श्रद्धाञ्जलिको सार्थकता

आइतबार, ०२ मङि्सर २०७५, १२ : १२ डा. शङ्करकुमार श्रेष्ठ

केही दिनअघि नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको देहवसानमा शोक प्रकट गर्न बार भवनको प्रांगणमा उनको पार्थिक शरीर राखेर श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्था गरेको थियो । न्याय तथा कानुनी परिसरमा विशिष्टतम् स्थान बनाउन सफल श्रेष्ठको देहावसानबाट यस क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । तसर्थ उनीप्रति श्रद्धासुमन व्यक्त गर्नु निःसन्देह प्रशंसनीय कार्य मानिन सक्छ, तर यसमा एउटा गम्भीर प्रश्न के उठ्न सक्छ भने यसै परिसरका मुकुन्द रेग्मी, कृष्णप्रसाद घिमिरे, सुशील सिन्हाजस्ता कानुन व्यवसायीहरूको देहावसान हुँदा नेपाल बारले किन यसप्रकारको श्रद्धाञ्जलिको व्यवस्था गर्न सकेन ? आजसम्मको अनुभवमा सम्भवतः सबैभन्दा पहिले कृष्णप्रसाद पन्तको पार्थिक शरीरलाई बारको प्राङ्गणमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि इन्द्र लोहनी, वासुदेव ढुंगाना र मोतिकाजी स्थापितका पार्थिक शरीरलाई बारको प्राङ्गणमा राखेर श्रद्धाञ्जलि अर्पण गरिएको थियो । गणेशराज शर्माको हकमा उनले नै यसका लागि इन्कार गरेका थिए भनिन्छ।

यस्तो कार्यका लागि बारले कुनै मानक वा मापदण्ड तयार गरेको जानकारी छैन । स्वविवेकमा निर्णय गरेर कुनै खास व्यक्तिप्रति मात्र यसरी श्रद्धाञ्जलिको कार्यक्रम गरिँदा बारबाट विभेदको राजनीति गरेको दोष लाग्नसक्छ । बार सबै कानुन व्यवसायीको साझा र सम्मानित संस्था हो र यस संस्थाले सबै कानुन व्यवसायीको हकहितमा समान र निष्पक्ष अभिभावकत्व निर्वाह गरेको देखिनुपर्छ । कुनै पनि कानुन व्यवसायीको पेसागत व्यवसाय र बौद्धिक भूमिकाको स्तर र हैसियतको मूल्याङ्कन गरिँदा बारबाट निष्पक्षताको अपेक्षा गर्नु कदाचित अन्यथा हुँदैन । सम्भवतः धेरै कानुन व्यवसायीले मृत्योपरान्त यसप्रकारको श्रद्धाञ्जलिको अपेक्षा नराखेको पनि हुनसक्छ, तर सबैले यस्तो अपेक्षा राखेका हुनसक्छन् भनेर बारले पूर्वानुमान गर्नुपर्छ । जेजस्तो भए तापनि बारको प्राङ्गणमा न्याय तथा कानुनी परिसरमा व्यावसायिक नैतिकता र बौद्धिकता कायम राख्न सफल कानुन व्यवसायीको पार्थिक शरीर श्रद्धाञ्जलिका लागि राखिनु सम्भवतः सार्वजनिक रूपमा सर्वाधिक अपेक्षा र चासोको विषय हुनसक्छ । यसप्रति बार गम्भीर हुन सक्नुपर्छ।

