तपाईँ जनप्रतिनिधि भएपछि जनताले महसुस गर्ने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएसँगै सुशासन, जनमैत्री सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आइरहेका छौं । जनप्रतिनिधि भएर आएसँगै गत आवमा बजेट तथा नीति कार्यक्रम ल्यायो । बजेट तथा नीति कार्यक्रमबाट २० योजना अघि सारेका थियौं । तीमध्ये १९ योजना सम्पन्न भइसकेका छन् । वडा कार्यालयले विभिन्न स्थानमा करिब एक किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न गरिसकेको छ । सडकमा पर्खाल लगाउने उकालो भू–भागमा ढलान गर्ने लगायतका कार्यलाई तीव्रतासाथ अगाडि बढाइरहेका छौं।
तपाईँको वडामा अधिकांश कच्ची सडक रहेका छन्, कहिलेसम्म कालोपत्रे गर्नुहुन्छ?
चाँगुनारायण नगरपालिका भौगोलिक हिसाबले अग्लो भू–भागमा अवस्थित छ । त्यसैले वडाको अधिकांश सडक कालोपत्रे तथा ढलान हुन सकेका छैन । वडामा साना–ठूला गरेर करिब २० किलोमिटरभन्दा धेरै कच्ची सडक छन् । वडा कार्यालयले चालू आवमा बासँबारीदेखि गुरुङटारसम्मको दुई किलोमिटर सडक कालोपत्रे गर्नको लागि एक करोड रूपैयाँ बजेट विनियोजन गरेका छौं । उक्त सडक क्रमागत योजनाअन्तर्गत सम्पन्न गर्ने लक्ष्य राखेका छौं । वडाको बजेटले मात्रै वडाका सम्पूर्ण सडक कालोपत्रे गर्न सम्भव छैन । त्यसैले प्रदेश तथा संघीय सरकार तथा विभिन्न दातृनिकायसँग समन्वय गरेर वडाका सडक सकभर आफ्नो कार्यकालभित्रै कालोपत्रे वा ढलान गर्ने योजना बुुनेको छु।
तपाईँको वडामा फोहोरमैला जभाभावी फ्याँकिएका देखिन्छन्, सरसफाई गर्नुुहुन्न?
वडामा फोहोरमैलाको समस्या व्याप्त छ । सहरीकरण बढेसँगै वडाका खोलामा जताततै फोहोरमैलाका डुंगुर देखिन थालेका छन् । वडामा सबै ठाउँमा फोहोरमैला उठाउने गाडी पठाउन सकेका छैनौं । जसको कारणले फोहोरमैला व्यवस्थापनमा चुनौती थपिएको हो । नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको छ । अब दीर्घकालीन योजना बनाएर फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने बेला भइसकेको छ।
तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुुहुन्छ?
वडाको नयाँ वस्तीमा खानेपानीको हाहाकार देखिएको छ । अन्य स्थानको तुलनामा नयाँ वस्तीमा खानेपानीको अत्यधिक समस्या छ । जनताको माग अनुसारको खानेपानीको पर्याप्त आपूर्ति गर्न नसक्दा नै खानेपानीको हाहाकार भएको हो । अन्य स्थानमा पनि खानेपानीको समस्या व्याप्त नै छ । वडामा तीव्र गतिमा सहरीकरण भएसँगै खानेपानीको समस्या भएको हो । वडा कार्यालयले चालू आवमा खानेपानीको व्यवस्थापनको लागि २० लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं । उक्त रकमले खानेपानी व्यवस्थापन गर्न पुग्दैन । त्यसैले संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर खानेपानीको व्यवस्थापन गर्ने जमर्काे गरिराखेका छौं । वडा कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर खानेपानीको व्यवस्थित वितरण गर्ने तयारी गरेका छौं । केही समयभित्रै वडामा एउटा ड्रिप बोरिङ खन्ने तयारी गरेका छौं । कार्यकालभित्रै ‘एक घर, एक धारा’सहितको खानेपानीको व्यवस्थापन गर्ने रणनीतिसहित अघि बढेका छौं।
सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ?
