६ वैशाख २०८१ बिहीबार
समाज

नवलपुरलाई नमुना जिल्ला बनाउने घोषणा

नवलपुर – मुलुकको सबैभन्दा कान्छो जिल्ला नवलपुरलाई पाँच वर्षभित्र आर्थिक समृद्धिसहित सबै दृष्टिकोणले नमुना जिल्ला बनाउने घोषणा गरिएको छ । विभिन्न राजनीतिक दल, केन्द्र, प्रदेश, स्थानीय सरकारका प्रतिनिधि तथा चौधरी ग्रुपसहित विभिन्न संघसंस्थाले संयुक्त रूपमा नवलपुरको समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको खाका सार्वजनिक गरेका हुन्।

‘खुसी, शान्त र समृद्ध नवलपुरः हाम्रो परिकल्पना’ नाम दिएर आर्थिक, समाजिक र सांस्कृतिक पक्षसहित विकासको बृहत् खाका सार्वजनिक गरिएको हो । सबै क्षेत्रसँग सहकार्य र समन्वयमा जोड दिंँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्रसँगको सहकार्यमा पाँच वर्षभित्र सडक, बिजुली, सिँचाइ, खानेपानी, सरसफाइ र सूचना तथा सञ्चार जिल्लाका सबै ठाउँमा पुर्याउने उक्त खाकामा परिकल्पना गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा बालमैत्री स्थानीय शासन लागू गर्ने, सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने, ९० प्रतिशतभन्दा बढी नागरिकको स्वास्थ्य बीमा गर्ने लगायतका कार्यक्रम यसमा समेटिएका छन्।

जिल्लाको आर्थिक विकासका लागि उद्योग, कृषि , पशुपालन र सहकारीमा जोड दिँदै सबै घरधुरीलाई सहकारीमा आवद्ध गराउने लक्ष्य राखिएको छ । उत्पादनमुखी उद्यममार्फत् रोजगारी सिर्जना गर्ने र प्राविधिक शिक्षा र सीपलाई घोषित विकास खाकामा जोड दिइएको छ । नवलपुरलाई धार्मिक, सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने प्रस्ताव अघि सार्दै उनीहरूले वन तथा पर्यावरण, जैविक विविधता र विपद् व्यवस्थापनका लागि विभिन्न कार्यक्रम तयार पारेका छन्।

विभिन्न राजनीतिक दल, केन्द्र, प्रदेश, स्थानीय सरकारका प्रतिनिधि तथा चौधरी ग्रुपसहित विभिन्न संघसंस्थाले संयुक्त रूपमा नवलपुरको समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको खाका सार्वजनिक गरेका हुन्।

शाश्वतधाममा आयोजित कार्यक्रममा नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाले उक्त परिकल्पना सार्वजनिक गर्दै नवलपुरको विकासका लागि यो खाका महत्वपूर्ण हुने दाबी गरे । यसमा समेटिएका कार्यक्रम र प्रस्तावहरूलाई संशोधन र सुधार गर्दै नवलपुरलाई नमुना जिल्ला बनाउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने उनले बताए । यसअघि नै नवलपुर विकासका लागि आफूले प्रस्ताव बनाउनुपर्ने धारणा राख्दै कोइरालाले भने, ‘एउटा ट्रमा सेन्टर, अन्तर्राष्ट्रिय स्तरको खल मैदान र नारायणीबाट त्रिवेणीधाम जोड्ने सडक निर्माणमा मेरो मुख्य ध्यान छ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले योजना बनाउने मात्र भन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताए । विगत ५०÷६० वर्षमा योजनाहरू बने पनि कार्यान्वयनमा समस्या देखिएको सुनाउँदै वाग्लेले विपद् व्यवस्थापन, मानव संशाधनको क्षयीकरण, व्यापारमा असहजता, सुशासन कायम गर्न नसक्नु नेपालको समृद्धिमा चुनौती रहेको बताए । वरिष्ठ उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकको विकासका लागि दृढ संकल्प आवश्यक रहेको बताए । निजी क्षेत्र र समाजिक क्षेत्रलाई जोडेर मुलुकभित्र रोजगारीका अवसर ल्याउन सकिने तर्क गर्दै उनले भने, ‘सरकारले निजीक्षेत्रलाई लगानीका लागि आकर्षित गर्न सक्नुपर्छ।’

नेकपाका नेता तथा प्रतिनिधिसभा सदस्य तिलबहादुर महतले नवलपुरको विकासका लागि दलीय स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: ३ मंसिर २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App