श्रेष्ठको नाममा श्रद्धाञ्जलिको व्यवस्था गर्नुपर्ने कारण र उद्देश्यको औचित्य नेपाल बारले अवश्य पनि पुष्ट्याइँ गर्नेछ भनेर आशा गर्न सकिन्छ । यसमा बारको कुनै राजनीतिक अभीष्ट थिएन भनेर पूर्वानुमान गर्नु जाती हुन्छ, तर बारले यसरी श्रेष्ठको व्यावसायिक हैसियतको सम्मान गर्न आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा कानुन व्यवसायइतरका राजनीतिक व्यक्तिहरूको बाक्लो उपस्थिति अनपेक्षित हुनसक्छ, किनभने बारले त्यस हैसियतका कुनै पनि राजनीतिक व्यक्तिलाई त्यस कार्यक्रममा औपचारिक आमन्त्रण गरेको जानकारी छैन । उल्लिखित श्रद्धाञ्जलि कार्यक्रममा उल्लेख्य संख्यामा राजनीतिक पद र हैसियतको परिचय बोकेका व्यक्तिको उपस्थितिले बेग्लैखालको कानेखुसी भएको पाइन्थ्यो । स्मरण रहोस्, त्यस प्रकारका राजनीतिक व्यक्तिको उपस्थितिमा तिनै व्यक्तिसम्बद्ध राजनीतिक आस्था र मान्यता बोकेका केही कानुन व्यवसायीहरूको कार्यशैली शोभनीय हुने कुरै भएन । कताकता त्यसबेला निजहरूबाट आस्थाभक्तिको भूमिका निर्वाह गरिरहेका हुन् कि भनेर आशङ्का गरिनु अन्यथा नहोला । श्रद्धाञ्जलि अर्पण गर्ने कार्य भनेको कुनै दम्भ वा चाकडी नभएर स्वर्गीय व्यक्तिको आत्माको चिरशान्तिका लागि गरिने प्रार्थना हो।

त्यस्ता राजनीतिक व्यक्तिहरूले आफूहरू बहस पैरवीमा उपस्थित हुन व्यावसायिक हैसियत नभएको तथ्य निजहरूले स्वीकार गर्नुपर्ने हुन्छ । निजहरूमा नैतिक र सामाजिक चेतना थियो भने बारले गरेको त्यस्तो श्रद्धाञ्जलिको कार्यक्रम नितान्त व्यावसायिक सम्मान हो भनेर बुझ्न सक्नुपथ्र्यो । दुःखको कुरा, हाम्रा तथाकथित राजनीतिक व्यक्तिमा यसप्रकारको चेत र चेतना पाइँदैन । निजहरू श्रेष्ठकै घरमा श्रद्धाञ्जलि व्यक्त गर्नु पुग्नु जाती हुन्थ्यो । त्यसरी घरमा पुग्न सम्भव नभएर वा घरमा पुगेर श्रद्धाञ्जलि दिने सामाजिक चलन प्रायः नभएको हुँदा दाहसंस्कार गरिने घाटमा पुगेर श्रद्धा व्यक्त गर्नुपथ्र्यो । काठमाण्डूको सन्दर्भमा कुरा गरिँदा निजहरू आर्यघाटमा पुग्नुपथ्र्यो । आर्यघाटमा पुगेर श्रद्धाञ्जलि दिँदा सामाजिक र सार्वजनिक सोचमा अन्यथा भाव राख्ने गरिँदैन । यसलाई मानवीय स्वभावको परिणति मान्ने गरिन्छ।

बारले आयोजना गरेको उक्त श्रद्धाञ्जलि कार्यक्रममा पार्थिव शरीर राख्न निर्धारित स्थान नजिकै एक टेबुलमा सयपत्री फूलका मालाहरू राखिएका थिए । आयोजकले यसरी फूलको व्यवस्था गरिनुपर्ने मान्यता बुझ्नु कठिन छ, तर सामान्यतया श्रद्धाञ्जलि व्यक्त गर्न आउने व्यक्तिहरूले नै फूलको गुच्छा वा फूलका माला लिएर आउँछन् भन्ने मान्यता राखिन्छ । बिनाफूल सम्मानपूर्वक श्रद्धाञ्जलि व्यक्त गर्न पनि सकिन्छ । शुद्ध मनले गरिने श्रद्धासुमन सम्भवतः अर्काले दिएको फूल चढाएर गरिने श्रद्धाञ्जलिभन्दा सार्थक मानिन्छ । त्यसमा पनि टेबुलमा राखिएको उक्त फूलको माला हात पार्न हारालुछ गरेको देख्दा दुःख लाग्छ । खोसाखोसका कारण थुङ्गामा परिणत भएको माला र भुइँमा खस्न पुगेका थुङ्गाहरू देख्दा नैतिक तथा सामाजिक चेतप्रति पीडा महसुस हुन्छ । आयोजकले त्यसरी फूलको व्यवस्था गर्नु र त्यसमा पनि हारालुछ गर्नु दुबै आलोच्य विषय मानिन्छ । श्रद्धाञ्जलि समारोह वा कार्यक्रममा बढी नै शालीन र सौम्यताको अपेक्षा गर्ने गरिन्छ । विश्वास गरौँ, आइन्दा यस्तो कार्य नहोला।

