४ वैशाख २०८१ मंगलबार
कला

अभिनय पढाउँदै सरोज खनाल

काठमाडौं – अभिनयमा दक्ष युवा जनशक्ति उत्पादन गर्न राजधानीको दरबारमार्गमा शनिबारबाट माला आर्टस् एकेडेमी सञ्चालनमा आएको छ । अभिनेता सरोज खनाल र उनको समूहले सञ्चालनमा ल्याएको एकेडेमीमा मंसिर १६ गतेबाट व्यावसायिक रुपमा अभिनयको पढाइ सुरु हुनेछ।

एकेडेमीकी अध्यक्ष चन्द्रमाला खनालले अभिनयको भोक मेटाउनका लागि एकेडेमीको सुरुवात गरिएको बताइन् । ‘धेरै पहिले मैले अभिनय गरेको नाटक हेर्ने दर्शकहरूले मात्र मलाई चिन्नुहुन्छ । तर अहिलेको पुस्ताले पक्कै मलाई नचिन्ला,’चन्द्रमालाले भनिन्,‘कलाको किराले टोकेपछि त्यसलाई छोड्न नसकिने रहेछ । त्यसकारण पनि हामी दिदीबहिनी मिलेर यो एकेडेमी सञ्चालनमा ल्याएका हौं।’

एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका अभिनेता सरोजले अभिनय सम्बन्धी केही कुरा सिकेर र देखेर नै एकेडेमी सञ्चालनमा ल्याएको बताए । ‘हामीलाई एकेडेमी किन ढिलो आयो भनेर सोध्छन् । तर हामीले यो छिटो ल्याएका हौं । किनभने अभिनयका विषयमा धेरै कुरा सिकिरहेका छौं । पूर्ण तयारीबिना एकेडेमी सञ्चालनमा ल्याउन नसकिने भनेर नै अहिले सुरु गरेका हौं,’सरोजले भने,‘हामीले एक वर्ष अघिदेखि नै एकेडेमीको सोच बनाएका थियौं । हाम्रो योजना नै अभिनयका अब्बल कलाकार उत्पादन गर्ने भनेर नै अभिनयलाई लक्षित गरेका हौं ।’ सरोजका अनुसार एकेडेमीमा बिहान र बेलुका दुई सिफ्ट गरी जम्मा ३० जना विद्यार्थीले अध्ययन गर्नेछन्।

एकेडेमीमा सूर्यमाला खनाल सहध्यक्ष र वीरेन्द्र हमाल अभिनय प्रमुख र सुवर्ण थापा आर्टिस्टिक डिरेक्टर छन् । हरिहर शर्मा, नीर शाह, विप्लव प्रतिक र कृष्ण धराबासी सल्लाहकार रहेको एकेडेमीमा गौरी मल्ल, दिनेश अधिकारी, सौगात मल्ल, प्रशान्त ताम्राकार, विकासराज आचार्य, दिवाकर भट्टराई, न्ह्यु बज्राचार्य र पुरुषोत्तम प्रधान गेस्ट स्पिकर छन् ।
कार्यक्रममा कवि बसन्त चौधरी, अभिनेता तथा निर्देशक भुवन केसी, शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, सनी रौनियार, सुनिल थापालगायतले एकेडेमीलाई शुभकामना दिएका थिए।

प्रकाशित: २ मंसिर २०७५ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App