१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगका दोस्रो चरणका खेल आजबाट

फाइल फाेटाे

काठमाडौं – पाँच वर्षपछि राष्ट्रिय टोलीको बलियो मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग हुँदा १४ क्लबले २०७५ को सिजनका लागि सहभागिता जनाएका छन्।

विविध कारण देखाउँदै समयमा हुन नसकेको लिग अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएसँगै सञ्चालन भएको हो । यसपालिको  लिगमा यसको मूल मर्म रेलिगेसन नहुने प्रावधान भने हटाइएको छ । तर टोल कपमा सीमित खेलाडीका लागि आफ्नो योग्यता प्रमाणित गर्ने अवसर मिलेकोमा उनीहरू उत्साहित छन्। 

१४ टिमको सहभागिता रहेको प्रतियोगिताका दोस्रो चरणका खेलहरु आजबाट पुनः सञ्चालन हुँदै छन् । पहिलो चरणका खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएका थिए । दोस्रो चरणका खेल भने एन्फा मैदानका साथै हलचोकस्थित एपिएफ क्लबको मैदानमा हुनेछन्।

अाजदेखि हुने दोस्रो चरणकाे पहिलो खेलमा मनाङ मर्स्याङ्दी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल हलचोक मैदानमा बिहान ११ बजे शुरु हुनेछ । शनिबार नै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो चरणका खेल समाप्त हुँदा साबिकको विजेता मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा छ । यस्तै विजयी सुरुआत गरेका नेपाल पुलिस, संकटा र थ्री स्टार क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । प्रतियोगितामा पुलिसले जावालाखेल युथ क्लबलाई १–० ले पराजित गर्दा संकटाले सरस्वतीलाई पनि १–० ले नै पराजित गरेको छ भने  थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ को अन्तरले पराजित गरेको छ।

‘मोफसलका खेलले धानिरहेको बेला लिग हुनु हामी खेलाडीका लागि निकै फाइदाजनक हो । गोल्ड कप प्रतियोगितामा सीमित बनेका हामी लिग सुरु भएपछि क्लबका लागि गम्भीर भएका छौं।’

उता दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी क्लबले क्रमशः गोलरहित र २–२ को बराबरी खेल्दै अंक बाँड्दा हिमालयन शेर्पा, मच्छिन्द्र फुटबल तथा न्युरोड टिम (एनआरटी) र पहिलो पटक सहभागिता जनाएको च्यासल युथ क्लबले पनि बराबरी खेल्दै अंक बाँडेका हुन् । यस्तै फ्रेन्ड्स, जावालाखेल युथ, सरस्वती युथ  र ब्रिगेड ब्वाइज (बिबिसी) ले आफ्नो पहिलो खेलमा पराजय भोग्दै अंक गुमाएका छन्।

सबै टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा बलिया मानिएका टोली मनाङ, थ्री स्टार, पुलिस र संकटाले स्वाभाविक खेल खेल्दै दसैं मनाउने छुट्टी सुखद बनाएका थिए । विभागीयमध्येका पुलिसबाहेक आर्मी र एपिएफले जितको स्वाद लिन सकेनन्।

रेलिगेसन नहुने भन्दै एन्फाले नियमावली खुकुलो पारे पनि सबै क्लबमा एथेष्ट खेलाडी भने नपुगेको कतिपय क्लबका पदाधिकारीले बताउँदै आएका छन् । उनीहरूले उमेरसमूहका केही खेलाडीलाई टिममा सहभागी गराउँदै टोलीको संयोजन गरेका छन् भने केही पाका खेलाडीलाई स्थान दिएका छन् । अर्कोतर्फ केही क्लबले विदेशी खेलाडीलाई अनुबन्धित गरेका छन् भने केही क्लब विदेशी खेलाडी ल्याउने प्रक्रियामा छन् । प्रतियोगितामा मनाङसहित थ्री स्टार, फ्रेन्ड्स, संकटा, सरस्वतीले विदेशी खेलाडी अनुबन्धित गरिसकेका छन्।