कानुन व्यवसायीको देहावसानमा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरिने सन्दर्भमा सर्वोच्च अदालत बार एसोसिएसनले आयोजना गर्ने गरिएका श्रद्धाञ्जलि समारोहबारे पनि संक्षिप्त चर्चा गरिनु सान्दर्भिक हुनसक्छ । विधानबमोजिम नियमित सदस्यता नवीकरण गर्ने सदस्यहरूको हकमा सर्वोच्च अदालत बार एसोसिएसनले श्रद्धाञ्जलि समारोहको आयोजना गर्ने गरेको पाइन्छ । समवेदना दिन निमित्त स्वर्गीय सदस्यको तस्बिर बारभित्रको अग्रभागमा राखेर केही दिनपछि सभाहलमा श्रद्धाञ्जलि समारोहको आयोजना गर्ने गरिएको पाइन्छ । धेरैजसो त्यस्ता कार्यक्रमहरू प्रायः औपचारिकतामा नै सीमित रहेको आभास हुन्छ । समग्रमा स्वर्गीय व्यक्तिको निकटस्थ कानुन व्यवसायीबाट केही स्मरण अभिव्यक्त भएपछि लगभग कार्यक्रम समाप्त गर्ने गरिन्छ । यस्ता कार्यक्रमको अभिलेखीकरण हुने गरेको जानकारी छैन । धेरै पहिलेदखि यस्ता औपचारिक कार्यक्रमको अभिलेखीकरण हुनुपर्ने र निजसितको पेसाजस्ता कार्यमा निकटस्थ व्यक्तिबाट स्वर्गीय कानुन व्यवसायी मित्रले न्याय तथा कानुनको क्षेत्रमा पुर्याएका योगदानबारे वस्तुपरक लेख लेख्न लगाएर बारको वेबसाइटमा राख्ने र पछि क्रमशः थपिँदै जाने अन्य स्वर्गीय व्यक्तिहरूको स्मृति मिलाएर पुस्तकाकारमा प्रकाशन गर्न सकिएमा भावी पुस्ताका लागि राम्रै अध्ययन सामग्री तयार हुनेछ । यसबाट धेरैलाई राम्रो कामका लागि हौसला प्राप्त हुने अपेक्षा पनि राख्न सकिन्छ ।

कुनै दिन सर्वोच्च अदालतका पूर्व वा बहालवाला प्रधानन्यायाधीश वा न्यायाधीशको देहावसान हुँदा श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई केही समयका लागि सर्वोच्च अदालत भवनको प्राङ्गणमा राखिनुपर्ने झिनो प्रस्ताव आएको थियो । राजा महेन्द्र र स्वरसम्राट् नारायण गोपाल गुरुवाचार्यको स्वर्गारोहणमा जस्तो जनलहर उर्लन नसक्ने तथ्यलाई कसैले पनि इन्कार गर्न नसक्ला, तर यसरी प्राङ्गणमा नै श्रद्धाञ्जलि अर्पण गरिसकेपछि शवयात्रामा उपस्थित हुने व्यक्तिको उपस्थिति ज्यादै कम हुने डरले त्यसबखत काम गरेको थियो । शववाहनलाई सडकमा एक्लै दौडाउनुको कुनै अर्थ रहँदैन । यसबाट पदप्रति नै हीनताबोध हुने सन्देश सार्वजनिक हुने डर रहन्छ । तसर्थ यस्तो प्रस्तावले सफल अवतरण प्राप्त गर्न सकेको होइन।

