७ वैशाख २०८१ शुक्रबार
कला

प्रदर्शनीमा जोशीको पौभा ‘कलायात्रा’

काठमाडौं – चारदशकदेखि पौभा कला कोर्न सक्रिय दिपक कुमार जोशीको पौभाको प्रदर्शनी सुरु भएको छ । गत मंगलबार संस्कृतिविद सत्यमोहन जोशीले ‘कलायात्रा’ शीर्षकको कला प्रर्दशनीको सुरुवात भएको थियो । मुख्य आयोजक नेपाल परम्परागत चित्रकला परिषदले सो क्रममा जोशीलाई चारलाख नगद, ताम्रपत्र तथा दोसल्ला सहित सम्मानसमेत गरेको थियो।

कलायात्रामा लामो समय सक्रिय रही पौभाकलाको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न योगदान गरेको भन्दै जोशीलाई सम्मान गरिएको मुक्ति थापाले बताए । पौभाको पुरानो शैलीलाई नै निरन्तरता दिने वा नयाँ शैली थप गरेर नयाँ पहिचान गराउने भन्ने दुइथरी पुस्ताबीचको विवाद कायमै रहेका बेला दुवैथरी एउटै छातामुनी बसेर अग्रजको बाटोलाई यसरी सम्मान गर्न सकेको उनले सुनाए । उनका अनुसार मौलिक नेपाली पौभाको इतिहास पन्द्रौ सताब्दी अघिदेखिको भएपनि तिब्बती थांकाका कारण बीचको कालखण्डमा ओझेल परेको थियो ।

तर काम गर्नेको निरन्तरता र नयाँ पुस्ताको आकर्षणले हराएको पौभाको पहिचान फेरि अगाडि आएको दाबी पौभा कलाकार उदयचरण श्रेष्ठको छ । ‘पौभामा समयान्तरमा हुँदै गएको परिवर्तन स्वभाविक हो,’ उनले भने, ‘तर परम्परागत कलाको संरक्षण गर्नु पनि नयाँ पुस्ताको दायित्व हो ।’ उनका अनुसार विश्वव्यापीकरणको असर कलामा पर्नु नौलो नभएको भन्दै आफ्नो मौलिक कला अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन अब संगठित भएरै अघि बढ्न कलाकार एकजुट भएका छन् । सदियौंदेखिको शैलीलाई जगेर्ना गरेर उत्थान गर्नु पर्नेमा सबै परम्परागत कलाकार सहमत छन् । तर कलामा नयाँ आयाम भित्र्याउन पौभामा समेत समसामयिकता भित्र्याएर नयाँपन दिन पनि अग्रसर हुनुपर्नेमा अब विवाद नरहेको कलाकारहरुले सो कला प्रदर्शनीका क्रममा उल्लेख गरे ।

सिधै देवताका चित्रलाई पौभाशैलीमा ढाल्नुभन्दा त्यसमा त्यो देवताले गर्ने क्रियाकलापको कथा बोल्नु जोशीका पौभाको विशेषता रहेको छ।

सिद्धिमुनी शाक्य जस्तो सिद्धहस्त कलाकारसँग सिकेको पौभा जस्ताको तस्तै नयाँ पुस्तामाझ ल्याउन सक्ने कलाकार जोशी रहेको श्रेष्ठले चर्चा गरे । पछि प्रेममान चित्रकारसँग पौभा सिकाइलाई जोशीले निरन्तरता दिएका थिए । सिद्धहस्त गुरुको चेला जोशीले आफ्नो सिकाइको अस्सी प्रतिशत नै क्यानभासमा उतार्न सकेकामा वयोवृद्ध गुरु चित्रकारले चिठी लेखेरै बधाइ दिएका थिए।

