८ वैशाख २०८१ शनिबार
अन्य

जंगलमा ‘नाइट स्टे’

मान्छेका चाहना विभिन्न किसिमका हुन्छन् । त्यसमध्ये पनि अधिकांश मानिस प्रकृतिसँग रमाउन चाहन्छ । प्रकृतिलाई नजिकबाट नियाल्न लालायित हुन्छ । म पनि त्यस्तै मध्येको एक हुँ । मलाई पनि प्रकृतिसँग खेल्न, रमाउन मन पर्छ।

१४ कात्तिकमा संरक्षणकर्मी तथा गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरीको फोन आयो । उनले जंगलमा दुई दिन ‘नाइट स्टे’ गर्ने कुरा गरे । रुघाखोकीका कारण दुई दिनदेखि म बिदामा थिएँ । रुघाखोकीले भर्खरै उत्रिन लागेकाले जानेनजाने भन्नेबारे अन्योलमा थिएँ । जंगलभित्र दुई रात बिताउने कुराले मनमा कौतूहलता भने जगायो । किनभने जंगली जनावरलाई नजिकबाट नियाल्न पाइने कुराले मैले जाने निधो गरेँ।

हामी बाँके राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर कार्यालयमा जम्मा भयौं । खासमा नेचर गाइडहरूका लागि रहेछ, त्यो नाइट स्टे । बाँके निकुञ्जमा पाटेबाघको संख्यामा वृद्धि भएसँगै सबैको चासोको विषय बनेको छ । अब यहाँ पाटेबाघका विषयमा अध्ययनअनुसन्धान र पाटेबाघलाई हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । उनीहरूलाई जंगल घुमाउन पहिले नेचर गाइडहरू तयार हुनुपर्ने भएकाले ‘रुट फाइन्डिङ’ र जंगली जनावरहरूको अवस्थाका विषयमा जानकारी गराउने उद्देश्यले ‘डेमोस्टे«सन’ गर्ने जस्तो कार्यक्रम रहेछ । यद्यपि यो नाइट स्टेको मुख्य उद्देश्य भनेको नेचर गाइडलाई व्यावसायिक बनाउनका लागि थियो।

खड्कवार र महादेवाबीचकोे जंगलमा बाटो बिर्सेर हामी रनभुल्ल प¥यौं । हराइने पो हो कि भन्ने चिन्ता लागेको थियो।

हामीलाई जंगलभित्र के गर्ने के नगर्ने भन्नेबारे बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरी (हाल सरुवा), जेडएसएल बाँके बर्दिया कम्प्लेक्सका पवन गौतम र राष्ट्रिय प्रकृति संरक्षण कोष बाँके बर्दिया कम्प्लेक्सका लक्ष्मीराज जोशीले जानकारी गराए । जंगलभित्र आफ्नै ‘रिस्क’मा जाने हो । त्यहाँ कुनै दुर्घटना भइहाले जिम्मेवारी आफैं हुनुपर्ने भएपछि एकातिर डर भने छँदै थियो । बाघ, हात्तीसँग जम्काभेट भयो भने के गर्ने भन्नेबारे जानकारी भए पनि जंगलभित्र के हुने हो भन्ने मनमा त्रास थियो।

हामी २४ जनाको टोली आफूलाई चाहिने सरसामान (स्याउ, केरा, चाउचाउ, स्लिपिङ ब्याग, टेन्टलगायत) बोकेर जंगल लाग्यौं । हामी शक्तिनगरबाट जंगल प्रवेश ग-यौं । करिब अपरान्ह ४ बजिसकेको थियो । हाम्रो आजको बसाइँ थियो, स्यालमारे । हामीलाई स्यालमारे ७ बजेसम्म पुगिसक्नु पर्ने थियो । किनभने रातिमा वन्यजन्तुको अलि बढी डर हुने भएकाले हाम्रो पाइलाको गति तीव्र बन्दै थियो । हिँड्ने क्रममा गिद्देनीचौर घाँसे मैदानको अवलोकन ग¥यौं । त्यहाँस्थित पक्की मचानमा चढेर साथीहरूले तस्बिर लिए।
०००

