coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘पहेंलो भेस्ट’ प्रदर्शनमा एकको मृत्यु

फ्रान्सको राजधानी पेरिस र बेल्जियमको राजधानी ब्रसेल्स जोड्ने सडक बन्द गर्दै ‘पहेंलो भेस्ट’ प्रदर्शनकारी । तस्बिर : एजेन्सी

पेरिस – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा देशैभर आयोजना गरिएको चक्काजाममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।

मूल्यवृद्धिको विरोधमा सडकमा सवारी साधनलाई रोक्न उत्रिएका प्रदर्शनकारीमाथि एकजना चालकले जथाभावी गाडी कुदाउँदा एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।

देशैभर दुई हजारभन्दा बढी स्थानमा परैबाट देखिने पहेंलो भेस्ट लगाएका करिब एक लाख २० हजार प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको बिबिसीले उल्लेख गरेको छ । फ्रान्समा कार चलाउनका लागि पहेंलो भेस्ट लगाउन आवश्यक रहेको छ । प्रदर्शनमा उत्रिएका उनीहरुले राष्ट्रपति इमानुएल म्याक्रोंले साना मानिसलाई बेवास्ता गरेको आरोपसमेत लगाएका छन्।

राष्ट्रपति म्याक्रोंले यसैसता आफूले आफ्ना नेताहरुलाई फ्रान्सेली जनतासँग मेलमिलाप गराउन नसकेको स्वीकार गरेका थिए । साथै उनले आफ्नो सुधारवादी कार्यक्रममाथि रोक लगाउन विपक्षीहरुले आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाएका थिए । उता, प्रदर्शनकारीले प्रदर्शन नरोके उनीहरुलाई फ्रान्सेली रोड सञ्जालमा सवारीसाधान चलाउन नदिने अधिकारीहरुले चेतावनी दिएका छन्।

अहिलेसम्म के भएको छ ?
फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा ५० जना प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन गरिरहेका थिए । एक चालकले आफ्नी छोरीलाई अस्पताल लैजान खोजिरहेका थिए । प्रदर्शनकारीले उनीहरुलाई रोक्दा ती चालक आत्तिएर गाडी चलाइन् र प्रदर्शनकारीमाथि कुदाइन्, जसले गर्दा एक प्रदर्शनकारीको मत्यु भयो । आत्तिएको अवस्थामा चालकलाई प्रहरी हिरासतमा लिएको छ।

फ्रान्सको उत्तरपश्चिमी क्षेत्रमा रहेको ब्रिटानीमा प्रदर्शनका क्रममा मारिएकी ती प्रदर्शनकारीको सम्झनामा एक मिनेट मौन धारण गरेको बिबिसीले उल्लेख गरेको छ । ‘यदि कसैको ज्यान जान्छ भने प्रदर्शन असफल हुन्छ,’ फ्रान्सका आन्तरिक मन्त्री क्रिस्टोफर कास्टनरलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘हामी एकदमै चिन्तित छौं । क्षति रोक्न धेरै आवश्यक छ,’ उनले बताए । फ्रान्सका अन्य क्षेत्रमा पनि हताहतीका कैयौं समाचार बाहिरिएका छन् । जबरजस्ती सवारीसाधन रोक्दा चालकहरुको प्रतिक्रियाका कारण प्रदर्शनकारीहरु घाइते भएको बिबिसीले जनाएको छ।

उत्तरी फ्रान्सको अर्रासमा प्रदर्शनकारीले जबरजस्ती एउटा ट्रकलाई रोक्न खोज्दा रिसाएका चालकले बल प्रयोग गरी गाडी चलाउँदा एक ७१ वर्षीय प्रदर्शनकारीको मृत्यु भएको छ । यद्यपि चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यसैगरी उत्तरी सहर हेजब्रकमा पनि एक चालकले फुटपाथमा गाडी चलाउँदा दुईजना घाइते भएका छन् । त्यसैगरी फ्रान्सको पूर्वी सहर बेसान्कनमा पनि दुई जना प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीले रोकेको गाडी अनियन्त्रित भएर अरु गाडीसँग ठोक्किँदा ती प्रदर्शनकारी घाइते भएको बिबिसीले जनाएको छ । उता, स्ट्रासबर्गनजिकै रहेको सेलेस्टाटमा एक चालकले प्रदर्शनकारीको खुट्टामा नै गाडी दौडाइदिएको बिबिसीले उल्लेख गरेको छ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले देशका विभिन्न क्षेत्रमा अश्रुग्यास प्रहार गरेको छ । फ्रान्समा सबैभन्दा धेरै प्रयोग हुने डिजेलमा १२ महिनाको अवधिमा मात्रै २३ प्रतिशत मूल्य वृद्धि गरिएको छ, जुन २००१ देखि हालसम्मकै सबैभन्दा उच्च मूल्य वृद्धि दर भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App