coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

स्वेच्छाले बिमा गर्ने परिपाटीको अभाव

दिपप्रकाश पाण्डे/प्रमुख कार्यकारी अधिकृत, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

२५ वर्षदेखि बिमा क्षेत्रमा क्रियाशील दिपप्रकाश पाण्डेले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नेतृत्व गरिरहेका छन् । १५ वर्षमा टेक्नै लागेको शिखरलाई उनी बिमा शुल्क संकलन, जारी बिमालेख संख्या, दाबी भुक्तानी रकम तथा दाबी भुक्तानी संख्या, शाखा संख्या, जनशक्ति विस्तार, लगानी तथा खुद नाफाका हिसाबले अरुभन्दा अग्रणी दाबी गर्छन् । यही सेरोफेरोमा नेपालको बिमा व्यवसायको अवस्था, प्रतिस्पर्धा, चुनौती कम्पनीको भावी योजना लगायत विषयमा केन्द्रित रहेर नागरिकका बिष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंश :

शिखर इन्स्योरेन्स आजबाट १५औं वर्षमा पाइला टेक्दैछ । १५ वर्षको उपलब्धिलाई तपाईंले कसरी मूल्याकंन गर्नुहुन्छ।
शिखर इन्स्योरेन्स कम्पनी नेपालको १५औं निर्जीवन बिमा कम्पनीको रुपमा स्थापना हुँदा नेपालको कुल निर्जीवन बिमा बजार जम्मा २७० करोड रहेको थियो । हाल नेपालको कुल निर्जीवन बिमा बजार करिब २३०० करोडको हाराहारीमा रहेको छ । कम्पनी स्थापनाको पहिलो सय दिनमा हामीले १० करोडको बिमा शुल्क संकलन गरेका थियौं भने हाल १५औं वर्षमा प्रवेश गर्ने क्रममा चालु आर्थिक वर्षको पहिलो सय दिनमा हामीले सय करोड कुल बिमा शुल्क संकलन गर्न सफल भएका छौं।

यस दौरान शिखर इन्स्योरेन्सले आफूलाई नेपालको अग्रणी बिमा कम्पनीको रुपमा उभ्याउन सफल भएको छ । बिमा शुल्क संकलन, जारी बिमालेख संख्या, दाबी भुक्तानी रकम तथा दाबी भुक्तानी संख्या, शाखा संख्या, जनशक्ति विस्तार, लगानी तथा खुद नाफामा हामी अन्य बिमा कम्पनीभन्दा अग्रणी स्थानमा रहँदै आएका छौं । गत आर्थिक वर्षमा मात्र हामीले भूकम्पको दाबीबाहेक १७४ करोडको दाबी भुक्तानी गरेका थियौं, जसका कारण आम जनमानसमा कम्पनीप्रतिको विश्वस थप मजबुत भएको महसुस गरेका छौं । यसका साथै नेपालमा बिमा क्षेत्रको विस्तार तथा विकासमा यस कम्पनीले उल्लेख्य योगदान पुर्याउँदै आइरहेको छ।

जम्मा १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीले आफ्नो नेटवर्थ २३० करोड पुर्याउन सफल भएको छ । यसबाट कम्पनीको धारण शक्ति वृद्धि भएको छ भने कम्पनीले सोही बमोजिमको खुद धारण रकममा वृद्धि गरी पुनर्बिमा बापत बिदेसिने रकममा समेत बचत गर्न योगदान पुर्याएको छ।

साथै प्रत्यक्ष तथा अप्रत्यक्ष गरी राजस्वमा वार्षिक ७० करोडभन्दा बढीको योगदान पुर्याउँदै आएका छौं भने राष्ट्रको लागि रोजगारीको वातावरण समेत सिर्जना गरेका छौं । कम्पनीमा लगानी गर्ने प्रोमोटर तथा सेयरधनीलाई आकर्षक प्रतिफल प्रदान गर्न सफल भएका छौं । समष्टिगत रुपमा यस कम्पनीले १४ वर्षको दौरानमा आफ्ना समस्त सरोकारवालालाई कम्पनीप्रति विश्वासको वातावरण बनाउन सफल भएको महसुस गरेका छौं।

