coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

किसानले चीनबाट गाई ल्याउन नदिने

चीनबाट गाई ल्याउने सरकारको तयारीको विरोधमा दुग्ध उत्पादन किसानले आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : सविता/नागरिक

चितवन – देवीराम गैरेको गोठमा ११ वटा गाई छन् । सात वर्षदेखि गाईपालन गर्दै आएका उनी अहिले छाकमा ४५ लिटर दूध बिक्री गर्छन् । आठ वर्ष साउदी अरबमा काम गरेर फर्किएपछि उनले गाईपालन सुरु गरेका हुन् । ३५,४५ र ६५ हजार रुपैयाँमा तीनवटा गाई किनेर उनले व्यवसाय सुरु गरेका थिए । बागलुङको बुर्तिबाङमा रहँदा उनको घरमा भैंसी पालिन्थे।

विदेशबाट फर्केर उनी चितवन बस्न थाले । घर, परिवारसँग टाढिएर कति विदेशमा बस्ने भन्ने लागेपछि गाईपालन सुरु गरेको उनले सुनाए । भरतपुर महानगरपालिका–४ को आनन्दपुरका उनले गाईपालन बढाउँदै लगेका छन् । घरमै गाईपालन गर्न ठाउँ अभाव भएपछि लंकुमा १५ कट्ठा जग्गा भाडामा लिएका छन् । दुई–तीनवटा मात्र पाल्नुभन्दा व्यावसायिक रुपमै अघि बढ्न फार्म खोलेर गाईपालन विस्तार गरेको उनले बताए।

होलिस्टन र जर्सी गाई पालेका उनले क्रस गरिएका जर्सी गाई बढी पालेका छन् । ‘जर्सी गाई सजिलै ब्याउँछन् । होलिस्टिन गाई सजिलै ब्याउँदैन,’ उनी भन्छन्, ‘स्याहार गर्न र दूध उत्पादन लिन यहीँका गाई सजिला छन् ।’ जर्सी गाईले निरन्तर उही परिमाणमा दूध दिने भएकाले जर्सी गाई नै बढी राखिएको उनी बताउँछन् । बजार क्षेत्रमा दूध बिक्री गर्ने निजी डेरीले उनीसँग दूध लैजान्छन्।

उनलाई दूध बिक्री हुँदैन कि भन्ने चिन्ता छैन । ‘चारवटा ब्याउने, केही भर्खर ब्याएका र केही बकेर्ना छन्,’ उनी भन्छन्, ‘गोठ मै दूध लिन आउँछन्, ५५ रुपैयाँ लिटरमा बिक्री गर्ने गरेको छु ।’ एक महिनामा एकमुष्ठ दूधको पैसा पाउँछन् । यो रकम किसानले पाउने दूधको मूल्यमध्ये बढी भएको उनले बताए । बजारको निजी डेरीलाई दिएकाले नियमित दूध बिक्री गरेर पैसा पाउन सकेको उनी बताउँछन्।

दूध उत्पादक किसान सबैले देवीरामले जसरी नै मूल्य पाएका छैनन् । किसानले अहिले दूध बेच्ने समस्या भोगिरहेको व्यावसायिक दुग्ध उत्पादक कृषक समाज रत्ननगर नगरपालिकाका अध्यक्ष किशोर बगाले बताउँछन् । बिक्री नगरी राख्न नसकिने वस्तु दूधको बजार किसानले नपाएको उनले बताए । ‘बेच्नलाई पनि समस्या छ, बेचेको दूधको पनि पैसा उठेको छैन । यस्तो समस्या भइरहेको बेला सरकारले चीनबाट गाई ल्याउने तयारी गरेको छ।’

गण्डकी प्रदेशसँगै प्रदेश २ र ३ का लागि चीनबाट ३२ अर्बको गाई ल्याउने तयारीप्रति किसानको आपत्ति रहेको उनी बताउँछन् । देशमा रहेका दूध उत्पादक किसानलाई बेवास्ता गरेर सरकार एकल निर्णयबाट अघि बढेको उनको आरोप छ । अहिले न्युजिल्यान्ड, अमेरिका लगायत देशबाट सिमोन ल्याएर यहीँ उन्नत जातका गाई उत्पादन भइरहेको उनले बताए । चीनबाट पनि सिमोन ल्याएर धेरै दूध दिने राम्रा बाच्छी यही उत्पादन गर्न सकिने उनको भनाइ छ।

देशमा कति दूध उत्पादन छ, कति अपुग हो, कति उत्पादनका लागि गाई ल्याउन लागिएको हो, चीनको गाईपालनका लागि नेपालको भूगोल सुहाउँदो छ कि छैन लगायत विषयमा अध्ययन नगरी निर्णय गरिएको उनले बताए । ‘गाई नै किन ल्याउनुपर्यो ?’ उनी भन्छन्, ‘दूध उत्पादनको लागत कटौती, आधुनिकीकरण र किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रम सञ्चालन गरिए यहीँ उत्पादन गरिएका गाईबाट त्यति फाइदा लिन सकिन्छ।’

नेपालमा उन्नत जातका राम्रा गाई बढीमा एक लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ । चीनबाट चारदेखि पाँच लाख मूल्यमा गाई खरिद गर्न लागिएको बुझिएको उनी बताउँछन् । पछिल्लो एक वर्षदेखि दूध संकलन गर्ने दुग्ध विकास संस्थान र निजी डेरी मिल्क होलिडे गरेर किसानलाई दुःख दिन थालेको व्यावसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका सचिव इन्द्रमणि गैरे बताउँछन् । यस्तो समयमा नेपालमै राम्रा बाच्छी उत्पादन गर्न सरकारले किसानलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टो काम गरेको उनको भनाइ छ।

सरकारले प्राथमिकता दिएमा चीनबाट आयात गरिने जत्तिकै उत्पादन दिने नेपाली भूगोल सुहाउँदो राम्रा बाच्छी स्वदेशमै उत्पादन गर्न सकिने उनी बताउँछन् । प्रत्येक नेपालीलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक पर्ने भए पनि ६१ लिटर दूध उपलब्ध भएको सरकारी तथ्यांक रहेको उनले बताए । तथ्यांक हेर्दा दूध नपुगेको देखिन्छ।

किसानको दूध बिक्री नहुँदा मूल्य घटाइएको छ । चितवनमा दैनिक करिब दुई लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ । नेपाली किसान र गाईलाई उपेक्षा गरी चाइनिज गाई ल्याउन लागिए किसान सडकमा उत्रिने व्यावसायिक दुग्ध उत्पादक कृषक समाज भरतपुर महानगरपालिकाका अध्यक्ष शिवलाल कर्णेल बताउँछन् । किसानले पालिरहेका गाई, भैंसी नै स्थानीय सरकारको कार्यालयमा बाँधिने उनले बताए।

प्रकाशित: २ मंसिर २०७५ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App