coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘तालिबानसँग सन् २०१९ मा शान्ति सम्झौता हुन्छ’

राष्ट्रपतीय दरबारमा अफगान राष्ट्रपति असरफ घानी (दायाँ)सँग भेट गर्दै अफगानिस्तानको शान्तिका लागि अमेरिकी विशेष दूत जाल्मे खालिलजाद (बायाँ) । तस्बिर : एजेन्सी

काबुल – अफगानिस्तानका लागि अमेरिकी विशेष दूतले विद्रोही तालिबानसँग सन् २०१९ को अप्रिल महिनामा शान्ति सम्झौता हुनसक्ने बताएका छन् । अमेरिकी विशेष दूत जाल्मे खालिलजादलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमका आइतबार यस्तो उल्लेख गरेका हुन्।

संयुक्त राज्य अमेरिका, तालिबान र अफगान सरकारबीचको वार्तालाई नेतृत्व गर्न हाल काबुलमा रहेका विशेष दूत खालिलजादले सञ्चारमाध्यमलाई अर्को वर्षको अप्रिल २० सम्ममा तालिबान विद्रोहीसँग शान्ति सम्झौता हुनसक्ने बताएका हुन् । यही समयमा अफगानिस्तानले भने राष्ट्रपतीय निर्वाचनको तयारी गरिरहेको छ । अफगानिस्तानमा जन्मिएका अमेरिकी कूटनीतिज्ञ खालिलजादले आफू तालिबानसँगको शान्ति वार्तालाई लिएर अत्यन्तै आशावादी रहेको समेत बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनद्वारा तालिबानसँग सिधैं वार्ता गर्नका लागि नियुक्त गरिएका खालिलजादले अतिवादी इस्लामिस्ट समूह तालिबानका नेताहरुलाई गत महिना दोहामा भेटेका थिए । उनले अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई अन्त्य गर्नका लागि आवश्यक माध्यम पत्ता लगाउनका लागि तालिबान विद्रोहीका नेताहरुसँग भेट गरेको वासिङ्टनले बताएको छ।

तालिबानसँगको वार्ताको अन्त्यले  अफगानिस्तानमा शान्ति कायम हुने र अफगानिस्तान सफल हुने खालिलजादले आइतबार सञ्चारकर्मीसँग बताए । उनले तालिबानसँगको वार्तापछि अफगानिस्तानभित्र र विश्वमा कुनै पनि चुनौती खडा नगर्ने जिकिरसमेत गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

अर्को वर्षको अप्रिल महिनाको २० गतेसम्ममा तालिबानसँग शान्ति सम्झौता हुने भनेर अमेरिकी विशेष दूतले जिकिर गरे पनि यस विषयमा तालिबानले भने तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि उसको वरिष्ठ दुई नेताले भने अमेरिकी विशेष दूत खालिलजादसमक्ष मागको नयाँ सेट लिएर प्रस्तुत हुने नाम उल्लेख नगर्ने शर्तमा बताए।

अफगानिस्तानबाट विदेशी शक्तिलाई धपाउनुपर्छ र पश्चिमा शक्तिले समर्थन गरेको अफगान सरकारलाई पराजित गर्नुपर्छ भनेर संघर्षरत विद्रोही तालिबानले गत महिना पनि अमेरिकी विशेष दूत खालिलजादसमक्ष कैयौं माग प्रस्तुत गरेको थियो । उसले प्रस्तुत गरेको मागमा अफगानिस्तानमा हाल रहेका अमेरिकी सेनालाई फिर्ता लैजाने समयसीमा अमेरिकाले दिनुपर्ने र जेलमा रहेका तालिबानका वरिष्ठ नेताहरुलाई रिहा गर्नुपर्ने लगायतका रहेका छन् । यसै वर्षको अक्टोबर महिनामा पाकिस्तानले जेलमा रहेका एक उच्च तालिबानी नेता र उच्च तहका कमान्डरलाई रिहा गरेको थियो । गत महिना कतारमा अमेरिकी विशेष दूत खालिलजाद र तालिबानी नेताबीच पहिलो चरणको बैठक भए पनि त्यसपछि भने बैठक हुन सकेको छैन।

त्यसैगरी अर्को चरणको बैठक कहिले हुने भनेर मिति पनि घोषणा गरिएको छैन । यद्यपि विशेष दूत खालिलजादले कतारमा सहभागी तालिबानी नेताको समूहमा उसले परिवर्तन गरेर वार्ताका लागि नयाँ समूह बनाउन सक्ने अनुमान गरेका छन् । तालिबानसँगको अर्को चरणको बैठकका लागि खालिलजादले अफगानिस्तानका प्रभावशाली व्यक्तिहरु र अमेरिकाको समर्थन रहेको अफगान सरकारका प्रतिनिधिहरु सम्मिलित एउटा विशेष समूह गठन गर्न खोजिरहेको रोयटर्सले उल्लेख गरेको छ । ट्रम्प प्रशासन र अफगान राष्ट्रपति असरफ घानी सरकार तालिबानसँगको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन खोजिरहेकै बेला विद्रोही तालिबानले भने देशैभर सरकारी फौजमाथिको आक्रमणको शृंखलामा वृद्धि गरेका छन्, जसका कारण पछिल्ला साता सयौं हताहती भएका समाचार बाहिरिएका छन्।

प्रकाशित: ३ मंसिर २०७५ ००:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App