नेपालमा बिमा क्षेत्रको विकासमा शिखर इन्स्योरेन्सले के कस्तो योगदान पुर्याएको छ त ?
नेपालमा बिमाको विकासका लागि दक्ष जनशक्तिको अभाव सधैं चुनौतीको रुपमा रहँदै आएको छ । यो चुनौती निराकरण गर्न शिखर इन्स्योरेन्सले दक्ष जनशक्तिको विकासमा उल्लेख्य सफलता हासिल गर्दै आएको छ । सुरुमा जम्मा २५ जना व्यक्तिबाट स्थापना भएको यस कम्पनीले हाल पाँच सय ५० भन्दा बढी दक्ष जनशक्तिको विकास गरिसकेको छ।

नेपालमा बिमाको पहुँचलाई विस्तार गर्ने क्रममा हालसम्म ९० भन्दा बढी शाखा विस्तार गरिसकेका छौं । जुम्ला, मुगु, कालिकोट, मुस्ताङ, हुम्ला, डोल्पा, डोटी, पाँचथर, ताप्लेजुङ जस्ता विकट जिल्लामा समेत हामीले बिमा सेवा प्रदान गर्दै आएका छौं । भौगोलिक विकटता तथा प्रशासनिक खर्च अधिक हुने कारणले यस्ता विकट जिल्लामा शाखा विस्तार गर्नु आफैंमा पनि चुनौतीको विषय हो । तर हामीले गरेको शाखा विस्तारले नेपालको दुर्गम क्षेत्रमा समेत बिमाको चेतना अभिवृद्धि भएको हामीले महसुस गरेका छौं । गत वर्षमात्र हामीले जुम्ला, मुगु तथा कालिकोटमा खडेरीका कारण स्याउ खेतीको नोक्सानीबापत करिब २५ लाख बिमा दाबी भुक्तानी गरेका थियौं । यसले गर्दा त्यस भेगका मानिसले बिमा गर्दाको फाइदाबारे बुझ्न थाले र आफ्ना अन्य सम्पत्तिको पनि बिमा गर्न थालेका छन् । केही समयभित्रै हामीले अन्य विकट जिल्लालाई समेट्दै आफ्नो शाखा संख्या सयभन्दा बढी पुर्याउँदैछौं।

नेपालमा बिमाको दायरा फराकिलो गर्न हामीले नयाँ नयाँँ बिमालेखको थालनी गर्दै आएका छौं । हामीले आजभन्दा पाँच वर्षअघि नै नेपालमा पहिलोपटक नगदरहित स्वास्थ्य बिमा तथा गम्भीर प्रकृतिका रोगसम्बन्धी बिमा सेवाको थालनी गरेको थियौं । जसलाई हाल आएर अन्य बिमा कम्पनीले समेत अनुशरण गर्दै आएका छन् । सक्षम एक्सेस टु फाइनान्ससँगको सहकार्यमा हामीले नेपालमै पहिलोपटक मौसमी सूचकांकमा आधारित कृषि बिमाको सुरुवात गरेका छौं जसलाई अन्य क्षेत्रमा समेत विस्तार गर्दै जानेछौंं । नेपालमा मौसमी सूचकांकमा आधारित कृषि बिमा सेवा प्रदान गर्ने हामी एकमात्र कम्पनी हौं । यसका साथै चालु आर्थिक वर्षदेखि हामीले नगदरहित मोटर बिमा दाबी सेवासमेत थालनी गरेका छौं।

नेपालको बिमा क्षेत्रमा के कस्ता समस्या र चुनौती देख्नुभएको छ ? समाधानको उपाय के हुन सक्छ ?
नेपालको बिमा क्षेत्रले बैंकिङ व्यवसायसँग प्रत्यक्ष तथा परोक्ष रुपमा सरोकार राख्छ । धितोको रुपमा प्रयोग गरिने सम्पत्तिको अनिवार्य बिमा गर्नुपर्ने नियमका कारण निर्जीवन बिमाको महत्वपूर्ण स्रोतको रुपमा बैंकिङ व्यवसाय रहँदै आएको छ । अतः केही वर्षदेखि विद्यमान बैंकिङ तरलता समस्याका कारण आर्थिक गतिविधिमा आएको शिथिलताले नेपालको बिमा बजारलाई समेत असर गरेको छ । यो समस्याबाट उम्कन बिमा कम्पनीहरुले आफ्नो दायरा फराकिलो पार्दै जानुपर्छ । जस्तो विगत केही वर्षदेखि कृषि बिमा, स्वास्थ्य बिमा ट्राभल मेडिकल बिमा, लघु बिमा जस्ता क्षेत्रको समेत राम्रो विकास हुँदैछ । यसरी नै नयाँनयाँ बिमालेखको थालनी गर्न जरुरी छ।