‘पौभा कला भर्ने औंलामा गनिने मात्र कलाकार थिए,’ कलाकार जोशीले सम्झिए , ‘अर्डर गरेको पौभा तयार गरेर बिक्रि गर्न लैजादा समेत भोलि ल्याउनु भनेर फर्काउथे ।’ बाह्य कलाको हस्तक्षेप बढ्दै गएका बेला पौभा गर्ने कलाकार हेलाका पात्र बन्ने गरेको उनले अनुभव सुनाए । तथापि केही कलाकारको निरन्तर काम गर्ने साहसले आज त्यो कालखण्डको कला जीवित रहन सकेको उनले बताए।

जोशी आफूमात्रै हैन नयाँ पुस्तालाई समेत कलाको ज्ञान बाड्न सक्रिय रहे । उनले बनाएको कलात्मक लोगोले पुरस्कार पाएपछि उनले नेपाल टेलिभिजनमा काम पाए । त्यो बेला उनले चलाएको ‘हेर, सिक र बनाऊ’ शीर्षकको कार्यक्रम हेरेरै धेरै कलाकार जन्मे । पौभा नामलाई प्राथमिकता दिदै उनले बनाएको डकुमेन्ट्रीले पौभालाई नेपाली कला समाजमा स्थापित गरिदियो।

उनकै कार्यक्रम हेर, सिक र बनाउन हेरेर कला कोर्न सिकेका कार्टुनिष्ट क्लबका अध्यक्ष अबिन श्रेष्ठ यसरी नै एक पुस्तालो अर्को पुस्तालाई कलाको आयाम हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिन्छन् । उनको हेर ,सिक र बनाउसँगै भाँडभैलो नामक पत्रिकामा छापिने कलात्मक चित्रबाट नै आफू कार्टुन बनाउने बाटोमा अग्रसर भएको उनले बताए । ‘परम्परागत कलाको सीपलाई उहाँले निखारिएको पारामा व्यंग्य चित्रमा उतार्नु हुन्थ्यो,’ श्रेष्ठले सम्झे, ‘त्यस्ले कार्टुनमा  बेग्लै स्वाद दिन्थ्यो।’

कला समीक्षक रमेश खनालले नेपाली मौलिक कलाको धरोहर पौभालाई विदेशका उच्च संग्रहालयमा पुग्ने गरी प्रचार प्रसार गर्नुपर्ने औंल्याए । जोशीको पौभाको समीक्षा गर्दै उनले भक्तपुरे र ललितपुरे पौभाको तुलनामा निकै भिन्नता रहेको बताए । ‘उहाँका पौभामा कथा बोल्छ,’ खनालले थपे, ‘कतै पार्वतीका कथा,कहिं मन्जुश्री अनि कहिँ आकाश योगिनी, बज्रयोगिनी लगायतका कथा पौभाले भन्छ ।’ सिधै देवताका चित्रलाई पौभाशैलीमा ढाल्नुभन्दा त्यसमा त्यो देवताले गर्ने क्रियाकलापको कथा बोल्नु जोशीको विशेषता रहेको उनको भनाइ थियो । जसका लागि जोशीले आइकोनोगाफ्री अर्थात पात्रको दार्शनिक पक्षको अध्ययनलाई निरन्तरता दिए।

खनालले भने झैं आफूले बनाउने हरेक पात्रको बारेमा गहन अध्ययन गरेर उसको वास्तविक चरित्रलाई उनले पौभामा सजीव बनाएका छन् । जोशीका हरेक कलाको गहन अध्ययन गर्ने हो भने छुट्टै पुस्तक लेख्न सकिने कला पारखीहरु स्वीकार्छन् । पुरानासँगै नयाँ पुस्ताको भीड उनको प्रदर्शनी हेर्न उपस्थित थिए । कात्तिक ३० गतेसम्म चलेको  प्रदर्शनीमा जोशीले पुराना कालखण्डमा बनाएकासँगै नयाँ पौभा हेरेर कला पारखी रमाएका थिए।

प्रकाशित: २ मंसिर २०७५ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App