coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हस्तकलाको कुम्भ मेला आइतबारसम्म

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा हस्तकलाको कुम्भ मेला चलिरहेको छ । बुधबार सुरु भएको मेला आइतबारसम्म चल्नेछ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १६औं हस्तकला मेलामा देशभरका कलाकार तथा व्यवसायी सहभागी भएका छन्।

करिब दुई सय स्टल रहेको मेलामा विभिन्न कला शैली, संस्कृति र आधुनिक कलाका उत्पादन बिक्रीका लागि राखिएका छन् । मेलामा अवलोकनकर्ताको चाप बढेको छ । विद्यार्थी, युवा, उद्यमीदेखि राजनीतिकर्मीका साथै विभिन्न देशको राजदूतहरुले अवलोकन गरिरहेको महासंघका मेला प्रचार प्रमुख होमनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार सोचेभन्दा राम्रो कारोबार भएको छ।

मेला संयोजक हेमरत्न शाक्यले यस वर्षको हस्तकला मेला व्यवस्थित रुपमा अघि बढेको जानकारी दिए । मेलामा नयाँनयाँ उत्पादन, हस्तकला प्रवद्र्धन र पर्यटन प्रवद्र्धनका लागि चाइनाबाट आएको पत्रकारले उल्लेखनीय भूमिका खेल्ने उनको भनाइ छ।

हस्तकला मेला प्रवद्र्धनका लागि काठमाडौं उपत्यका लगायत विभिन्न पर्यटकीय क्षेत्र र साइड सिनका गन्तव्यमा समेत मेला अवलोकन गर्न आह्वान गरिएका आकर्षक ब्यानर राखेको उनको भनाइ छ ।

मेलाको उद्देश्य उद्यमी, कलाकार, कालिगढबाट उत्पादित नेपाली हस्तकला वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउनु हो।
                                                                  धर्मराज, अध्यक्ष–नेपाल हस्तकला महासंघ

यस्तै, ठूला होटलमा समेत १६औं हस्तकला मेलाको ब्यानर राखेर भृकुटीमण्डपसम्म पर्यटक ल्याउन होटल व्यवसायीले सहयोग गरेका छन् । बसन्तुपर, पाटन, भक्तपुर, बौद्ध, स्वयम्भु लगायत पर्यटकीय क्षेत्रमा मेलाको ब्यानर राखिएको छ।

उद्यमी, कलाकार, कालिगढबाट उत्पादित नेपाली हस्तकला वस्तुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । मेलामा नेपालको सातवटै प्रदेशका जिल्ला हस्तकला संघ, वस्तुगत संघको साथै नेपाल सरकार, गरिबी निवारण कोष समेतको सहभागिता छ।

महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (एनटिआइएस) र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्य तथा काठमाडौं, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड लगायतको सहयोगमा मेला गरेका हो।

नेपाली हस्तकला सामानको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्ने, नेपाली उद्यमी, व्यवसायी, निर्यातकर्ता र विदेशी आयातकर्ताबीच व्यावसायिक सम्बन्ध विकास गर्ने तथा मेलाको माध्यमबाट नेपाली कला संस्कृतिको पहिचान र उजागर गर्ने मेलाको उद्देश्य छ।

पाँच दिन चल्ने मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, जर्मनी  लगायत देशबाट सहभागिता छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, ऊन, सुती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र बाँसका सामान, जडीबुटी, अर्थोडक्स चिया लगायतका स्टल छन्।

मेलाको अवसरमा १४औं हस्तकला प्रतियोगिता समेत भइरहेको छ । परम्परागत विधातर्फ मैनमूर्ति बनाउने कलाकार र समसामयिक विधातर्फ ढाका बुनाइमा संलग्न कालिगढलाई संलग्न गराई प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी गरी प्रतियोगिता सञ्चालन भइरहेको प्रतियोगिता संयोजक प्रचण्डमान शाक्यले जानकारी दिए । उत्कृष्ट हुने ६ जना कलाकारलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट प्रदान गरिने छ।

हरेक विधाका दुईजनालाई पहिलो पुरस्कार ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र पदकले सम्मान गर्ने छ । मेला दुई लाखले अवलोकन गर्ने र करिब १० करोड रुपैयाँको कारोबार हुने आयोजकको अपेक्षा छ।

प्रकाशित: २ मंसिर २०७५ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App