coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि

पहिलोपल्ट राष्ट्रिय परिचयत्रपत्र प्राप्त गर्न लागेकी एक सय एक वर्षीया भगवती भण्डारी । तस्बिर : गिरिराज/नागरिक

पाँचथर – मंसिरको घाम तापेर घरमै बसिरहेकी भगवतीदेवी भण्डारीले आफ्नो हातमा पहिलोपल्ट राष्ट्रिय परिचयपत्र पर्ने सुनेपछि गदगद भएको बताइन् । उनलाई राष्ट्रिय परिचयपत्र किन दिन लागिएको भन्ने त थाहा छैन तर फिदिममा ठूलो कार्यक्रममा आफूले पहिलोपल्ट परिचयपत्र पाउन लागेको सुनेकाले उनी उत्साहित भएकी छन्।

फिदिम–५ सारान्तमा रहेको उनकै घरमा नागरिकसँग भण्डारीले भनिन्, ‘सर्कारले दिन लाग्या रे ! मन्त्रीले मलाई पहिलोपल्ट दिन्छन् रे ! अगि अड्डाबाट आएकाहरूले के के भरेर लगे । गाडीमा लगेर दिन्छम् भन्थे । बूढी भएँ, कान पनि राम्ररी सुन्दिनँ । म धेरै कुरा बुझ्दीन, नातिले जान्दछ अरू त।’

नेपालमै पहिलोपल्ट पाँचथर सदरमुकामबाट सोमबार राष्ट्रिय परिचयपत्र वितरण हुँदैछ । एक सय १ वर्षीया भण्डारीलाई जेष्ठताका आधारमा पहिलो परिचयपत्र दिन लागिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । उनले असारमा राष्ट्रिय परिचयपत्रमा विवरणमा भरेकी थिइन् । ‘अस्ति पनि गाडीमा चढेर गएर भरेकी थिएँ । अब पाउने भएँ । राम्रैका लागि त हुन लाग्या होला ? के के भन्दै थिए बुझिनँ’, उनले भनिन्।

६ वर्षको उमेरमा बिहे भएकी भण्डारीलाई कति सालमा नागरिकता बनाएको याद छैन । फिदिममा बनाएको भन्ने सम्झना भए पनि कसरी बनाएको थाहा नभएको उनले सुनाइन् । गृहमन्त्री रामबहादुर थापाले उनलाई परिचयपत्र हस्तान्तरण गर्दैछन् । सर्वसाधारण नागरिकले पहिलोपल्ट राष्ट्रिय परिचयपत्र पाउन लागेका हुन्।

नेपालमै पहिलोपल्ट पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदैछ । विशेष समारोहको आयोजना गरेर परिचयपत्र वितरण सुरु गर्ने न्यौपानले बताए । परिचयपत्रका लागि असारदेखि विवरण संकलन गरिएको थियो । हालसम्म ५२ हजारले विवरण भरिसकेकाले कार्ड प्रिन्ट हुने काम सुरु भएको न्यौपानेले जानकारी दिए । ‘विशेष सामारोहमार्फत वितरण प्रारम्भ गर्छौं’, न्यौपानेले भने, ‘यो एतिहासिक अवसर पाँचथरबाट सुरु गर्न लागेका हाैं।’

नमुनाका रुपमा पहिलो चरणमा पाँचथरका १ लाख १० हजार र सिंहदरबारका विशिष्टसहित ७ हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रम छ । परिचयपत्र वितरण समारोह आकर्षक बनाउन भन्दै विभिन्न जातजातिमा आधारित परम्परागत संस्कृतिको प्रदर्शन गर्ने योजना छ । समारोहमा गृहमन्त्री थापासहित प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, गृहसचिव लगायतका विशिष्ट अधिकारीहरू फिदिम आउँदैछन्।

राष्ट्रिय परिचयत्रपत्र वितरणका लागि तयारी पूरा भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । राष्ट्रिय परिचयपत्र दोस्रो चरणमा १५ जिल्लामा वितरण गर्ने योजना छ।

प्रकाशित: ३ मंसिर २०७५ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App