coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महिनाबारीले रोकिँदैन पढाइ

छात्रालाई सेनेटरी प्याड वितरण गर्दैै थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रूपाखेती । तस्बिर : सरिता/नागरिक

धादिङ – महिनाबारी हुने समय आएपछि विद्यालय जाने कि नजाने, गए पनि कसरी दिन कटाउने भन्ने समस्याले गल्छी गाउँपालिका –८, गोगनपानीकी समिता तामाङलाई सताउने गथ्र्याे । विद्यालय गएपछि केही समस्या होला कि भन्ने चिन्ताले महिनाबारी भएका बेला उनी पढाइ नै छाडिदिन्थिन् । ‘विद्यालय गयो, पेट दुखेर पढ्नै मन लाग्दैनथ्यो,’ तामाङले भनिन्, ‘ब्लड देखिन्छ कि, साथीहरूले जिस्क्याउँछन् कि भन्ने डर लाग्थ्यो ।’ महिनाबारी भएका बेला तामाङले धेरै पटक पढाइ छुटाएकी छन्।

उनको घरबाट थाक्रे–१० स्थित भोजकुमारी मावि आइपुग्न एक घण्टा हिँड्नुपर्छ । तामाङले भनिन्, ‘तर सेनेटरी प्याडको प्रयोगपछि भने नियमित रूपमा विद्यालय आउन थालेकी छुु ।’ पहिले साथीहरूबीच पनि महिनाबारीबारे खुलेर कुराकानी हुँदैनथ्यो । तर अहिले यसबारे खुलेर कुरा हुने गरेको उनले बताइन्।

थाक्रे गाउँपालिकाले सुरक्षित छात्रा अभियान सञ्चालन गर्दै सेनेटरी प्याड वितरण गर्न थालेपछि यस्तो परिवर्तन आएको हो । गाउँपालिका भित्रका हरेक विद्यालयमा सेनेटरी प्याड वितरण गरिएको थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रूपाखेतीले जानकारी दिइन् । ‘महिनाबारी हुँदा देउता रिसाउँछन् भन्ने अन्धविश्वास अहिले पनि छ, जसका कारण धेरै महिला पीडित भइरहेका छन्,’ उनले भनिन्, ‘यो प्राकृतिक नियम भएकाले यस्तो बेला सुरक्षाका लागि हामीले प्रत्येक विद्यालयमा सेनेटरी प्याड वितरण गरेका हौं ।’ सेनिटरी प्याडले छात्राको स्वास्थ्य सुरक्षित र अध्ययनमा सहज बनाएको उपाध्यक्ष रूपाखेतीको भनाइ छ।

नियमित शिक्षा र प्रजनन् स्वास्थ्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई लक्ष्य गरी यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

धादिङको थाक्रे गाउँपालिका भित्रका विद्यालयका छात्राहरू पहिले महिनाबारी हुँदा विद्यालय नै नआउने र आए पनि बीचमै कक्षा छाडेर घर फर्कने गर्थे । तर गाउँपालिकाले महिनाबारीबारे अभियान सञ्चालन गर्दै स्कुल–स्कुलमै सेनेटरी प्याड वितरण गरेपछि उनीहरू नियमित विद्यालय आउने गरेका छन्।

विद्यालयमा गठन गरिएको बाल क्लबमार्फत् पनि छात्राहरूले महिनाबारी तथा प्रजनन् स्वास्थ्यका विषयमा छलफल गर्दै आएका छन् । महिनाबारी भएका बेला अपनाउनुपर्ने सावधानी, ध्यान दिनुपर्ने सरसफाइ तथा अन्धविश्वास बारेमा बेला–बेला जानकारी लिने गरेका छन् । अझै पनि महिनाबारी भएका बेला छाउगोठमा ज्यान गुमाउनुपरेको घटनाबारे पनि उनीहरू जानकार भएका छन् । त्यसैले अहिले उनीहरू महिनाबारीबारे घरदेखि विद्यालयसम्म खुलेर छलफल गर्छन्।

समिता मात्र होइन अहिले यस गाउँपालिकाका प्रत्येक विद्यालयका छात्राहरू नियमित रूपमा विद्यालय आउने गरेका छन् । ज्योति मावि कक्षा–८ मा अध्ययनरत विष्णुमाया सुनार पनि महिनाबारी भएका बेला पढाइ नै छोड्नुपर्ने बाध्यता हटेको बताउँछिन् । हामीहरू महिनाबारी भएका बेला पढ्नबाटै बञ्चित हुनुपथ्र्याे,’ उनले भनिन्, ‘अहिले विद्यालय पनि घरजस्तै बनेको छ, पढ्दापढ्दै महिनाबारी अथवा कुनै अप्ठ्यारो भयो भने स्कुलमै रेस्ट रुम छ । यसले हामीलाई सहज भएको छ ।’ महिनाबारी भए तत्काल अपनाउनुपर्ने सावधानीलगायत विषयमा पनि तालिम लिएको उनले बताइन्।

महिनाबारी एक प्राकृतिक प्रक्रिया हो । तर अझै पनि धेरै समुदायमा महिनाबारी भएका बेला छुन नहुने, भान्सामा छिर्न नहुने, छाउगोठमा बस्नुपर्ने लगायतका अन्धविश्वास छ । विश्वभर १३ वर्षदेखि १९ वर्षसम्मका किशोरीमध्ये जम्मा १५ प्रतिशत किशोरीले मात्र सेनेटरी प्याड प्रयोग गर्ने गरेको तथ्यांक छ।

यसअघि छात्राहरू महिनाबारी हुँदा पठनपाठनमै समस्या हुने गरेको ज्योति माविकी शिक्षिका यशोदा न्यौपानेले बताइन् । ‘महिनाबारीका बेला छात्राहरू विद्यालय नै नआउने र आए पनि बीचमै कक्षा छाडेर घर फर्कने गरेका थिए,’ उनले भनिन्, ‘सेनेटरी प्याड पाएपछि अहिले नियमित रूपमा पढ्ने गरेका छन् ।’ अहिले छात्राहरूले निर्धक्कसँग विद्यालयको कार्यालयमै आएर सेनेटरी प्याड माग्ने गरेको उनले बताइन् । उनका अनुसार विद्यालयमै सेनेटरी प्याडको व्यवस्था भएपछि छात्राहरू पढ्न नियमित आउने क्रम बढेको हो।

प्रायजसो ६ देखि १० कक्षा सम्मका छात्राको उपस्थिति कक्षामा कम देखिएपछि शिक्षकहरूले पनि यसबारे अध्ययन गरेका थिए । त्यस क्रममा धेरैजसो छात्रा महिनाबारीका कारण विद्यालय नआउने गरेको पाइएको शिक्षिका न्यौपानेले बताइन् । ‘पहिलेजस्तो महिनाबारी भएकै कारण स्कुलमा आउन नसक्ने अवस्था अब छैन,’ उनले भनिन् । विद्यालयमा सेनेटरी प्याड प्रयोग गर्ने तरिकाका विषयमा पनि जानकारी गराउने गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको यो अभियान विद्यालयले निरन्तर जारी राख्ने जनाएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App