स्विट होम

जाडोमा झकमक्क फूल

शनिबार, ०१ मङि्सर २०७५, १६ : ०४ उपेन्द्र खड्का

70


जाडो मौसममा पनि घर तथा गार्डेन, अफिसलगायतमा सिजनल फूल फुलाउन सकिन्छ । मौसमी फूल फुलाएर घर तथा अफिसलगायतलाई जाडो मौसममा पनि बेहुली सिंगारे जसरी सिंगार्न सकिन्छ । जाडो सिजनमा बहुरंगी फूलका धेरै भेराइटी हुने भएकाले पनि आकर्षक मौसमी फूल फुलाउन सकिन्छ । गार्डेनको शोभा फूल फुलाएर परिवेश तथा वातावरण नै बेहुली तथा नवदुलाहीजस्तो झकिझकाउ बनाउन सकिन्छ । 

गर्मी सिजनका सिजनल फूलका बिरुवा रोप्ने समय सकिएसँगै जाडो सिजनका फूलका बिरुवा रोप्ने सिजन सुरु भएको हो । सामान्यतया असोज महिनादेखि जाडो सिजनका फूलका बिरुवाको सिजन सुरु हुन्छ । 

जाडो सिजनमा कतिपय बीउ उत्पादन तथा हुर्काउन, बढाउन पनि कठिन हुने भएकाले असोजदेखि मंसिर महिनासम्म अधिकांश जाडो सिजनका फूलका बिरुवा उत्पादन गरिन्छ ।

काठमाडौं उपत्यकालगायतका ठाउँमा सिजनल फूल रोपेर घरलाई सुन्दरता थप्ने शौख नेपालमा बढिरहेको छ । बढ्दो शहरीकरणसँगै घर तथा अफिसमा बगैँचा बनाएर घर तथा अफिसलाई आकर्षक बनाउने शौखिनको संख्या नेपालमा कम छैन । गमलामा समेत हाइब्रिड जातका सिजनल फूल फुलाएर आकर्षकरुपमा घर तथा अफिस सिंगार्न सकिने गमलामा आकर्षक फूल फूलाउने शौखिनको पनि कमी छैन । 

जाडोमा फूल टिक्छ

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठ जाडो सिजनका बिरुवालाई ब्याडमा बीउ राख्दादेखि नै विशेष ध्यान दिनुपर्ने बताउँछन् । जाडो सिजनमा फुल्ने बिरुवामा गर्मी सिजनको जस्तो रोगको संक्रमण तथा जोखिम नहुने भएकाले जाडो सिजनका सिजनल बिरुवा राम्रो फुल्ने बताउँछन्, उनी । श्रेष्ठ भन्छन्, ‘जाडो सिजनमा फुल्ने सिजनल फूलमा रोगको संक्रमण हुने सम्भावना कम हुन्छ । त्यसैले राम्रो फूल फुलाउन सकिन्छ ।’ श्रेष्ठका अनुसार गर्मी सिजनका सिजनल फूलका बोट तथा फूलको थुँगालाई पानीले बिगार्ने भएकाले फूलसमेत कम टिकाउ हुन्छ भने जोडो सिजनका फूलका बिरुवा तथा थुँगामा पानी कम पर्ने भएकाले फूलका बोट तथा थुँगा कुहिने सम्भावना कम हुन्छ । त्यसैले जाडो सिजनका फूल लामो समय टिक्छन् ।  

बानेश्वरस्थित रोजडेल नर्सरीका प्रकाश राई पनि जाडो सिजनका फूल गर्मी सिजनका फूलको तुलनामा टिकाउ हुने बताउँछन् । फूल लामो समय टिकाउनका लागि फूलको बिरुवामा पानी हाल्दा फूलको थुँगामा हाल्न नहुने राईको सुझव छ । जाडो सिजनका कतिपय फूल ६ महिनासम्प पनि आकर्षक फुल्छन् । 

पत्कर मल अमृत समान

कुनै पनि फूल फुलाउनका लागि हावापानी तथा वातावरण अनुकूल हुन त जरुरी हुन्छ नै मल–जल मिलाउन पनि आवश्यक हुन्छ । 