वडामा करिव तीन सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ । तीमध्ये करिब ८० रोपनी क्षेत्रफल जग्गामा आर्मी ब्यारेक छ । वडामा रहेका अधिकांश सार्वजनिक जग्गाको उपयोग हुन सकिरहेको छैन । वडामा रहेका करिव ४०–५० रोपनी जग्गा अतिक्रमणमा परेको छ । सुकुम्बासी, स्थानीयहरूले जग्गा हडपेर उपयोग गरिरहेका छन् । सार्वजनिक जग्गा संरक्षण गर्नेबारे नीतिगत निर्णय अहिलेसम्म भएको छैन । त्यसैले कसरी संरक्षण गर्ने विषयमा अन्योलता छाएको छ । कार्यपालिकाको बैंठकमा सार्वजनिक जग्गा संरक्षणको विषयमा छलफल भए पनि आधिकारिक निर्णय अझैसम्म हुन सकेको छैन । अब छिट्टै निर्णय गरेर सार्वजनिक जग्गा संरक्षणतर्फ लाग्नेछौं।
तपार्इँको वडामा मानव–अंग प्रत्यारोपणको अस्पताल बन्ने कुरा थियो, के भइरहेको छ?
मानव अंग प्रत्यारोपण अस्पताल निर्माणका लागि ६० रोपनी जग्गा छुटाइसकेका छौं । तर, अहिलेसम्म अस्पताल कहिले बन्ने भन्ने कुरा अन्योल नै छ । हाम्रो तर्फबाट अस्पतालको लागि जग्गा उपलब्ध गराउन तयार भइसकेका छौं । जतिसक्दो छिटो अस्पतालको सञ्चालन गरेर ओपिडी सेवा सञ्चालन गर्न अनुरोध गरेका छौं । अस्पताल छिटो सञ्चालनमा आएमा जनता स्वास्थ्य सेवाबाट लाभान्वित हुने थिए।
नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट गत आर्थिक वर्षमा वडा कार्यालयका लागि एक करोड रूपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटबाट २० योजना अघि सारेका थियौं । तीमध्ये १९ को निर्माण सम्पन्न भइसकेको छ । एउटा योजना प्राविधिक कारणले निर्माण सम्पन्न गर्न सकेनौं । चालू आर्थिक वर्षमा एक करोड ७० लाखको बजेट विनियोजन गरेका छौै । गत आवमा खुद्रे योजना अघि सार्दा धेरै विकास हुन सकेन । त्यसैले चालू आवदेखि एक करोड रूपैयाँको एउटै योजना अघि सारेका छौं । वडा कार्यालयले सडक, खानेपानी, कृषि, महिला तथा लक्षित वर्गलाई समेटेर खर्च गरेका थियौं।
कस्तो वडा बनाउने सपना देख्नुभएको छ?
चाँगुनारायण नगरपालिका अन्य नगरपालिकाजस्तै विकास हुन सकेको छैन । भौगोलिक र ग्रामीण बस्ती भएकाले नगरक्षेत्रमा विकास गर्न कठिनाई भइरहेको छ । जनताको आवश्यकता र चाहना धेरै छन् । हामीसँग स्रोत–साधन अत्यन्तै न्यून छन् । सकेसम्म वडामा रहेका मुख्य सडकहरू कार्यकालसम्म कालोपत्रे वा ढलान गर्ने लक्ष्य राखेका छौं । वडामा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायतका आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजना बनाएको छु । मेरो वडा नगरकोट र काभ्रेसँग जोडिएको छ । त्यसैले पर्यटकीय सम्भावना प्रचुर भएकाले आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउने सपना देखेको छु।
प्रस्तुति : हिमाल लम्साल
प्रकाशित: ३ मंसिर २०७५ ०२:१५ सोमबार