८ वैशाख २०८१ शनिबार
अन्य

लुकेको हिरा

चारैतिर लहलह सुनौला धानबाली । खेतमा धान काटिरहेका किसान । काठमाडौंबाट पहिलो पटक पदयात्रामा आएकी ११ बर्षे नानी धानबालीमा चुलबुल गर्दै फोटा खिच्न थालिन् । उनी मात्र होइन सबै पदयात्रीले स्मार्ट फोनमा ति दृश्यहरू कैद गरे । कोही धानबालीमा पसेर, कोही धान काट्दै त कोही डोको बोकेर।

प्रकृतिको सौन्दर्यमा नरमाउने को होला र ! आखिर हामी सबै प्रकृतिकै सन्तान न हौं, प्रकृतिको काखमा पुग्ने वित्तिकै रमाउँछौ।

तर शहरीकरणले काठमाडौंमा हत्तपत्त यस्ता दृष्य देख्न पाईदैन । अझ हाम्रो नयाँ पुस्ता त कृषिकर्म र प्रकृतिबाट टाढा छ । त्यसैले हामीले खेतीयोग्य फाँटलाई जोगाउनु पर्छ अन्यथा भावी सन्तती यस्तो सौन्दर्यबाट बञ्चित हुनेछ।  
टोखाको साङ्लाफाँटको धनबालीमा हामी सबै रमायौं । काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा पर्ने टोखा (१४०० मिटर) प्राचीन नेवार बस्ती । ‘टोखा’ नामको विषयमा किंवदन्ती छ । पहिले गाउँमा धेरै फाँट थिए जहाँ उखु खेती गरिन्थ्यो । नेपाल भाषामा ‘टु’को अर्थ उखु र ‘ख्यः’को अर्थ फाँट । पहिले–पहिले गाउँलाई ‘टुख्यः’ भनिन्थ्यो । पछि अपभ्रंस हुँदै टोखा भन्न थालियो।

टोखामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्न सकिन्छ । यतिबेला चाकु खाँदै, सेता हिमाल हेर्दै वनको छहारीमा रम्दै पदयात्रा गर्दा शरिरमा ऊर्जा र ताजापन मिल्छ।

उखुबाट सख्खर बनाइन्छ । सख्खरबाट चाकु । टोखामा चाकु त अहिले पनि बन्छ तर उखु खेती भने  हराउँदै गएको छ । जाडो महिनाको सुरुसंगै शरिरलाई तातो गराउने खानेकुराको माग बढ्दै छ । चाकुले शरिरलाई न्यानो बनाउँछ, बल दिन्छ । त्यसैले जाडो याममा चाकु खाने गरिन्छ । टोखामा अहिले कात्तिकदेखि माघसम्म बढी चाकु बनाइन्छ।

टोखाले चाकु गाउँको चिनारी बनाएको छ । चाकु मात्र होइन, यहाँको च्यूरा पनि प्रख्यात छ।

टोखाका अधिकाँस वासिन्दा कृषिकर्ममा छन् । सिर्कमी, डकर्मी र नकर्मीहरूको गाउँसमेत भनिन्छ टोखालाई । उनीहरू कलात्मक घर बनाउने काममा पोख्त छन्।

टोखा एक खुल्ला संग्रहालय हो । प्राचीन नेवार बस्ती भएकाले नेवार समुदायको रहनसहन, कला, संकृति परम्परा आदिको अध्ययन गर्न सकिन्छ टोखामा।

शिवपुरी निकुञ्जको फेदमा रहेकाले वातावरण स्वच्छ हुन्छ । हरियो डाँडा मुनिको बस्ती । नेवार शैलीका घरहरू, पाइलैपिच्छे मन्दिर, दह, पोखरी, पाटीपौवा, ढुंगेधारा अनि खेतीयोग्य जमिन । अन्यत्रका नेवार बस्तीमा झैं टोखामा पनि प्रवेश द्धार छन् । उहिले सुरक्षाका लागि बनाएका ढोका । त्यहाँ पाँचवटा प्रवेश द्धार छन्।

