coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेविसंघको कार्यकाल दुई महिना थप, पौडेलदेखि गगनसम्मको असहमति

फाइल तस्बिर

काठमाडौं– नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल दुई महिना थपिएको छ। केन्द्रीय कार्यालय सानेपामा आइतबार साँझ बसेको पार्टीे केन्द्रीय समिति बैठकले संघको कार्यकाल दुई महिना बढाउने निर्णय लिएको हो। 

पार्टीका शीर्ष नेताको असहमतिका बीच बैठकले संघको विधानलाई संशोधन गरी नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिको आयु दुई महिना बढाएको छ। संघको विधानको धारा २६ ले केन्द्रीय समितिको कार्यकाल दुई वर्ष तोकेको छ। उक्त अवधिमा महाधिवेशन गर्न नसके थप तीन महिना समय लिनसक्ने व्यवस्था छ। तीन महिना अतिरिक्त समय लिनसक्ने संघको विधानको व्यवस्थालाई बैठकले संशोधन गरेर पाँच महिना बनाएको केन्द्रीय सदस्य गुररुराज घिमिरेले जानकारी दिए। उनका अनुसार पार्टी केन्द्रीय समितिले संघको नयाँ संविधान पनि पारित गरेको छ। ‘पार्टीले यसअघि नै नेवि संघमा ३२ वर्षे लागु गरिसकेको छ,’ घिमिरेले भने, ‘संघको पुरै विधान पारित गर्दै पार्टी केन्द्रीय समितिले दुई महिना कार्यकाल पनि थप गरेको छ।’

थपिएको दुई महिनामा पनि संघको महाधिवेशन सम्भव नरहेको जिकिर गर्दै नेता रामचन्द्र पौडेलले विधानको व्यवस्था अनुसारै अघि बढ्नुपर्ने तर्क गरेका थिए। विधान अनुसार सोमबारदेखि नेवि संघको वर्तमान कार्यसमिति स्वतः विघटन हुने व्यवस्था छ। त्यस्तै अर्का केन्द्रीय सदस्य गगन थापाले वर्तमान नेतृत्वले महाधिवेशन गराउन नसक्ने तर्क गर्दै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने तर्क गरेका थिए। 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरु महाधिवेशन सुनिश्चित गर्नेगरी संघको म्याद थप गर्नुपर्ने तर्क गरेका थिए। उनले महाधिवेशनका लागि वर्तमान समितिलाई थप छ महिना समय दिन प्रस्ताव गरेका थिए। तर त्यस विपरित संस्थापन पक्षले दुई महिना समय थपको प्रस्ताव बैठकले पारित गरेको छ।

त्यसप्रति नेता पौडेल र अर्जुननरसिंह केसीसहितले असहमति व्यक्त गरेका छन्। सभापति देउवासहितका नेताहरुले पार्टी आसन्न महासमिति बैठकलाई केन्द्रमा राख्दै संघको कार्यकाल दुई महिना थप गर्ने प्रस्ताव गरेका थिए। वर्तमान समिति विघटन हुँदा महासमिति बैठकमा नेतृत्वको आलोचना हुने भएपछि संस्थापन पक्ष समय बढाउने निष्कर्षमा पुगेको असन्तुष्टहरुको आरोप छ।

प्रकाशित: २ मंसिर २०७५ १५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App