अर्को चुनौती भनेको बिमासम्बन्धी जानकार तथा क्रयशक्ति भएका धेरै व्यक्तिले समेत बाध्यकारी अवस्थामा बाहेक आफ्नो तथा सम्पत्तिको बिमा गर्ने गरेको देखिँदैन । यसको कारण भनेको अहिले पनि धेरै मानिसमा रहेको बिमा गर्न र बिमा दाबी प्राप्त गर्न झन्झटिलो छ भन्ने धारणा हो । यसको लागि बिमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त बनाउनुको विकल्प छैन । यसमा धेरै परिवर्तन भइरहेकोे पनि छ । तर थप परिपक्वताको खाँचो छ । विगतमा बिमा दाबी रकम कम गर्न सके कम्पनीको नाफा बढ्छ भन्ने धारण राख्ने कम्पनीहरु अहिले सकेसम्म चाँडै बिमा दाबी भुक्तानी गरौं भनी काम गरिरहेका छन् । नियमनकारी प्रावधानलाई सहजीकरण गर्न सके बिमालाई थप सरल गर्न सकिने थियो । जस्तै बिमालेखमा अनिवार्य रुपमा टिकट टाँस गर्नुपर्ने प्रावधानले गर्दा डिजिटल रुपमा बिमाको कारोबार गर्न सकिरहेका छैनौं । बिमा विस्तारको लागि प्रविधिमैत्री नियम बनाउन जरुरी छ।

बिमा एक प्राविधिक विषय पनि हो । बिमामा थुप्रै सर्त तथा बन्देज हुन्छन् । ती सर्त, बन्देजको पालना भएन भने दाबी परेको खण्डमा समेत बिमा कम्पनीहरुले चाहेर पनि भुक्तानी गर्न सक्दैनन् । जस्तो मोटर बिमामा अनिवार्य रुपमा म्याद भएको चालक अनुमति प्राप्त चालकले मात्र सवारी चलाउनुपर्ने सर्त हुन्छ । केही गरी चालक अनुमतिपत्र नभएको वा म्याद गुजे्रको अनुमतिपत्र भएको चालकले चलाएको सवारी दुर्घटना भएमा बिमा दाबी भुक्तानी गर्न मिल्दैन । यो कुरा सम्बन्धित व्यक्तिले नबुझ्दा बिमा कम्पनीले तिरेन भन्ने पर्छ । अतः आम जनतामा बिमा सम्बन्धी सर्त, बन्देजबारे जानकारी फैलाउन अत्यन्त जरुरी छ । यसको लागि बिमा कम्पनीहरु आफैंले बिमालेख जारी गर्दा सम्बन्धित बिमितलाई सो सम्बन्धी जानकारी गराउनु पर्छ भने बिमा समितिले समेत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जानु आवश्यक देखिन्छ । बिमा कम्पनीहरुलाई यस्ता चेतनामूलक कार्यक्रम सञ्चालन गर्नको लागि विज्ञापन तथा प्रचारप्रसार खर्चको लागि तोकिएको सीमामा पुनर्विचार गर्नुको साथै सामूहिक रुपमा समस्त बिमा कम्पनीहरु मिली बिमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम अभियानकै रुपमा छुट्टै कोष खडा गरेर सञ्चालन गर्न सके यस्ता चुनौती निराकरण हुने र बिमा क्षेत्रमा सकारात्मक असर पर्ने देखिन्छ।