टोखा धर्म र इतिहासको दोभान हो । गाउँमा लिच्छिवी संवत ५१९ को शिलालेख छ । अंशुवर्माले जीर्णोद्वार गरेको चण्डेश्वरी मन्दिर पनि छ।

शिवपुरी राष्ट्रिय निकुञ्जको बफर जोनमा रहेको टोखा प्राकृतिक हिसाबले सुन्दर छ । हरियाली, खेतीयोग्य जमिन र कृषि कर्मले सबैको मन तान्छ । यति भएर पनि यसको बारेमा कमैलाई थाहा छ । टोखालाई धार्मिक र ऐतिहासिक पर्यटकीय नगरीका रुपमा वकास गर्न सके दिनहुँ पर्यटकको भिड लाग्न सक्छ।

गाउँमा नेवार परिकार पाइने खाजा घर छन् । चण्डेश्वरी मास्तिर विदेशी लक्षित गेस्ट हाउस छन्।  

दिनभर घुमफिर गर्न सकिन्छ टोखामा । मोटर बाटोले टोखालाई नुवाकोटको बट्टारसँग जोडेको छ।

टोखा क्षेत्रमा घुम्न लायक धेरै सम्पदा छन् । तिनको यहाँ चर्चा गरिएको छ।

भूतखेल चौर
भूतखेल चौर १०६ रोपनीमा फैलेको छ । चौरको बीचमा प्यागोडा शैलीमा बनाइएको मन्दिर छ जसलाई स्थानीय पिगंण द्य भन्छन् । पिगण भनेकोे पीठ र द्य भनेको देवता । नजिकै मसानघाट छ । लाश जलाउने ठाउँ भएकाले यसलाई मसानकाली पनि भनिन्छ । पहिला लाश जलाउँदा जलाउँदै बनेको खरानीको थुप्रो थियो तर हाल खेल खेल्ने मैदान बनाइएको छ । खुल्ला चौरबाट राम्रो दृष्य देखिन्छ।

सपन तीर्थ
बस्तीबाट १ किमी दुरीमा छ सपन तीर्थ । मन्दिर नजिकै पोखरी । पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविस्वास । त्यतिबेला यहाँको डाँडा गाउँमा क्षयरोग अस्पताल बनाइएको थियो, निकुञ्जभित्र परेकाले हाल त्यसमा सैनिक व्यारेक बनाइएको छ । यहाँ बैशाखमा मेला लाग्छ । शिवपुरी बाघ भैरब गएर यहाँ आउने चलन छ । सपनतीर्थमा गणेश मन्दिर छ । चैत मसान्तमा बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थको कुण्डमा नुहाएर बिस्केट जात्राको लिंगो ढाल्न भक्तपुर जाने चलन छ।

बरुणेश्वर  
टोखाबाट ६ किमी दुरीमा रहेको बरुणेश्वर लाइै झोरमा पर्छ । त्यहाँ श्रीकृष्ण बरुणेश्वर गुफा र झरना छन् । खोंचमा छ झरना र गुफा ।  गुफा भित्र महादेव र पार्वतीका मूर्ति छन् । गुफा करिब २५ मिटर लामो छ ।  गुफाको दायाँ नारायण र लक्ष्मीको मूर्ति । जनबोलीमा बरुणेश्वरलाई बौंडेश्वर भनिन्छ । श्रीस्वस्थानी ब्रतकथा अनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा यहाँ उनको बायाँ स्तन पतन भएको थियो । पछि यहीँ आएर श्रीकृष्णले तपस्या गरेका थिए । अर्को किंवदन्ती अनुसार भष्मासुरले महादेवलाई लखेट्दै जाँदा महादेव भाग्दैभाग्दै यही गुफामा आएर बसेका थिए । त्यसैगरी पाँच पाण्डव पनि यहि बाटो भएर गएको भनाई छ । सानो पोखरीमा पाण्डवहरु बसेको भनाई छ । त्यसैगरी यहाँका चट्टानमा मृग र सीताको पाइलाका आकार पनि देखिन्छ।