वनस्पति विज्ञ कुमार केसी भन्छन्, ‘सिजनल फूलका लागि बिरुवाका कुहिएका पात अमृतसमान हुन्छन् । कुहिएका पातलाई मसिनो बनाएर त्यसमा माटो फिटेर सिजनल बिरुवा रोप्ने हो भने अत्यन्तै सुन्दर फूल फुलाउन सकिन्छ ।’ केसीका अनुसार गड्यौले मल पनि सिजनल फूलका लागि अत्यन्तै राम्रो हुन्छ । गड्यौले मललाई भर्मी कम्पोष्ट पनि भनिन्छ । कम्पोष्ट मल घरमै बनाउन पनि सकिन्छ । घरमा खिएर गैरहेका तरकारीलगायतलाई कुहाएर कम्पोष्ट मल बनाउन सकिने केसी बताउँछन् ।  कीरा तथा गन्ध हटाउने औषधिसमेत कम्पोष्टमल बनाउँदा प्रयोग गर्न सकिन्छ । साना ड्रममा पनि कम्पोष्ट मल बनाउन सकिन्छ । कम्पोष्ट मलले बिरुवा तथा माटोलाई हानि नगर्ने भएकाले कम्पोष्ट मल अत्यन्तै राम्रो मल भएको हर्टिकल्चर विशेषज्ञको भनाइ छ । 

जाडो सिजनमा बिरुवाले बिस्तारै मल लिने भएकाले पनि बढी मल सहन सक्छन् । गर्मीमा जस्तो मल तातेर बिरुवालाई डढाउने जोखिम कम हुन्छ । मल सहन्छन् भन्दैमा आवश्यकता भन्दा धेरै हाल्न पनि हुँदैन । मल धेरै भयो भने पनि बिरुवा पहेँलो हुने डर हुन्छ । सामान्यतया एउटा हाइब्रिड जातको फूलको बोटमा दुई चम्चा पिना माटोमा मोलेर हाले पुग्छ । गाईको मल हो भने करिब छ महिना पुरानो भएको हाल्नु पर्छ । गाईको मल चार भाग माटोमा एक भाग हाल्दा राम्रै हुन्छ । थोरै–थोरै तर प्रत्येक महिनामा एक पटक मल हाल्नु सिजनल फुलका लागि राम्रो हुन्छ । 

जाडोका फूललाई जाडै सुन्दर 

जाडो सिजनमा फुल्ने फूलका लागि जाडो नै सुन्दरताको पक्ष हो । गर्मी नसहने सिजनल फूल नै जाडोमा फुल्ने गर्छन् । 
काठमाडौँको जोरपाटीस्थित ओम नर्सरीका प्रोपाइटर धनप्रसाद घिमिरेका अनुसार जाडो सिजनमा फुल्ने फूलको विशेषता जाडोमै फुल्ने किसिमको हुन्छ । त्यसैले जाडोमा फुल्ने किसिमका फूलका बिरुवाले केही हदसम्म जाडो  सहने बताउँछन्, उनी । जाडो महिनाको सिजनमा आकर्षक सिजनल फूल फुलाउन सकिने घिमिरेको अनुभव छ । 

हर्टिकल्चर विशेषज्ञका अनुसार असोज÷कात्तिक लगभग चैतसम्म जाडो सिजनमा फुल्ने फूलका बिरुवा रोपिन्छ भने वैशाखदेखि असोजसम्म गर्मी सिजनमा फुल्ने फूल रोपिन्छ ।

वनस्पति विभागका पूर्व वैज्ञानिक अधिकृत कुवेरजङ्ग मल्लका अनुसार जाडो सिजनमा धेरै प्रकारका हाइब्रिड जातका सिजनल फूल फुलाउन सकिन्छ । 

जाडो सिजनका फिटुनीया, प्यान्जी (पेन्सी), भ्यागुते (इटरनेम), डेन्थस, गजिनिया, भर्विना, सिनेरिया, कार्नेशन, रेनुक्स, क्यालेन्डुला (असर्फी)लगायत लोकप्रिय सिजनल फूल हुन् । लाहुरे (डालिया) फूल पनि आसोज, कात्तिकमा रोपेर आकर्षक फुलाउन सकिन्छ । 