अर्को पक्ष केही क्लबको लगानी ठूलै देखिएको छ भने उनीहरूका लागि प्रायोजकको पनि राम्रो व्यवस्था छ । सहभागीमध्ये केहीले प्रायोजक पाएका छन् भने केही प्रायोजकको खोजीमा  छन् । केहीलाई प्रायोजक पाउन धौधौ भएको छ । मनाङ, थ्री स्टार, त्रिभुवन आर्मी, एपिएफ, संकटा, फ्रेन्ड्स, हिमालयन शेर्पा, च्यासल युथ क्लब, जावालाखेलले प्रायोजक पाएका छन् भने सरस्वती, मछिन्द्र, ब्रिगेड ब्वाइज, न्युरोड र पुलिस क्लबले पहिलो चरणको खेलसम्म प्रायोजक भेटेका छैनन्।

लामो समयपछि भएको ‘ए’ डिभिजनमा खेलाडी, प्रशिक्षक तथा रेफ्रीमा उत्साह देखिएको लिगका निर्देशक सञ्जीव मिश्रले बताए।

‘लिगको माहोल ट्रफी टुरदेखि सिर्जना भयो । सामाजिक सञ्जालदेखि  सञ्चारमाध्यमले लिग आयोजना गर्न हौसला प्रदान गरे,’ निर्देशक मिश्रले भने, ‘रेलिगेसन नहुने भए पनि अंक घट्ने डरले सहभागी क्लबले मिहिनेतका साथ खेलेका छन् । राम्रो पक्ष भनेको सबै क्लबले पूर्व र राष्ट्रिय खेलाडी पाएका छन् । सबै क्लबमा राष्ट्रिय टोलीका खेलाडी छरिए।’

‘पहिलो पटक हामीले लिगमा ४ विदेशीमध्ये १ दक्षिण एसियाका खेलाडी हुनुपर्ने प्रावधानलाई लागू गरेका छौं,’ मिश्रले थपे, ‘क्लबका प्रशिक्षकको कम्तीमा पनि ‘बी’ लाइसेन्स हुनुपर्ने प्रावधान पनि यसै लिगबाट सञ्चालनमा आएको छ।’
खेलाडीको बिमादेखि खेल्न योग्य छ भन्ने डाक्टरको सिफारिस पनि यसै लिगबाट सुरुआत भएको छ । यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान विराज मर्हजनले लिगबाट खेलाडीमा उत्साह थपिएको बताए।

‘मोफसलका खेलले धानिरहेको बेला लिग हुनु हामी खेलाडीका लागि निकै फाइदाजनक हो,’ कप्तान तथा मनाङका रक्षक महर्जनले थपे, ‘गोल्ड कप प्रतियोगितामा सीमित बनेका हामी लिग सुरु भएपछि क्लबका लागि गम्भीर भएका छौं।’

लिगका दुई खेलपछि नै एन्फाले लिगको तालिकाअनुसार खेल सञ्चालन गर्न नसक्ने सूचना प्रकाशन  गर्यो । बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा नेपालको सहभागिता हुने पक्का भएपछि पूर्व प्रकाशित तालिकामा हेरफेर भएको थियो । तर साबिक विजेता नेपालको बंगबन्धु सहभागिता समूहचरणमै सीमित भएपछि दशैंअगाडि पहिलो चरणका खेल सक्ने उद्देश्य सम्भव बन्यो । बंगबन्धु सहभागिताको विषयलाई लिएर केही क्लबका पदाधिकारीले परिपक्व निर्णय लिन नसेकेको भन्दै एन्फाको आलोचना गरेका थिए।

यो संस्करणमा लिगका लागि प्रायोजन बढेको छ भने प्रत्येक टिमले तयारी खर्चस्वरूप २० लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो चरणका खेल अब पाँच हप्तापछि हुनेछ । मंसिरसम्म सञ्चालन हुने लिगको पुछारमा रहने दुई टिमको क्रमश २ र १ अंक घटाइनेछ।

प्रकाशित: १ मंसिर २०७५ ०४:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App