७ वैशाख २०८१ शुक्रबार
राजनीति

सहमतिको सरकार आवश्यकः गृहमन्त्री बस्नेत

पाल्पा- गृहमन्त्री शक्तिबहादुर बस्नेतले देशमा राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको बताएका छन्। उनले संविधान कार्यान्वयनमा केही जटिलता रहेकोले सबै राजनीतिक दल एकताबद्ध भएर काम गर्नुपर्ने बताए।
जिल्लाको पूर्वी मुख्य व्यापारिक केन्द्र, रामपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले लामो समयको अथक प्रयासले संविधान जारी भएको बताए। उनले भने, ‘देशमा संविधान कार्यान्वयन मुख्य चुनौती रहेको समयमा सहमतीय सरकार गठन गर्न सके यसले प्रतिफल जनतालाई दिन सक्छ।’
तानसेन पछिको ठूलो व्यापारिक केन्द्रको रुपमा रहेको यस इलाकामा सेवाग्राही चाप दिनानुदिन बढेपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय पाल्पाले रामपुर इलाका प्रशासन सञ्चालन सुरु गरेको हो। इलाका प्रशासनमा काम गर्नकालागि रामपुर नगरपालिकाका नायव सुब्बा रामकृष्ण भण्डारीलाई सरुवा गरी सो जिम्मेवारी दिइएको छ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमका अनुसार तत्कालका लागि जनशक्ति अभावका कारण सो कार्यालयबाट वंशजको आधारमा नागरिकता, आदिवासी जनजाति प्रमाणित परिचय पत्र, दलित प्रमाणित परिचय पत्र लगायतका सेवाहरु प्रदान गरिने छ। विस्तारै थप सेवाहरु पनि थपिदै लैजाने प्रजिअ गौतमले बताए।
रामपुर नगरपालिका घोषणा भएको दुई वर्ष पछि इलाका प्रशासन सञ्चालनमा आएपछि रामपुरबासी उत्साहित भएका छन्। कार्यालय सञ्चालनमा आएपछि रामपुर र त्यस आसपासका स्थानीयलाई प्रशासनिक कामको लागि सदरमुकाम तानसेन धाउनु नपर्ने भएको छ।

 

प्रकाशित: १० असार २०७३ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App