जाडो सिजनका फूल सामान्यतयाः बीउ राखेको ६० दिन पछि फुल्छन् । जाडो सिजनमा कार्नेशन, भ्यागुते, पिटुनियालगायतका फूल लामो समयसम्म टिक्छन् भने क्यालेन्डुला छिटो फुल्ने सिजनल फूल हो । यो पनि लामो समयसम्म फुल्छ । 

हर्टिकल्चर विशेषज्ञका अनुुसार जाडो सिजनका फूलका बिरुवा हिमाल, पहाड र तराई तीनै क्षेत्रमा फुलाउन सकिन्छ । धेरै चिसो ठाउँमा भने असोज/कात्तिक महिनामै फूलका बिरुवा रोप्नुपर्ने वैज्ञानिक अधिकृत मल्लको सुझाव छ । धेरै तुसारो तथा हिउँ पर्ने ठाउँमा जाडो सुरु हुनु अगावै सिजनल फूलका बिरुवा रोपेर फुलाउनुपर्ने मल्ल बताउँछन् । धेरै चिसो हुने ठाउँमा चिसोले बिरुवा मर्ने जोखिम हुने उनको तर्क छ । 

जाडोमा सेट हाउस

भक्तपुरको कटुन्जेस्थित अग्रिम नर्सरी–२ का दीपक खड्का जाडो मौसममा पनि आकर्षक फूल फुलाउन सकिने बताउँछन् । खड्का भन्छन्, ‘नेपालका सबै क्षेत्रमा सिजनल फूलका बिरुवा उत्पादन गरेर फुलाउन सकिन्छ ।’ जाडो सिजनका सिजनल फूल फुलाउन भने केही ध्यान दिनुपर्ने खड्काको सुझाव छ । जाडो सिजनका बिरुवा उत्पादन गर्दा तथा फुलाउँदा सकभर प्लास्टिक (सिल्पोलिन) को सेट हाउस  (टहरो) बनाउनुपर्ने उनी सुझाउँछन् । सेतो प्लास्टिक हुनुपर्ने उनको सुझाव छ । सेतो प्लास्टिकले ब्याडमा घाम छिर्न सक्छ र तापक्रम पनि व्यवस्थापन हुन्छ । बिरुवामा हावा नछिर्ने किसिमले सेट हाउस बनाउनुपर्ने खड्काको सुझाव छ । खड्काका अनुसार जाडो सिजनका फूलका बिरुवा उम्रिन सामान्यतया एक हप्ता लाग्छ ।  उम्रिएको करिब २० दिनपछि बिरुवा सानो प्लास्टिकमा सार्नुपर्छ । बेलुकीको समयमा सारेर पानी हाल्दा बिरुवा मर्ने सम्भावन कम हुन्छ ।  

मलमा विशेष ध्यान 

जाडो सिजनका सिजनल फूलका बिरुवामा कुखुराको मल हाल्न सकिन्छ । कुखुराको मल कडा हुने भएकाले ताजा मल नहाल्दा राम्रो र धेरै पनि हाल्नु हुँदैन । 

जाडो मौसमका सानो बिरुवामा करिब सय किलो माटोमा एक किलो पिनाको धुलो हाल्न सकिन्छ भने गाईको मल वा अन्य कम्पोष्टमल सय किलो माटोमा पाँच किलो मल हाल्न सकिन्छ । मल भने कम्तीमा एक हप्ताअगाडि नै माटोमा फिटेर राख्नुपर्ने अग्रिम–२ का खड्काको सुझाव छ ।

सानो प्लास्टिकमा सारेको करिब तीन हप्तापछि बगैँचा वा गमलामा बिरुवा सार्न सकिने खड्का बताउँछन् । बिरुवा सारिसकेपछि राम्रोसँग जरा भिज्नेगरी पानी हाल्नु पर्छ । बीरुवामा मल थप्दा जरामा नपर्ने गरी बिरुवाको वरिपरी खनेर मललाई माटोले छोपिनेगरी हाल्नु पर्ने खड्काको सुझाव छ । 

