८ वैशाख २०८१ शनिबार
अर्थ

‘करेक्सन’को बाटोमा सेयर बजार ?

काठमाडौं— साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेको छ।  करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ।

असोज सुरु भएपछि दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला ? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन्।

नयाँ रेकर्ड बनाउँदै अघि बढेको सेयर बजार मापक नेप्से घट्दै जानुलाई लगानीकर्ताहरु ‘करेक्सन’ भएको बताउँछन्।

दसैं खर्च, हकप्रद भर्ने रकम, असोज मसान्तमा कर्जाको ब्याज भुक्तान, नाफा सुरक्षित गर्ने प्रवृत्ति, बजारमा थपिदो सेयर संख्या लगायत कारणले बिक्रीमा चाप पर्दा नेप्से र कारोबार रकम केही दिनयता लगातार घटिरहेको छ । असोजको पहिलो साता सेयर किनबेचमा लगानीकर्ताको खासै उत्साह नदेखिनुमा मनोविज्ञानले पनि काम गरेको हुन सक्ने आँकलन गरिएको छ।

पछिल्लो समय कारोबार रकममा पनि कमी आउन थालेको छ । यसको अर्थ हो– बजारमा निश्चित नाफा गरिसकेकाले तत्काल सेयर बेचेर नाफा सुरक्षित गर्न थालेका छन् । यसले बजार घट्न मद्दत पुर्‍याएको छ।

केही दिनअघिसम्म कहिले घट्ने र कहिले बढ्ने गरेको नेप्से गत साता निरन्तर रुपमा घट्न पुग्यो । निरन्तर घट्न थालेपछि मनोवैज्ञानिक रुपमा लगानीकर्तामा त्रास पैदा भएको छ । उनीहरुमा नेप्सेमा अझै ठूलो गिरावट आउने हो कि ? भन्ने आशंका देखिन्छ ।

केही लगानीकर्ता दसैंको पूर्वसन्ध्यामा खर्चको जोहो गर्न सेयर बिक्री गर्दा सामान्य गिरावट आएको तर्क गर्दैछन् । केहीले भने सेयर बजारमा ‘अफ सिजन’ सुरु भएको भन्न थालेका छन् ।

पछिल्लो १४ वर्षको तथ्यांकलाई हेर्ने हो भने उक्त अवधिमध्ये १२ वर्ष वैशाखदेखि भदौसम्म उच्चतम रेकर्ड बनाएको देखिन्छ । सेयर बजारका खेलाडी वैशाखदेखि खरिद गर्न थाल्ने र असोेजमा निस्कने गरेको ब्रोकर बताउँछन् ।

असोजको पहिलो सातादेखि नै सेयर बजारमा गिरावट आउनुको कारण पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ । उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार करेक्सन हुन थालेको बताइन्छ ।

बजारमा तरलता कम हुँदैछ । आगामी दिनमा थप तरलता बढ्ने सम्भावना छैन । यसको अर्थ हो– बैंकको ब्याज दर उकालो लाग्नै जानु ।

अहिलेको ब्याज दरमा परिवर्तन आएर क्रमशः बढ्दै जाने अनुमान गर्न थालिएको छ । सेयरमा भन्दा कम जोखिममा बैंकबाट ब्याज पाउन थालेपछि सेयर बजारको लगानी घटेर निक्षेप बढ्न पुग्ने छ ।

‘लगानीकर्ताहरु प्रोफिट बुकिङतिर लागे,’ एक ब्रोकरले भने, ‘ब्याज दर केही बढ्न थालेकाले त्यसको पनि असर देखिएको हो ।’ कारोबार रकम पनि विस्तारै झर्न थाल्नुले भने बजारका लगानीकर्तालाई केही निराश बनाएको छ ।

बैंकिङ समूह

भूकम्प र नाकाबन्दीका बाबजुद पनि बैंकहरुले राम्रो नाफा आर्जन गरेका छन् । सबै अनुमानविपरीत गत असार मसान्तसम्ममा पनि बैंकको नाफा राम्रो भएको छ ।

अहिले लगानीकर्ताको आँखा बैंकहरुले दिने लाभांशमा केन्द्रित भएको छ ।  गत आर्थिक वर्षको बैंकको वित्तीय विवरण सार्वजनिक भएपछि लगानीकर्ताको आँखा लाभांशमा जानु स्वाभाविकै पनि हो । केही बैंकहरुले त लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा नगरेका बैंकहरुले कति देलान् भनेर अनुमान पनि उनीहरुले गरिसकेका छन् ।