केही स्वनामधन्य कलाकार, खेलाडी आदिको पार्थिव शरीरलाई निजहरू सम्बद्ध संस्थाको प्राङ्गणमा निश्चित समय श्रद्धाञ्जलिका लागि राख्ने गरिन्छ, तर धेरैपटक शववाहन र केही सीमित व्यक्तिको गाडी मात्र आर्यघाट पुग्ने गरेको पाइन्छ । पार्थिक शरीरमा श्रद्धाञ्जलि अर्पण गरिसकेपछि घाटसम्म जाने वा पुग्ने मनोविज्ञान तयार हुँदैन । बरु घाटमै भीडभाड देखिँदा स्वर्गीय व्यक्तिप्रति सामाजिक चासो निक्कै हुँदोरहेछ ।

सर्वोच्च अदालत बारबाहेक अन्य एकाइमा यसरी नियमित श्रद्धाञ्जलि समारोहको आयोजना गर्ने गरिएको पाइँदैन । धेरै एकाइले पत्रिकामा समवेदना प्रकाशित गर्ने एवं उपस्थित पदाधिकारी र सदस्यहरू स्वर्गीय सदस्यको घरमा पुगेर परिवारका सदस्यहरूलाई समवेदनापत्र बुझाउने प्रचलन पाइन्छ । तत्कालका लागि यस्ता कार्य औपचारिकतामा समाप्त हुने गर्छन् । यसबाट कुनै सार्थक परिणति निस्कन्छ भन्न मिल्दैन । यसबाट स्वर्गीय व्यक्तिको योगदानको कुनै अभिलेखीकरण हुँदैन । आजको युगमा पनि कसैको योगदानको कदर गर्ने र त्यसको अभिलेखीकरण गर्ने कार्य नहुँदा भावी पुस्ताले कसैको योगदानबारे जान्ने एवम् त्यसबाट शिक्षा लिने र अभिप्रेरित हुने मौका प्राप्त गर्नसक्ने छैनन् । हुनता, आर्यघाटमा सलामी चढाएर श्रद्धाञ्जलि अर्पण गरिएका व्यक्तिहरूको पनि योगदानको कुनै अभिलेखीकरण भएको पाइँदैन । पदको गरिमालाई मर्यादा दिने अर्थमा त्यसप्रकारका सलामी चढाइने गरिएको पाइन्छ । बौद्धिक र व्यावसायिक हैसियतभन्दा पद प्राप्तिलाई योगदान मान्ने सङ्कुचित मान्यतामा परिवर्तन नभएसम्म यसप्रकारको औपचारिकता निर्वाह भइरहनेछ । यसबाट खास उल्लेख्य र अपेक्षित नतिजा निस्कने सम्भावना रहँदैन।

व्यक्तिको मृत्यु अवश्यसम्भावी छ र यसबाट निजका आत्मीय स्वजनलाई पीडानुभूति हुने गर्छ । देश, जनता र अन्य सम्बद्ध पेसा वा निकायमा प्रशंसनीय योगदान पुर्याएको रहेछ भने त्यसबाट समग्रमा अपुरणीय क्षति पुगेको भनेर अथ्र्याउन सकिन्छ । बाँचेका व्यक्तिबाट जान्न र सिक्न पाइने दिनहरूको अन्त्य भएको मानिँदैन, तर स्वर्गीय व्यक्तिबाट क्रियाशील एवम् सिर्जनशील योगदान हुने सम्भावना रहँदैन, तसर्थ त्यस्ता व्यक्तिको योगदानलाई सकेसम्म यथार्थ र वस्तुपरक अभिलेखीकरण गर्नु जाती हुन्छ । यसबाट निज र निजको योगदान कहिल्यै विस्मृत हुने छैनन् । साथै यसबाट भावी पुस्ताले सत्कार्यमा लाग्न आपूmलाई सधैँ अभिप्रेरित गर्नसक्ने सम्भावना पनि रहिरहन्छ।







यसमा तपाईको मत

अन्य समाचार

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

Ncell Footer Ad