सुन्धारास्थित रहेको ९ तले धरहरा काठमाडौ्रको चिनारी थियो । आसपासका पहाड तथा जिल्लाबाट धरहराको टुप्पो हेरेर काठमाडौं ठम्याइन्थ्यो।
२०७२ वैशाख १२ को भूकम्पले धरहरा ढाल्यो । त्यसयता काठमाडौं फुंग छ, पंखेटा नभएको पंक्षीजस्तो।
धरहरा परिसरमा गएर हेर्दा ठुटो देखिन्थ्यो धरहराको । भूकम्पको याद गराउँथ्यो, साथै सरकारको पुनर्निर्माण सुस्ततालाई पनि इंगित गथ्र्यो । महिना दिन अगाडिको अवस्था हो यो । अहिलेचाहिँ धरहराको रूप फेरिने क्रममा छ । धमाधम धरहरा निर्माणको काम चलिरहेको छ । भूकम्पले भत्काएर बाँकी रहेको ठुटोसँगै धमाधम डोजर लगाएर काम गरिरहेको देखिन्छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले ठेक्का लगाएर महिना दिनअघि धरहरा निर्माण थालेको हो । धरहरा निर्माणको जिम्मा तीन अर्ब ४५ करोडमा जिआइइटिसी कालिका रमन जेभीले ठेक्का लिएको छ । ठेकेदार कम्पनीका अनुसार अहिले धमाधम ठाउँ पन्छाउनेदेखि जग खन्नेसम्मको काम भइरहेको छ।
धरहरा रहेको जग्गासँगै टक्सार विभाग र हुलाक सेवा विभाग भवन पनि छ । त्यो सहितको जग्गामा बन्ने धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिनेछ । अहिले धरहराले ६ रोपनी जग्गा ओगटेको छ भने हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा ओगटेको छ । तर, हुलाक र टक्सारको जग्गामा रहेको भवन भत्काएर पन्छाउने काम भएको छैन । ठेकेदार कम्पनीका अनुसार ती भवन पन्छाउन भने अनुमति आइसकेको छैन । ठेकेदार कम्पनीका पवन महतोले भने, ‘सबै ठाउँ उपलब्ध भइनसकेकाले अहिलेचाहिँ धरहरा रहेको क्षेत्रको जग्गामा काम भइरहेको छ।’
प्राधिकरणका सहसचिव तथा सम्पदा शाखा प्रमुख राजुमान मानन्धरका अनुसार सबै समस्याको समधान गरेर धरहरा निर्माणलाई तीव्रता दिन प्राधिकरण लागेको छ । प्राधिकरणले तोकिएकै समयमा धरहरा निर्माण गर्न प्रतिवद्ध छ । प्राधिकरणले दुई वर्षमा धरहरा निर्माण गर्ने लक्ष्य राखेको छ।
धरहरा निर्माणमा भने आधुनिक र परम्परागत सामग्री प्रयोग गरी निर्माण गरिनेछ । अब बन्ने धरहरामा डिजाइन अनुसार धरहरा २ सय ४५ फिट अग्लो हुनेछ । जुन भूकम्पले भत्काएको धरहरा बराबरकै हो । २२ तलको धरहरा चढ्नको लागि लिफ्टको व्यवस्था गरिने बताइएको छ । धरहराको भित्री स्वरूपमा केही परिवर्तन गरिए पनि बाहिरी स्वरूप भने पहिलाको जस्तै हुने पुरातत्व विभागले जनाएको छ । विभागका अनुसार धरहरा बाहिर भने पहिलाको जस्तै देखिनेछ।
भूकम्पले भत्काएको बाँकी रहेको ठूटो धरहरा भने यथावत अवस्थामै राखिनेछ । प्राधिकरणका अनुसार हालको ठुटो टेम्पर ग्लासले छोपेर प्रदर्शनीमा राखिनेछ । अब बन्ने धरहरा भने पर्यटकीय हिसाबले आर्कषित गरिनेछ।
धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगँैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरू हुनेछन् । ५० फिट अग्लो वाटर फाउन्टेन हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री हुने जनाइएको छ । धरहरा छिर्नेबित्तिकै आकर्षक बगैँचा, लाइब्रेरी, रेस्टुरेन्ट लगायतका सुविधाहरू पनि हुनेछन्।
धरहराको इतिहास
धरहरा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा आफ्नी महारानी त्रिपुरा सुन्दरीदेवीका निर्माण गरेको इतिहास पाइन्छ । थापाले दुई धरहरा बनाएका थिए।
१९९० सालको भूकम्पमा भीमसेनको नामको धरहरा भने जगैदेखि भत्कियो, महारानीको नामको पनि चिरा मात्रै प-यो । तत्कालीन राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९० सालअघि ११ तला रहेको त्यही धरहरालाई नौ तलाको बनाएका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पले भने त्यो धरहरालाई पनि फेद मात्रै बाँकी राखेर ढालिदियो।
प्रकाशित: ३ मंसिर २०७५ ००:५७ सोमबार