कुनै पनि हाइब्रिड जातक सिजनल बिरुवामा युरिया, डिएपी तथा पोटास हाल्न नहुने बताउँछन्, मल्ल । फस्फोरसले बिरुवालाई फुल्न मद्दत गर्ने भएकाले फस्फोरस हाल्न सकिने बताउँछन् हर्टिकल्चर विशेषज्ञ । नाइट्रोजनले बिरुवालाई हरियो बनाउने भएकोले बजारमा पाइने नाइट्रोजन पनि प्रयोग गर्न सकिने बताउँछन्, केसी ।

जाडोमा होचा र बहुरंगी

सामान्यतयाः जाडो सिजनका बिरुवा गर्मी सिजनको बिरुवाको तुलनामा प्रायः होचा किसिमका हुन्छन् तर बहुरंगी हुन्छन् । जाडोले बिरुवा ढिलो पनि बढ्छन् । तर लामो समयसम्म टिक्छन् । जाडो सिजनका बिरुवा जाडो मौसममै फुल्ने भएकाले चिसोमा समेत फुल्न सक्छन् । धेरै चिसो तथा तुसारोका कारणले बिरुवा मर्ने सम्भावना हुने भएकाले बिरुवालाई सकेसम्म घाममा राख्नुपर्ने हर्टिकल्चर विशेषज्ञको सुझाव छ । सकेसम्म सेटहाउसमा राखेर सितबाट बिरुवालाई जोगाउन सकिन्छ घरको कौशी लगायतमा राखेर पनि बिरुवालाई तुसारोबाट जोगाउन सकिन्छ । भने प्लास्टिक ओडाएर पनि जोगाउन सकिन्छ । 

प्रिमुला, सिनेरिया, डेजीलगायतका फूल कम घाम लाग्ने ठाउँमा पनि फुलाउन सकिने अध्यक्ष श्रेष्ठ बताउँछन् । जाडो सिजनका फूललाई सामान्यतया कम्तीमा दुई घण्टा घामको आवश्यकता हुन्छ । 

तिनै क्षेत्रमा झकमक्क फूल 

तराई तथा पहाडी क्षेत्रमा जाडो सिजनमा आकर्षक फूल फुलाउन सकिन्छ । काठमाडौँ उपत्यकामा पनि जाडो सिजनमा हाइब्रिड जातका आकर्षक फूल फुलाउन सकिने बताउँछन्, केसी । उपत्यकामा हिउँदे सिजनका अधिकांश फूल फुलाउन सकिने बताउँछन्, मल्ल पनि । उपत्यकामा दस वर्ष अगाडिसम्म पनि चिसोले कतिपय बिरुवालाई क्षति गरेको पाइन्थ्यो । केही वर्ष यता भने काठमाडौं उपत्यकामा चिसोले बिरुवालाई क्षति गर्ने क्रम कम भएको केसीको अनुभव छ । तराई क्षेत्रमा पनि गर्मी सिजनमा जस्तो पानी जम्ने समस्या नहुने भएकाले जाडो मौसमका अधिकांश फूल फुलाउन सकिने बताउँछन्, हर्टिकल्चर विशेषज्ञ । तराई क्षेत्रमा हिउँदको सिजनमा शीतलहर पर्न सक्ने भएकाले प्लास्टिक आदिले बिरुवालाई हल्का माथिबाट छोप्नुपर्ने खड्काको सुझाव छ । हिमाली भेगमा पनि जाडो सिजनका बिरुवालाई आकर्षक फुलाउन जाडोबाट जोगाउनुपर्ने ओम नर्सरीका घिमिरेको सुझाव छ । हिमाली क्षेत्रमा पनि जाडो सिजनका सिजनल फूल आकर्षक रुपमा फुलाउन सकिने घिमिरे बताउँछन् । 

नेपालमा मौसमी फूलका शौखिन बढिरहेको देखिन्छ । आधुनिकरुपमा उचित ज्ञान तथा सीपको कमीले घर तथा बगैँचामा आकर्षक फूल फुलाउन तथा सिँगार्न भने तालिमको आवश्यकता रहेको देखिन्छ । सम्बन्धित निकायले आकर्षक फूल फुलाउने ज्ञान, सीप तथा तालिम र फूल तथा गार्डेनिङको सिंगरपटार सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ । 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...