७ वैशाख २०८१ शुक्रबार
समाज

‘चार महिना बित्न लाग्यो तर राहत पाइएन’

मृतक नरेन्द्र चौधरीको घर । तस्बिरः टंक/नागरिक

सर्लाही – ‘कहिले प्रहरी, कहिले नगरपालिका त कहिले मलंगवा धाउँदा–धाउँदा पैताला खिइसक्यो, चार महिना बित्न लागिसक्यो तर राहत पाउन सकेका छैनौं ।’ हाइभोल्टेजका कारण करेन्ट लागेर मृत्यु भएका जिल्लाको हरिपूर्वा नगरपालिकाका नरेन्द्र चौधरीकी पत्नी किशुनदेवीको गुनासो हो यो।

‘घर चलाउने मुख्य मान्छे बितिहाल्नुभो, व्यवहार धान्न छोरा र मैले दैनिक मजदुरी गरिरहेका छौं,’ नागरिकसँग किशुनदेवीले गुनासो गरिन्, ‘राहत पाए सानो व्यवसाय वा अन्य केही उपाय गर्नुहुन्थ्यो । तर प्रहरी तथा अन्य अड्डामा पटक–पटक बोलाएर सहिछाप गराउने बाहेक केही भएको छैन ।’ श्रीमानको मृत्यु पछि एक छोरा र स–साना दुई छोरीसहितको परिवार धान्न निकै कठिन भइरहेको उनले बताइन् । हरिपूर्वा नगरपालिका कार्यालयबाट किरिया खर्चबापत २५ हजार रुपैयाँ बाहेक अन्य कुनै रकम नपाएको किशुनदेवीसले सुनाइन्।

दाइको मृत्युपश्चात् भाउजुको परिवारलाई जीविका चलाउन निकै गाह्रो भइरहेको मृतकका साइँला भाइ विमलेश चौधरीले बताए । पाँच दाजुभाइ छुट्टिए पनि एउटै घरमा कोठा बारेर बस्दै आएका छन् । पीडित किशुनदेवीका अनुसार छोरालाई रोजगारी दिने सहमति पनि भएको छ । तर यस विषयमा पनि अहिलेसम्म कुनै वास्ता नगरिएको उनले गुनासो गरिन् । १८ वर्षीय छोरा सुवासलाई रोजगारी दिए पनि आफूहरूलाई ठूलो टेवा पुग्ने उनले बताइन् । ‘अहिले हामी आमाछोरा नै दैनिक मजदुरी गरेर परिवार धानिरहेका छौं,’ उनले भनिन्, ‘छोरालाई कतै रोजगारी दिए अभिभावक गुमाएको पीडामा थोरै भए पनि मलम लाग्ने थियो।’

गत साउन ७ गते करेन्ट लागेर हरिपूर्वा नगरपालिका–९, वसन्तपुरको बगेबा गाउँका ३६ वर्षीय नरेन्द्र चौधरीसहित १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको थियो । त्यस्तै स्थानीय २० वर्षीया फूलोदेवी महतोलगायत ६ जना घाइते भएका थिए।

नेपाल विद्युत् प्राधिकरण मलंगवा शाखाका प्रमुख माधवप्रसाद यादवले प्राधिकरणको नियमानुसार मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भइसकेको र केन्द्रीय कार्यालयबाट चेक बनेर आउनेबित्तिकै हस्तान्तरण जानकारी दिए।

मृतकका परिवारलाई कम्तिमा १५ लाख रुपैयाँका दरले क्षतिपूर्ति तथा परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने माग गर्दै पीडितका आफन्त एवं स्थानीय बासिन्दाले जिल्ला शव पोस्टमार्टम नै गर्न दिएका थिएनन् । घटनाको तेस्रो दिन मृतकका परिवारलाई कानुनबमोजिम राहत रकम नेपाल विद्युत् प्राधिकरण केन्द्रिय कार्यालयले तत्काल उपलब्ध गराउने, परिवारका एक सदस्यलाई स्थानीय स्तरमा रोजगारी दिलाउन सबै पक्षले सहयोग पु¥याउने, घाइतेहरूको उपचारमा लागेको खर्च उपलब्ध गराउन विद्युत् प्राधिकरण मलंगवा शाखाले सम्बन्धित निकायमा पत्र पठाउनेलगायत ६ बुँदे सहमति भएपछि आफन्तले शव बुझेका थिए।

सहमति पत्रमा पीडित परिवारका तर्फबाट मृतक चौधरीकी पत्नी किशुनदेवी चौधरी र अर्की मृतक मण्डलकी आमा दौलतियादेवीले तथा प्राधिकरणका तर्फबाट मलंगवा शाखा प्रमुख माधवप्रसाद यादव, इन्जिनियर विजयकुमार सिंह, सहायक लेखा अधिकृत हरिनारायण प्रसाद र वरिष्ठ सहायक विश्वनारायण मिश्र लगायतले हस्ताक्षर गरेका छन् ।
११ हजार भोल्टेजको हाइटेन्सन लाइनको तार खसेर घरमा वितरण गर्ने २४० भोल्टेजको तारमा छोएका कारण हाइभोल्टेज आउँदा घरमा रहेको स्वीच अन गर्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो।

नेपाल विद्युत् प्राधिकरण मलंगवा शाखाका प्रमुख माधवप्रसाद यादवले प्राधिकरणको नियमानुसार मृतकका परिवारलाई पाँच÷पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भइसकेको र केन्द्रीय कार्यालयबाट चेक बनेर आउनेबित्तिकै हस्तान्तरण जानकारी दिए । ‘सबै कागजी प्रक्रिया पूरा गरेर हामीले केन्द्रमा सिफारिससहित पठाइसक्यौं,’ यादवले भने, ‘अब चेक आउनेबित्तिकै मृतकका परिवारलाई बोलाएर प्रदान गर्नेछौं ।’ प्राधिकरणको मलंगवा शाखाले जनकपुरस्थित क्षेत्रीय कार्यालय तथा त्यसले केन्द्रमा सिफारिस गरेपछि केन्द्रीय कार्यालयबाट छानबिन टोली आएर स्थलगत निरीक्षण गर्नुपर्ने लगायतका कारण राहत वितरणमा ढिलाइ उनको भनाइ छ।

प्रकाशित: ३ मंसिर २०७५ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App