८ वैशाख २०८१ शनिबार
समाज

आठ करोडको गाँजा प्रहरीले फडानी गर्‍यो

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न वडामा लगाइएको करिब ८ करोड मुल्य बराबरको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ। मरिण गाउँपालिकाको विभिन्न वडामा लामो समयदेखि अवैध रुपमा गाँजा खेती गरिँदै आएको सुराकीबाट जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो।

मरिण गाँउपालिकाको वडा नं. ३ को बरुण भलायोमा २१ विघा जमिनमा र वडा नं. १ को टुडिखेल र बेदपानीमा ४ विघामा गरी २५ विघा जमिनमा लगाइएको अवैध गाँजा खेती नष्ट गर्न प्रदेश प्रहरीबाट २५ जना प्रहरी सहित जिल्ला प्रहरी कार्यालयको टोली उक्त क्षेत्र पुगेके थियो। गाँजा खेतीबारे जानकारी लिन प्रहरीले एकसाता लामो अनुसन्धान समेत गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। २५ विघा जमिनमा लगाइएको गाँजा फडानीका लागि लागुऔषध नियन्त्रण ब्युरोका कपिल कार्कीको नेृत्वमा समेत टोली पुगेको थियो। 

व्यवसायीक रुपमा गाँजा खेती गर्दै आएका स्थानीयलाई प्रहरीले गाँजा फडानी गरेपछि परिवारकै विचल्ली हुने र आयस्रोत अन्य केहि नभएको भन्दै भोकै बस्नुपर्ने अवस्था रहेको सुनाएका थिए। गाँजा खेती गरिएको स्थानमा प्रहरी पुग्नेवित्तिकै घरमा रहेका पुरुष जति सबै भागेको र केही महिला बालबालिका तथा वृद्ध मात्रै भेटिएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख इन्स्पेक्टर जयदेव माझीले जानकारी दिए। प्रहरीलाई देख्नेवित्तिकै सबै युवा पुरुष भागे, उनले भने,‘हामी पुग्दा केहि वृद्ध पुरुष बाहेक अन्य  पुरुष भेटिएन्।

यहाँको मरिण गाउँपालिकाको विभिन्न वडा र हरिहरपुरगढी गाउँपालिकाका केही वडामा व्यवसायीक रुपमै गाँजा खेती हुँदै आएको छ। सदरमुकाम बाहेक अन्य बाटो प्रयोग गरि गाँजा सप्लाई गर्न सकिने भएकाले त्यस क्षेत्रका विकट गाँउमा गाँजाको व्यवसायीक खेतीनै हुने गरेको र प्रहरीले जानकारी पाएपछि फडानी गर्ने गरेको स्थानीय बताउछन्। यसअघि पनि अघिल्ला वर्षहरूमा यहाँको हरिहरपुरगढीस्थित क्यानेश्वरमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको थियो। मरिण गाउँपालिकाको विभिन्न वडामा प्रहरीले फडानी गरेको गाँजा विकासे चिप्पड रहेको लागूऔषध नियन्त्रण व्युरोबाट आएका कपिल कार्कीले जनाए।

प्रकाशित: १ मंसिर २०७५ ०७:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App