अर्को वर्षको लाभांश पाउन थप एक वर्ष कुर्नुपर्ने हुन्छ । त्यो अवधिसम्म धैर्य गर्न सकिने अवस्था नभएको लगानीकर्ताको भनाइ छ । यो अवधिमा अन्य सेक्टरमा लगानी गर्ने र पुनः वैशाखमा सेयर बजारमा पस्ने दाउ केही ठूला लगानीकर्ताले बताएका छन् ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी चारदेखि २५ गुणासम्म बढाउने नीति अनुसार केही बैंकहरुले चुक्ता पुँजी बढाइसकेको र केहीले धमाधम चुक्ता पुँजी बढाउँदै छन् । बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पु¥याइसकेपछि अहिले जति लाभांश दिन नसक्ने भएकाले पनि यही मौकामा सेयर बिक्री गर्न थाल्दा सेयर बजार गिरावट आएको ब्रोकरको भनाइ छ ।

चुक्ता पुँजी वृद्धि गर्ने समय २०७४ असार मसान्तसम्म मात्रै भएकाले यसपालिको नाफाबाट बैंक तथा वित्तीय संस्थाले ‘बम्पर’ बोनस सेयर घोषणा गर्ने अनुमान लगानीकर्ताले गरेका थिए । तर, त्यसको विपरीत बैंकहरु विकास बैंक र फाइनान्स कम्पनी किनेर चुक्ता पुँजी बढाउन थालेपछि सेयर बजार घट्न थालेको हो ।  कतिपयले हकप्रद र बोनसलाई विकल्पका रुपमा प्रयोग गर्न गरिसकेका छन् । बोनस ‘बम्पर’ लाभांश पाउने आस गरेका लगानीकर्ता विकास बैंक र फाइनान्स कम्पनी खरिद गर्न थालेपछि लगानीकर्तामा विकर्षण पैदा भएको विष्लेषकहरुको भनाइ छ ।

बिमा समूह

बिमा समूहमा आएको वृद्धिले बजारलाई उच्चतम बिन्दुमा पु¥याएको थियो । बिमा कम्पनीको पुँजी वृद्धि हुर्ने समाचार सार्वजनिक भएदेखि नै बिमा समूहमा ‘बुल’ आएको थियो । तर, बिमा कम्पनीको चुक्ता पुँजी जति बढे पनि अब उच्च अंकले बढ्ने स्थिति छैन ।

पुँजी वृद्धिको चर्चा पाँच वर्षदेखि चल्दै आएको छ । बजारमा यस्तो चर्चा पुरानो भएकाले पनि अब बढ्ने स्थिति देखिँदैन । बिमा कम्पनीहरुको सेयर मूल्य वृद्धि त्यसपछि सुस्त हुने आशंका छाएको छ ।

लघुवित्त समूह

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्तको ब्याजदर नियन्त्रण गर्ने उद्देश्यले ७ प्रतिशत स्प्रेडदरको व्यवस्था ल्याएको छ । यस्तो व्यवस्थाले उनीहरुको आम्दानी कम हुने र लाभांश पनि लगानीकर्ताले कम पाउने भएकाले लघुवित्त समूहको परिसूचक घट्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वाणिज्य बैंकको सेयर मूल्यभन्दा लघुवित्त विकास बैंकको सेयर कैयौं गुणा बढी भएकाले यसले समस्या निम्त्याउने बताए । ‘आठ अर्ब चुक्ता पुँजी पुर्‍याउन लागेका वाणिज्य बैंकको सेयर मूल्य ५ सय छ,’ उनले भने, ‘तर, लघुवित्त विकास बैंकको सेयर त्योभन्दा कैयौं गुणा बढी छ । लघुवित्त बैंकको सेयर मूल्यले सेयर बजार नष्ट गर्न सक्छ ।’

यसअघि ठूलो स्प्रेडमा काम गर्ने भएकाले लघुवित्तको नाफा राम्रो थियो । तर, स्प्रेडदरको अंकुशले अम्दानी खुम्चने र लाभांश पनि निरन्तर कम हुँदै जाने अनुमान गरिएसँगैै लगानीकर्ताले सेयर बिक्री गर्न थालेका हुन् । लगानीकर्ताको आँखा पनि भविष्यमा आउने लाभांशमा कम हुने सम्भावना देखेपछि लघुवित्तको मूल्यमा गिरावट आएको हो । यसले गर्दा समग्र बजार उकालो ओरालो लाग्न पुगेको हो ।

जलविद्युत समूह

लोडसेडिङको मार खेपिरहेको बेला जलविद्युत आयोजना निर्माण हुने आशा थियो । तर, विद्युतको माग बजारमा प्रशस्त भए पनि आयोजना कहिले निर्माण हुने भन्ने सुनिश्चितता नभएका कारण पनि जलविद्युतका सेयर खरिद गर्न  लगानीकर्ता डराइरहेका छन् ।

दोस्रो बजारमा पनि त्यसको प्रभाव कम देखिएको छ । यसले गर्दा जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छैन ।

बिमा, बैंकिङ र लघुवित्तजति पनि जलविद्युतको सेयरबाट प्रतिफल नआउने भएकाले सेयर मूल्य निरन्तर घटिरहेको छ । जसले गर्दा समग्र बजार घट्नमा जलविद्युत समूहको भूमिका पनि अग्रस्थानमा आउँछ ।

प्रकाशित: ९ आश्विन २०७३ १४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App