coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीयलाई नागरिकता दिएको विषयमा छानबिन सुरु

उदयपुर - उदयपुरबाट भारतीय नागरिकले वंशजको आधारमा नागरिकता प्रमाणपत्र लिएको विषयमा स्थानीय प्रशासनले छानबिन थालेको छ। सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेका दिलमोहम्मद की छोरी ३१ वर्षीया लजिना खातुनले जन्मसिद्ध नागरिकता पाएको विषयमा जिल्ला प्रशासन कार्यालय उदयपुरले शुक्रबारदेखि छानविन प्रक्रिया थालेको जनाएको छ।

भारतको मधुवनी जिल्ला लौकही थाना एकासी मझौराकी नसरुल मियासँग बिहे गरेको भनिएकी लजिनाले अबिबाहित रहेको भन्दै गत वर्ष नागरिकता प्रमाणपत्र लिएको पाइएपछि छानबिन थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताए। उनका अनुसार त्रिनपा १० मै जन्मेकी लजिनाले ०७४ मंसिर १३ गते अबिबाहितको रुपमा नागरिकता लिएको भेटिएपछि सत्यतथ्य पत्ता लगाउन छानबिन थालिएको हो।

तत्कालीन प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको ०५२३० नं. को नागरिकता दिनुअघि अभिभावकको अनुसूची फाराम, १० नं. वडा कार्यालयको सिफारिस, प्रहरीको गाउँ सर्जमिन मुचुल्का लगायत सबै प्रक्रिया पुगेको पाइएको छ। सिडिओ कार्कीले वडा कार्यालयबाट सिफारिस भएर आएको नागरिकता फाराम पुष्टि गर्न प्रहरी सर्जमिन मुचुल्का गर्न लगाएर मात्र नागरिकता दिइएको पाइए पनि विदेशीले लिएको भन्ने खवर पाएपछि छानविन थालिएको बताए।

उनका अनुसार प्रहरी सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्नेहरुबाट बयान लिन उनीहरुलाई बोलाउन पत्राचार गरिएको छ। सिडिओ कार्कीले वडा कार्यालयमार्फत उनीहरुलाई प्रशासनमा हाजीर हुन पत्राचार गरिएको र उनीहरुको बयानपछि वास्तविक कुरा पत्ता लाग्ने बताए।

०४४ वैशाख १५ गते जन्ममिति उल्लेख भएको लजिनाको प्रशासन कार्यालयको पिठमा अभिलेख कायम रहेको र १० नं. वडाध्यक्ष प्रकाशकुमार खड्काको सिफारिस पनि रहेको कार्कीले बताए। सबै कागजी प्रक्रिया पुगेको देखिए पनि नेपाली महिला विदेशी नागरिकसँग बिहे गरेर गईसकेको भन्ने खवर पाएपछि सक्कलै नागरिकता खिचेर छानविन थालेको उनले बताए। उनले विदेशीसँग बिहे गरेर गएको भए नागरिकता लिन नपाउने प्रावधान नेपालको कानुनले गरे अनुसार यथार्थ बुझ्न छानविन थालेको बताए।

 

प्रकाशित: १ मंसिर २०७५ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App