७ वैशाख २०८१ शुक्रबार
अर्थ

सरकारले रेलको टुंगो अझै लगाएन

काठमाडौं – रेलमार्ग तयार भएर परीक्षण समेत भइसक्यो । पुस मध्यसम्म रेल सञ्चालन गर्ने भनेर मिति पनि तय भइसकेको थियो । बिडम्बना ! तयार भइसकेको रेलमार्गमा चलाउने रेलको टुंगो अझै लाग्न सकेको छैन।

जयनगर, जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटरमध्ये ३४ किलोमिटरमा आगामी पुस मध्यदेखि रेल चलाउने मिति विभागले सात–आठ महिनाअघि तय गरेको हो । उक्त खण्डको धनुषा, कुर्थासम्म ३४ किलोमिटरमा रेल चलाउने भनेर तोकेको मिति नजिकिइरहे पनि सरकारले रेल कसरी सञ्चालन गर्ने भन्ने टुंगो लगाउन सकेको छैन।

विभागले उक्त मार्गमा रेल चलाउन रेलको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेस गरेको एक वर्षभन्दा धेरै भइसकेको छ । मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन । रेल सञ्चालनको मिति पटकपटक सार्दै पुस मध्यसम्म ल्याए पनि सरकारले रेल ल्याउन सकेको छैन। 

रेल सञ्चालनको विषयमा मन्त्रालयमा प्रक्रिया अघि बढेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए । रेल किन्ने प्रक्रिया अघि बढेको एक वर्षभन्दा धेरै भइसके पनि सञ्चालनको ‘मोडालिटी’ भने अन्योलमा छ । सरकारले दुई विकल्पमा छलफल गरिरहेको चित्रकारले बताए । ‘पहिलो विकल्प सरकारले रेल किनेर आफैं सञ्चालन गर्ने हो,’ चित्रकारले भने, ‘यसलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढेको छ।’

मुलुकले रेल किनेर आफैं चलाउनु गौरवको विषय भए पनि यसमा केही समस्या देखिएको छ । नेपालसँग रेल सञ्चालनको अनुभव छैन । रेल चलाउने अनुभव नभएको, प्राविधिक, चालक र दक्ष जनशक्तिको अभाव लगायत समस्या रहेको चित्रकारले बताए। 

अर्को विकल्प भनेको ‘वेट लिज’मा रेल ल्याएर सञ्चालन गर्ने हो । रेल सेवा प्रदायकसँग रेल भाडामा लिएर सञ्चालन गर्न सकिने विषय पनि विकल्पमा राखिएको चित्रकारको भनाइ छ । यसो गरेमा उक्त सेवा प्रदायकले रेल सञ्चालन गर्नेछ भने साथमा नेपाली कर्मचारी र प्राविधिक पनि संलग्न हुनेछन् । ‘वेट लिज’मा लिएमा नेपाली पक्षले अनुभव लिन पाउने, तालिम लिँदै जाने र सक्षम भएपछि आफैं सञ्चालन गर्न सकिने चित्रकारले बताए।

अहिलेसम्म सरकारले यिनै दुई विकल्पमा छलफल गरिरहेको छ । मन्त्रिपरिषद्ले यी विकल्पमध्ये एक रोज्ने निर्णय गरेपछि मात्र रेल ल्याउने र सञ्चालन गर्ने प्रक्रिया अघि बढ्नेछ । रेल किन्ने हो भने त्यसको लागि कति खर्च लाग्ने, कति रेल ल्याउने भन्ने यकिन भइसकेको छैन । यति नै भनेर निर्णय नभए पनि दुईवटा ‘ट्रेन सेट’को विषयमा छलफल भइरहेको छ । यो पनि यात्रुको चापअनुसार फरक पर्नेछ।

खर्चको विषय यकिन नभए पनि प्रारम्भिक रुपमा एक ट्रेन सेटको मूल्य झन्डै ७० करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । दुईवटा ‘डोमो सेट’ किन्न मात्रै एक अर्ब ४० करोड खर्च हुने देखिन्छ ।  विभागले एक वर्षअघि उक्त रेलमार्गमा रेल सञ्चालन कसरी गर्न सकिन्छ भनेर एक अध्ययन समेत गरेको थियो । अध्ययनअनुसार उक्त मार्गमा त्यो बेला कम्तीमा सात हजार यात्रु दैनिक आवतजावत गर्ने र राम्रै मात्रामा सामान ओसारपसार हुने देखिएको थियो।

भारतले आफ्ना दुई सहर जयनगर र जोगवनीलाई नेपालका सहरसँग जोड्ने गरी रेल सञ्चालन गर्न आर्थिक र प्राविधिक सहयोग गरिरहेको छ । त्यस मार्गमा पर्ने जग्गा अधिग्रहण, मुआब्जा, घर, टहरामा नेपाल सरकारले सहयोग गरिरहेको छ । केही ठाउँमा जग्गा अधिग्रहणको समस्या समेत उत्पन्न भएका छन्।

मुलुकमा विभिन्न रेलमार्गको विषय उठिरहे पनि हाल यी दुई ट्र्याकको ८८ किलोमिटरको काम भइरहेको छ । निमार्णाधीन यी ट्र्याकबाहेक पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हुँदै आउने रेल लगायत मार्गको चर्चा भइरहेको छ।

प्रकाशित: २ मंसिर २०७५ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App