coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मिलापत्रको मुख्य योजनाकार पत्रकार

आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्दै महिला सञ्जाल धरानको टोली ।

धरान–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा महिला सुरक्षा गार्डमाथि भएको यौन दुर्व्यवहारको घटनालाई मिलापत्र गराएको विवादास्पद प्रकरणमा एक पत्रकार मिलापत्रको मुख्य योजनाकार भएको आरोप लागेको छ।

घटनालाई मिलापत्र गराउदा साक्षी बसेको भनेर चर्को आरोप खेपिरहेको महिला सञ्जाल धरानले आइतबार पत्रकार सम्मेलन गर्दै साक्षी बस्नु गल्ती भएको स्वीकार गरेपनि मिलापत्रको डिजाइन अघिल्लो दिनमा नै पत्रकार चन्द्रमणि कट्टेलले गरेको महिला अधिकारकर्मीहरुले खुलासा गरिदिएका छन्। आफूहरु पीडितलाई न्याय दिलाउन निश्वार्थरुपमा लागेपनि विभिन्न व्यक्ति र समूहको स्वार्थको खेलमा सञ्जाल फसेको तर मिलापत्र गराउनुमा आफूहरुको कुनै भुमिका नभएको महिला अधिकारकर्मीहरुले जनाएका छन्।

 केटिएम सेक्युरिटीसँग विभिन्न व्यक्ति, समूहको स्वार्थ रहेको र उनीहरुको स्वार्थको चलखेलमा अनावश्यकरुपमा महिला अधिकारकर्मी फसेको सञ्जालकी सहसचिव मञ्जु भण्डारीले बताइन्। ‘केटिएम सेक्युरिटीसँग धेरै मान्छेको धेरै बिषय र स्वार्थ जोडिएको रहेछ, तर हामी निश्वार्थरुपमा पीडित बहिनीलाई कसरी न्याय दिलाउने भन्नेतिर मात्र केन्द्रित थियौं’, उनले भनिन्,‘हामीले सुटुक्क मिलाएका पनि होइनौं, सिडिओ, एसपी, बीपीका पदाधिकारी, अनेम संघ सबैको उपस्थितिमा पीडितले चित्त बुझाएपछि मात्र हस्ताक्षर भएको हो। हामी अदालत जान तयार थियौं, तर पीडितले नै न्यायको अनुभूति गरेपछि सहमति भयो।’ तर, अरुको स्वार्थ पूरा नभएपछि मात्र सञ्जालप्रति खनिएको उनले बताइन् ।
सञ्जालकी सदस्य सुनिता केसी राईले बीपी प्रतिष्ठानमा सिडिओको आह्वानमा बैठक हुनु अघिल्लो दिनमा नै पत्रकार चन्द्रमणि कट्टेल सहमतिको ड्राफ्ट बोकेर भेट्न आएको र पीडित, केटिएम, बीपी प्रशासनबीच कुरा मिलिसकेको छ भनेर घटनालाई मिलाउनतिर लागेको आरोप लगाइन्। ‘म र अध्यक्ष भएको ठाउँमा आएर चन्द्रमणी कट्टेलले ड्राफ्ट निकालेर कुरा मिलिसकेको छ, बहिनीहरु पनि मिल्न तयार भइसक्यो, बीपी प्रशासन पनि तयार छ भनेर अन्यो’, उनले भनिन्,‘पत्रकार नै मिलाउनुपर्छ भन्दै आएपछि हामी छक्क पर्यौं, र हामीलाई केही फरक पर्दैन, न्याय पाए भनेर पीडित मिल्छ भने मिलोस तर मिल्यो भनेर एक कल गर्दिनुस भन्यौं।’

महिला हिंसाको संवेदनशील बिषयलाई मिलापत्र भइसक्यो भन्दै पत्रकारले नै ड्राफट बोकेर आएपछि मिलापत्रतर्फ मोडिएको हुनसक्ने तर मिलापत्रमा सञ्जालको कुनै भुमिका नभएको पनि सञ्जाल पदाधिकारीहरुले जनाए । ‘प्रहरी प्रशासनले जाहेरी दर्ता गर्न नमानेको महिलाको संवेदनशील मुद्दालाई उठान गर्नुपर्ने पत्रकार नै मिलापत्र गराउन ड्राफट बोकेर आउछ, तर त्यसको दोष जति सबै महिला सञ्जाललाई मात्र लगाएर हुन्छ?’, सञ्जालकी उपाध्यक्ष सविता राईले भनिन्, ‘हामी सिडिओसँगको छलफलमा बसेर सही गर्नु गल्ती भयो, तर मिलापत्रको डिजाइन पहिल्यै भइसकेको थिएछ । हाम्रो कुनै भुमिका छैन। हामीलाई वलिको बोको बनाइयो ।’

सञ्जालकी सदस्य एवं महिला तथा बालबालिका विभाग संयोजक कोपिला भट्टराईले निःश्वार्थरुपमा पीडितलाई न्याय दिलाउन लागेपनि आफूहरुमाथि मात्र अनेक आरोप आएको भन्दै दुःख व्यक्त गरिन् । सञ्जालकी अध्यक्ष शिला बज्रचार्यले बज्रचार्यले केटिएम प्रमुख रामेश्वर साहले घटनाको जिम्मेवारी लिँदै माफी मागेर भविष्यमा यस्तो घटना दोहोरिन नदिने, कार्यक्षेत्रमा लैंगिक संवेदनशीलतालाई ध्यान दिने र महिला गार्डहरुको रोजगारीको सुनिश्चितता गर्ने भनेपछि पीडितले चित्त बुझाएको बताइन्।

अघिल्लो दिनमै ड्राफट बोकेर घटना मिलापत्र गराउन दौडधुप गरेका पत्रकार कट्टेलले आफूसम्बद्ध राजनीतिक दलको नेतृत्व र केटिएम प्रमुख साहबीचको छलफल हुँदा मिलापत्रको ड्राफट आफूले तयार गरेको स्वीकार गरे । तर, त्यो सहमतिको पालना नगरी भोलिपल्ट नयाँ सहमति बनेकोले मिलापत्रबारे आफू दोषी नभएको उनले जिकिर गरे। वैदेशिक रोजगारीबाट फर्किएका कट्टेल पुनः ब्लाष्ट टाइम्समा आवद्ध भएर पत्रकारितामा आएका हुन्। उनी माओवादी केन्द्रसम्बद्ध पत्रकार हुन् । वैदेशिक रोजगारीमा हुदा नै केटिएम प्रमुख साहसँग चिनजान भएको र पीडित पनि आफूसम्बद्ध दलमा भएकोले दुवैपक्षलाई छलफल गराउने वातावरण तयार गरेको उनले बताए ।

 

प्रकाशित: ९ आश्विन २०७३ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App