७ वैशाख २०८१ शुक्रबार
समाज

चितवनबाट बेपत्ता भएका युवक तेह्रथुममा भेटिए

चितवन- पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ का २४ वर्षिय युवक सुदिप सापकोटाले अष्ट्रेलियाको भिषा लागेको भनेर परिवारलाई भनेका थिए। मंसिर ४ गते विदेश जानको लागि हवाई टिकट समेत बुकिङ गरेका थिए। सोमबार बन्द रहने नारायणगढ बजार खुलेको पाएपछि बुबा गंगाप्रसादले गएको सोमबार किनमेलका लागि छोरालाई बोलाए।

मध्यान्नमा सुदिप नारायणगढ आईपुगेपछि गंगाप्रसाद र भानिजदाई मिलन कँडेल र उनी भएर सुदिपका लागि किनमेल गरे। किनमेल गरिएको सामानले भरिएको ठूलो सुटकेसलाई म्याजिक वसको छतमा राखेर छोरालाई गंगा प्रसादले गाडी चढाए।

गौरीगञ्जबाट निस्कने बेलामा गंगाप्रसादले सुदिपलाई दुई पटक फोन गरे। गाडी चढेकाले छोराले फोन नसुनेको होला भन्ने ठाने। क्याम्पस गेटकै बाटो फर्किदा छोरालाई नदेखेपछि घर गईसक्यो भनेर उनी मोटरसाइकलमा भाञ्जालाई लिएर घर पुगे।

घर पुगेको लामो समय पछि पनि सुदिप घर नआएपछि साँझदेखी नै छोराको खोजी गरेको उनी बताउँछन्। सुदिपलाई फोन गर्दा बेलुकीको सवा पाँच बजेको उनले बताए। त्यसको केही समयपछि मोबाईल अफ भयो। छोरा हराएपछि सोमबार राति नै प्रहरी कार्यालय पुगेर उनले निवेदन दिए। छोरा हराएपछि चिन्तित गंगाप्रसादले प्रहरी, साथि भाइ, आफन्तको सहयोग लिएर खोजी गरे। भोजाड हुँदै पदमपुर निस्कने बाटोमा पर्ने जंगलमा पनि खोजी गरिएको थियो।

गएको सोमबार साँझदेखी वेपत्ता भएका सुदिप शनिबार तेह्रथुममा भेटिएका छन्। भेटिएका युवकलाई लिन प्रहरी र परिवारको टोली तेह्रथुम गएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए। ‘युवकको खोजी कार्यका लागि खटिदाँ मोबाईल सीम हटाएर इन्टरनेट चलिराखेको पायौं’ उनले भने, ‘आईएमईआई नम्बरबाट ट्रयाक गर्ने प्रयास गरेपनि मोबाईलको लोकशन नै अफ गरिराखेको थियो।’

ब्लु हेभन गेष्ट हाउसको इन्टरनेट नेटवर्क कनेक्ट भएपछि खोजी गर्दा तेह्रथुममा भेटिएको उनले बताए। युवक मंगलबार नै होटलमा पुगेर बसेको पाईएको उनले जानकारी दिए। युवकले चलाउने ल्यापटपबाट अनुसन्धान गर्दा  अष्ट्रेलियाको भिषा भनेर देखाएको डकुमेन्ट नै नक्कली भएको भेटिएको उनले बताए। अष्ट्रेलिया जाने भनेर परिवारले सपिङ गरेर काठमाडौं जाने तयारी गरेका थिए। झुट बोलेको कुराले तनाव भएपछि घर छाडेर गएको हुनसक्ने प्रहरी नायब उपरीक्षक ज्ञवाली बताउँछन्।

 

प्रकाशित: १ मंसिर २०७५ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App