अहिले यो सहरिया बसाइँले मान्छेलाई बिगारिसकेको छ । नजिकै जाँदा पनि मोटरसाइकलमा खुर्रर जाने बानीले हिँड्ने जाँगर हराउँदै जान थालेको छ । त्यसको सिकार म पनि भएँ । करिब ८ किलोमिटर हिँड्दा सयौं किलोमिटर हिँडेजस्तो भान भयो । हातखुट्टा, जीउ दुखेर हैरान । स्यालमारे कहिले आउला भन्ने भइसकेको थियो । हिँड्दै जाने क्रममा सिबिएपियु अध्यक्ष भीम डाँगीले स्यालमारेको कथन सुनाए । उनका अनुसार स्यालमारे भन्ने ठाउँमा स्याल मरेको भेटिएको थियो रे । जंगलको यति माथि स्यालहरू आउन नसक्ने भए पनि एउटा स्याल मरेको भेटिएपछि यस ठाउँलाई स्यालमारे भनिएको हो रे भन्ने उनले सुनाए । खैर जेसुकै होस्, स्यालमारे पुग्ने क्रममा हामीले विभिन्न वन्यजन्तुका पाइला देख्यौं । चौका, हात्ती, पाटेबाघको दिसा पनि देख्न पाइयो । जंगलको बीचतिर पुग्ने बेला टोलीको नेतृत्व गरिरहेका कृष्ण चौधरीले वन्यजन्तु भाग्ने वा आक्रमण गर्न सक्ने भएकाले हल्ला नगर्न र कुरा गर्नै परे सासले कुरा गर्न भनेपछि हामी सासले मात्रै कुरा गर्न थाल्यौं । स्यालमारेको खोलामा ताजै वन्यजन्तुका पाइला थिए।

हामी स्यालमारे मचान पुग्दा करिब साढे ७ बजिसकेको थियो । यद्यपि यतिबेलासम्म हामीले कुनै पनि जनावर देखिसकेका थिएनौं । साँझको खानाका रुपमा आफूसँग लगेका बिस्कुट, स्याउ, केरा खायौं । महिलाहरुलाई मचानको माथिल्लो भागमा टेन्टमा सुताइएको थियो । हामी भने तल्लो तलामा सुत्यौं । जंगलमा यसरी कहिल्यै नसुतेको मलाई एकदमै डर लागिरहेको थियो । धेरै थियौं तर पनि विभिन्न किसिमका डरहरुले मनमा डेरा जमाएको थियो । स्लिपिङ ब्यागभित्र सुत्दा जाडोको आभास भने भएन । रातको करिब ९ बज्न थालेको थियो । टाढा कतैबाट स्याल कराएको आवाज सुनियो । अनि सुनिन थाले विभिन्न वन्यजन्तुका आवाजहरु । चौका, जरायोलगायतका आवाज सुनिए । रातिको समय खोलामा पानी खान आएका  जनावरको आवाज सुनिन्थ्यो । हेर्न भने पाइएन । किनभने मचानबाट खोलामा सहजरुपमा देखिँदैनथ्यो । फेरि रातको समय भएकाले पनि त्यो सम्भव भएन । हामीलाई पहिल्यै भनिएको थियो, मचान तल नझर्नु भनेर । हामीलाई सबैभन्दा मुख्य समस्या शौचको देखियो । यदि मचानमाथिनै शौचालयको व्यवस्था गर्न सकेको भए धेरै सहज हुने रहेछ।
०००

१५ गते बिहानै निद्रा खुल्यो । धेरै पछिको लामो हिँडाइले मेरो बायाँ खुट्टा राम्रोसँग चलाउन नमिल्ने भएछ । मुभ लगाएपछि हल्का चलाउन मिल्ने भयो । तर, दुखाइ भने असह्यैजस्तै थियो । खोलामा वन्यजन्तुका पाइला देखियो । नेचर गाइडहरूका अनुसार ती पाइला मृग प्रजातिको थियो । हामी त्यहाँबाट फेरि लाग्यौं । अबको हाम्रो गन्तव्य थियो, खैरी मचान । जो स्यालमारेबाट झण्डै ४० किलोमिटरको दूरीमा थियो । हामी खड्कवारको जंगल हुँदै हिड्यौं । फायरलाइन भएकाले बाटो भने सहज नै रहेछ । तर, एक ठाउँ भने हामी हराएका जस्तै भयौं । खड्कवार र महादेवाबीचको जंगलमा बाटो बिर्सेर रनभुल्ल प¥यौं । अब के गर्ने हराइने पो हो कि भन्ने चिन्ता लाग्न थालेको थियो । हामी खैरी मचान पुग्न सकिन्न भन्ने लाग्यो । त्यसमाथि त्यो बाटोमा बाटैभरी लटेकुरो (स्थानीय भाषामा)ले हैरान बनायो । मेरो टिसर्ट काम नलाग्ने गरेर बिग्रियो ।  हिँड्नै नसकिने अवस्था र बाटो बिर्सनु हाम्रा लागि दुर्भाग्य बन्दै थियो । हामी हात्तीको दिसा पछ्याउँदै बाटो खोज्दै थियौं । डर भने लागिरहेको थियो, दिसा पछ्याउँदै जाने क्रममा हात्तीसँग पो झम्काभेट हुने हो कि भन्ने थियो । त्यसमाथि मेरो टाउको दुखेर फुट्लाझैं भयो । औषधि खाएपछि भने अलि सहज भयो । यसबीचमा हामीले जरायो, बँदेल, चौका हेर्ने मौका पायौं । तर, आशा गरेजस्तो भने भएन । सायद धेरैजना भएर पनि वन्यजन्तु नदेखिएको हुन सक्छ।

बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ पुगिसकेका छन् । त्यस्तै आहारा प्रजातिका वन्यजन्तु पनि धेरै मात्रामा छन् । अब यहाँ पर्यटकको आगमन पनि बिस्तारै हुँदैछ । र, हुन्छ पनि । त्यसैले पर्यटकलाई घुमाउनका लागि सहज वातावरण हुनुपर्छ । निकुञ्जले रुट सफा गर्ने, झाडीहरु हटाउने, विभिन्न ठाउँमा कुरो, काँडाहरु छन् । त्यस्ता कुरो, काँडाहरुले हिँड्नलाई असहज हुन्छ । यस्ता विषयमा निकुञ्जले ध्यान पु-याउनै पर्छ।

दिउँसोको २ बजिसकेको थियो । आफूसँग लगेको पानी सकिएको थियो । पानी प्यासले हैरान बनायो । नजिकै भैँसी चराउन लागेको स्थानीय देखेपछि भने आश जाग्यो । हामी महादेवा पुग्नुपर्ने अर्को ठाउँबाट तर, अर्कै ठाउँबाट निस्केका रहेछौं । खोलामा पानी मूल रहेछ । त्यहीँ पानी खायौं र बोतलमा पानी भ¥यौं । सबैलाई हिँड्न सकिन्न भन्ने लाग्यो हामी बल्ल महादेवा पुगेका थियौैं, जुन ढकेरी नजिक हो । खैरी मचान पुग्न नसकिने देखियो । त्यसपछि बाँके राष्ट्रिय निकुञ्जसँग सम्पर्क गरेर गाडी मगायौं । र, अर्को गाडी भने कृष्ण चौधरीले मगाए । हामी हिँडेर बुच्चापुर पुग्यौं । हामीलाई लिन गाडी बुच्चापुर आइपुगेको रहेछ । बुच्चापुरबाट गाडीमा हामी खैरी मचान पुग्यौं । दूरीका हिसाबले हेर्दा हामी खैरी मचान हिँडेर धेरै समय लाग्ने रहेछ।

खैरी मचान पुगिसकेपछि गाडीले भाँडाकुडी र खाने सरसामान ल्याएको रहेछ । तीन छाक खाना नखाई स्याउ, केरा, चाउचाउ खाएका हामीलाई खाना खान पाउनु निकै खुसीको कुरा थियो । साँझको खाना खैरी मचानमा पकाएर खाइयो । खैरी मचानमा हावा भने एकदमै धेरै लाग्दो रहेछ । स्यालमारे भन्दा धेरै राम्रो रहेछ । पहाडको काखमा रहेछ खैरी । यहाँबाट खोला सहजै नियाल्न सकिन्थ्यो । अन्य क्षेत्रभन्दा यहाँ बाघ, हात्ती र अन्य आहारा प्रजातिका जनावर धेरै पाइने भनेर भनिएको ठाउँ हो । राति दुई पटक बाघ कराएको आवाज सुनियो । हात्तीले रुखहरू भाँचेको सुनियो । अन्य जनावर नभए पनि खैरी मचानमा हात्ती भने पक्कै आउँछ भन्ने लागेको थियो । तर, हात्ती आएन । मान्छेको गन्धले पनि नआएको हुन सक्छ । त्यस रात मुगुवा खोलाको मचानमा हात्ती बथान गएको बिहान थाहा पायौं । बिहानै मुख धुन जाने क्रममा हामीले चित्तलका बथान देख्यौं । करिब २०÷२५ को संख्यामा चित्तल चरिरहेका थिए । शौच गर्न गएका हाम्रै टोलीका एक साथी बाघ भन्दै दौडेर आए । हामी सजग भयौं । खोलामा भएका केही साथी पुनः हेर्न जाँदा त्यहाँ एउटा बाँदर रहेछ । बाँदरले कराएको आवाजलाई उसले बाघ सम्झिएछ । साथीहरूमाझ हाँसो फैलियो।

प्रकाशित: १ मंसिर २०७५ ०५:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App