विगत केही वर्षदेखि बिमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढिरहेको छ । नयाँ कम्पनीहरुको प्रवेशले यो झन् बढ्ने देखिन्छ । अस्वस्थ प्रतिस्पर्धा हटाउन सम्बन्धित सबै क्षेत्रबाट आ–आफ्ना कमी–कमजोरी पहिल्याई अघि बढ्नुपर्ने देखिन्छ । साथै बिमा दर ट्यारिफहरुलाई समेत समय सान्दर्भिक रुपमा परिमार्जन गर्दै जानु आवश्यक देखिन्छ । बजारमा अस्वस्थ प्रतिस्पर्धाकै कारण केही नन–ट्यारिफ बिमालेखहरुको बिमाशुल्क थेग्नै नसकिने गरी तल झरिसकेको छ । यसबाट बिमा क्षेत्रमा दूरगामी रुपमा नकारात्मक असर पर्नुका साथै पुनर्बिमा व्यवस्थापन गर्न समेत असहज परिस्थिति सिर्जना हुन सक्ने देखिन्छ।

नेपालमा बिमा क्षेत्रको विकासलाई जहिले पनि बैंकिङ क्षेत्रको विकाससँग गाँसेर हेर्ने गरिन्छ । यसरी दाज्न मिल्दैन । बिमा क्षेत्रको विकासलाई पनि राष्ट्रको समष्टिगत आर्थिक विकाससँगै समानुपातिक रुपमा दाँजेर हेर्न जरुरी छ । बिमितले आफ्नो क्रयशक्ति अनुरुप प्राथमिकताको आधारमा खर्च गर्छन् । धेरै मध्यमवर्गीय तथा न्यून आय भएका व्यक्तिका लागि बिमा आफ्नो प्राथमिकतामा नपर्ने विषय हो । यसको लागि राष्ट्रले नै विपन्न वर्गका साथै अन्य क्षेत्रमा आवश्यकता अनुरुप बिमा विकास गर्ने नीति बनाउन आवश्यक छ।

उदाहरणका लागि कृषि बिमा लिन सकिन्छ । कृषि बिमामा अनुदान दिने नीति पश्चात कृषि बिमाले फड्को मारेको थियो । हाल किसानमा कृषि बिमाको महत्वबारे चेतना विकास भइरहेको छ । अतः आउँदा दिनहरुमा क्रमिक रुपमा कृषि बिमामा अनुदान घटाउँदै जाने हो भने पनि कृषि बिमाको दायरा बढ्दै जानेछ । सोही अनुरुप लघुबिमा, स्वास्थ्य बिमा जस्ता क्षेत्रमा सरकारबाट सहयोग भएका राष्ट्रको बिमा क्षेत्रले राम्रै फड्को मार्ने देखिन्छ । साथै बिमालाई न्यून आय भएका जनताको पहुँचमा पुर्याउन लघुबिमा तथा स्वास्थ्य बिमा लगायत अन्य बिमामा आयकर, मूल्य अभिवृद्धिकर तथा टिकट दस्तुरमा छुट दिने नीति ल्याउनु जरुरी छ।

शिखर इन्स्योरेन्सको आगामी योजना के कस्ता छन् ?
शाखा सञ्जाल थप विस्तार गर्दै जाने योजना छ । केही समयमै हाम्रो शाखा संख्या सय पुग्नेछ । जनशक्ति कम्पनीको मेरुदण्ड हुने भएकोले कर्मचारीको दक्षता वृद्धिको लागि विभिन्न तालिम सञ्चालन गर्ने योजना छ भने जनमानसमा बिमासम्बन्धी चेतना बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना छ । चालु आर्थिक वर्षमै दुईवटा नयाँ बिमालेखको थालनी गर्ने योजना छ । कम्पनीको क्षमतामा भएको विकाससँगै बिमा जोखिम धारण नीति परिवर्तन गर्दै जाने योजना छ।

नेपालमा कार्यरत बिमा कम्पनीहरुको पुँजी वृद्धि भएर ती कम्पनीको खुद धारण गर्ने क्षमतामा समेत वृद्धि भइरहेको परिप्रेक्षमा नेपालकै बिमा कम्पनीसँग सहबिमा लगायत पुनर्बिमा गरी पुनर्बिमामार्फत बिदेसिने रकममा समेत कमी गर्ने रणनीति रहने छ । यसबाट बिमा कम्पनीहरु एकआपसमा मिलेर समस्त बिमा क्षेत्रको स्वच्छ विकासमा योगदान पुर्याउने वातावरण बनाउन हाम्रो कम्पनी तत्पर रहनेछ।

प्रकाशित: २ मंसिर २०७५ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App