coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भुक्तानी प्रक्रिया नमिल्दा हतियार खरिदमा ढिलाइ

फाइल फाेटाे

काठमाडौ – नेपाली सेनाले शान्ति मिसनमा खटिने सैनिकका लागि अमेरिकाबाट ल्याउन लागेको एम–१६ सिरिजको हतियार खरिदप्रक्रियामा ढिलाइ भएको छ । सेनाले अमेरिकाबाट जी टु जी प्रक्रियाअन्तर्गत हतियार खरिद प्रक्रिया अघि बढाए पनि भुक्तानी प्रक्रियाका कारण केही ढिलाइ भएको सेनाले जनाएको छ । ‘हतियार खरिद प्रक्रिया अघि बढिसकेको छ तर भुक्तानी प्रक्रिया नमिल्दा केही ढिलाइ भएको हो,’ सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने।

सेनाले खरिद गर्न लागेको हतियारका लागि अमेरिकाले सुरुमै सम्पूर्ण भुक्तानी मागेको छ । नेपालको सार्वजनिक खरिद ऐनअनुसार तीन चरणमा भुक्तानी दिनुपर्ने हुन्छ । नेपालको सार्वजनिक खरिद ऐनअनुसार सुरुमा एडभान्स, त्यसपछि प्रिडेलिवरी र अन्तिममा फाइनल भुक्तानी दिनुपर्ने व्यवस्था छ । हतियार खरिदसम्बन्धी सबै प्रक्रिया पूरा भए पनि दुई मुलुकको भुक्तानी प्रक्रियाका कारण समयमै टुंगिन नसकेको सेनाले जनाएको छ।

‘अमेरिकाको भुक्तानी प्रक्रिया र नेपालको सार्वजनिक ऐनअनुसारको भुक्तानी प्रक्रिया फरक भएकाले त्यसलाई कसरी टुंग्याउने भन्ने विषयमा छलफल भइरहेको छ,’ सहायक रथी भण्डारीले भने । भुक्तानी प्रक्रियामा देखिएको समस्या आपसी छलफलबाट टुंग्याएपछि हतियार ल्याउने काम सुरु हुने सेनाले जनाएको छ । नेपाली सेनाले शान्ति मिसनमा खटिने सैनिकका लागि अमेरिकामा बनेको एम–१६ हतियार खरिद गर्ने गरेको छ । यसपटक करिब ४ हजार थान एम–१६ हतियार अमेरिकाबाट खरिद गर्न लागिएको सैनिक स्रोतले जानकारी दिएको छ।

नेपाली सेनाले शान्ति मिसनमा मात्र नभएर समग्रमा पुराना हतियार प्रतिस्थापन गरेर एम–१६ हतियार प्रयोगमा ल्याउने तयारी गरेको छ । सरकारको आर्थिक वर्ष ०७५÷७६ को नीति तथा कार्यक्रममा नेपाली सेनाको क्षमता अभिवृद्धि शीर्षकमा आगामी वर्ष दुई अर्ब १९ करोड ४१ लाख रुपैयाँ बराबरका हतियार खरिद गर्ने उल्लेख गरिएको छ । त्यसमा पुराना हतियारलाई प्रतिस्थापन गर्दै एम–१६ सिरिजका १० हजार थान हतियार खरिद गर्ने उल्लेख छ।

चालू आर्थिक वर्षमा मेसिनरी औजार क्षमता अभिवृद्धिका लागि रक्षा मन्त्रालयमार्फत तीन अर्ब ४५ करोड चार लाख विनियोजन गरिएकोमा एम–१६ हतियार खरिदबाहेक अन्य हतियारलगायत उपकरण खरिदका लागि एक अर्ब २५ करोड ६३ लाख विनियोजन गरिएको छ।

प्रकाशित: ३ मंसिर २०७५ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App