस्तै विशेष खालको अलकत्राले धावनमार्गको सबै खण्ड पोत्ने होे,’ उनले भने, ‘यसो गर्दा अबका तीन वर्षसम्म धावनमार्ग पूर्ण रुपमा सुरक्षित हुनेछ।’

विमानस्थलको धावनमार्ग अहिले नै बृहत् रुपमा मर्मतसम्भार गर्न आवश्यक भइसके पनि स्लरी सिलले काम चलाउने उनले बताए । धावनमार्ग पूर्ण रुपमा मर्मत गर्दा स्लरी सिलभन्दा उच्च खालको कालोपत्रे (ओभरले) गर्नुपर्ने भए पनि अबका केही वर्षमा पोखरामा अर्काे विमानस्थल तयार हुने भएकोले अहिले स्लरी सिलबाटै काम चलाउन खोजिएको उनको भनाइ छ।

‘ओभरले नगरेको पनि झन्डै दशक पुगेको थियो । अबको तीन वपर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल तयार भएर चालु विमानस्थलमा उडान रोकिने भएकोले सामान्य मर्मतबाट काम चलाउन लागिएको हो,’ उनले भने, ‘अहिलेको मर्मतसम्भारले तीन वर्ष सहजै धान्छ । त्यो अवधिसम्म अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्छ ।’ हरेक दस वर्षमा ओभरले गर्नुपर्ने विमानस्थलको अन्तर्राष्ट्रिय नियम रहेको पनि उनले बताए । ओभरलेभन्दा स्लरी सिल निकै नै सस्तो पर्ने भएकोले पनि यो प्रविधिबाट काम चलाउन  खोजिएको उनले बताए । अहिले धावनमार्गमा सामान्य मर्मत गर्दा झन्डै एक करोड ९० लाख रुपैयाँ खर्च लाग्नेछ । ओभरले गर्दा यो खर्च झन्डै २० करोड रुपैयाँ पुग्छ । पोखरा विमानस्थलमा १४ सय ४७ मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग छ।

तापक्रम हेरेर धावनमार्ग सहित आसपासका क्षेत्रमा कालोपत्रे हुनेछ । यसले उप्किन थालेको धावनमार्गलाई अझ बलियो बनाउने उनले बताए।

ठूला आकारका जहाज अवतरण गर्ने हुँदा जहाजको भार धावनमार्गमा पर्छ । अहिले ७२ सिट क्षमताका एटिआर ७२–५०० जहाजले समेत पोखरामा उडान भर्छन् । धावनमार्ग मर्मत गर्नुपरे पनि गिट्टी बिछ्याउन नपर्ने भएकोले यो प्रविधिबाट काम छिटो हुने गुरागाईंले बताए । राति १० बजेसम्म काम गरेर भए पनि दुई सातामा सक्ने योजना रहेको उनले बताए।

दिउँसो ३ बजेपछि उडान र अवतरण रोकिने भएकोले विमानस्थलले सबै हवाई कम्पनीका लागि ‘नोटाम’जारी गरेको छ । नोटाम जारी गरेपछि रोकिएको समयमा कुनै पनि जहाज पोखरा आउन पाउने छैनन् । पर्यटकीय सिजन भएकोले अहिले पोखराबाट दैनिक ४० हाराहारी ठूला आकारका जहाजको उडान हुँदै आएको छ । यहाँबाट तारा, समिट, यती, बुद्ध, नेपाल एयरलाइन्स र सिम्रिकका जहाजको नियमित उडान हुन्छ । ती कम्पनीका जहाजले पोखराबाट जोमसोम, काठमाडौं, भरतपुर, भैरहवा र पर्वतीय उडान गर्दै आएका छन्। ती बाहेक पोखराको आकाशमा पर्यटकलाई सयर गराउने हेलिकोप्टर, अल्ट्रालाइट र ग्योरोकोप्टर (हेलिकोप्टर जस्तै) को पनि उडान हुन्छ । धावनमार्ग मर्मत गर्दा ती उडान पनि रोकिनेछन् । हेलिकोप्टरको उडानमा भने खासै समस्या नहुने गुरागाईले बताए।

मुख्य पर्यटकीय सिजन भएको र यही बेला धावनमार्ग मर्मतसम्भार गर्दा उडान व्यवस्थित गर्न हवाई कम्पनीलाई केही चुनौती हुनेछ । पोखरामा बिहानको समयमा हुस्सु लाग्न थालिसकेकोले भिजिबिलिटी कम हुँदा ढिला गरी विमानस्थल सञ्चालनमा आउने भएकोले उडान व्यवस्थापनमा समस्या हुने हवाई कम्पनीको भनाइ छ । ‘पर्यटक भित्रिने मुख्य सिजन भएकोले अचेल उडान चाप पनि अधिक नै रहेको छ । यही बेला मर्मतसम्भार गर्दा हामीलाई व्यवस्थापनमा बढी दबाब पर्छ,’ बुद्ध एयरका पोखरास्थित म्यानेजर गौतम बरालले भने, ‘धावनमार्ग मर्मत नगरी पनि भएन ।’ मौसम सामान्य रहेको अवस्थामा अहिले पोखरा विमानस्थलबाट बिहान साढे ६ बजेदेखि उडान सुरु हुन्छ । बेलुकी ५ बजेसम्म नै यहाँबाट उडान हुन्छ।

प्रकाशित: ३ मंसिर २०७५ ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App