बरुणेश्वर दर्शन गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास छ । खोंचमा छन् दुइटा झरना । बरुणेश्वर संरक्षण समितिका अनुसार एउटा झरना २८ मिटर र अर्को ३६ मिटर लामो छ ।  बर्खामा सुन्दर देखिन्छन् झरना । यहाँको जल पवित्र मानिन्छ । काठमाडौंका युवा युवतीहरु त्यहाँ पुगेर नुहाउँछन् । त्यहा नुहाउदा लुगा लगाएरै नुहाउँने चलन छ । यसरी नुहाउदा  शरिरका चर्म रोग पखालिने जनविश्वास छ। 

हिउँदमा झरनाको पानी सुक्छ । चट्टामा रहेको झरनामा क्यानोनिङको संभावना छ।

टोखा सडक मुन्तिर खोंचमा छन् महादेव । सडकबाट ५ मिनेट ओरालो झरे बरुणेश्वर पुगिन्छ । गुफा बाहिर पनि महादेव, गणेश र बिष्णुका मूर्ति छन् । नवारीमा यसलाइै गु“ महादेव भनिन्छ।

गुफा क्षेत्रमा खाजा पसल छन् ।  झोर (१५०० मिटर) बाट टोखा बस्ती र काठमाडौंकौ राम्रो दृष्य देखिन्छ।

गुर्जेभञ्ज्याङ
टोखा, काठमाडौं र नुवाकोटको संगमा पछ गुर्जेभन्ज्याङ (१९०० मिटर) । निकुन्जभित्रको भन्ज्याङबाट नुवाकोटको दृष्य देखिन्छ भने हिमाल खुल्दा पूर्वदेखि पश्चिमसम्म हिमालका लश्करहरु देखिन्छ । यहाँ सैनिक व्यारेक छ । निकुन्ज पस्न टिकट काट्नु पर्छ । यहाँको चौरमा बसेर खाजा खान सकिन्छ । तर निकुन्ज भित्र फोहर फाल्न र हल्ला गर्न पाइँदैन । प्लास्टिकका खोल आफैसंग ल्याउने वा सम्बन्धित ठाउँमा फाल्ने गर्नु पर्छ । निकुञ्ज सार्बजनिक सम्पत्ति हो त्यहाँका विरुवा उखल्ने वा चुँड्ने गर्नु हुँदैन । जंगली इलाका भएकाले एक्लै नहिँड्ने र जंगली जनावरलाई नजिस्क्याउने।

चण्डेश्वरी
टोखा बस्तीबाट करिब २ किमी दुरीमा छ चण्डेश्वरी मन्दिर । शिवपुरी निकुञ्जको फेदमा रहेकाले वातावरण सधैं शितल र हरियो हुन्छ । चण्डेश्वरीलाई टोखाको प्रमुख मन्दिरका  रुपमा मानिन्छ । चण्डेश्वरीमा कालीको मूर्ति पनि छ । यसलाई पुरानो चण्डेश्वरी मन्दिर भनिन्छ । यसकै सिको गरेर पछि बनेपामा बनाइएको मानिन्छ । स्वस्थानी ब्रतकथा अनुसार यहाँ सतिदेवीको दाहिने कुम पतन भएको र दक्षप्रजापतिको यज्ञकुण्डको पवित्र स्थलका रुपमा लिइन्छ । मन्दिरमा चण्डेश्वरी देवीको मूर्ति छैन, म“डलालाई पुज्ने गरिन्छ । मुस्कानेश्वर महादेव, महाकालीको मूर्ति, विष्णु मन्दिर, यज्ञकुण्ड, पाँच धारा यहाँका मुख्य आकर्षण हुन् । १२ वेशाखको भुइँचालोले मन्दिर भत्किएको थियो, हाल पुनः निर्माण हुँदैछ।

यति मात्र होइन गाउँमा बज्रयोगिनी, गणेश, संकटामाई, भीमसेन, नाथेश्वर र नारायण लगायतका मन्दिर चैत्य छन् । टोखामा जिवित देवी कुमारी र देव गणेश पनि छन्।

नेवार बस्ती भएकाले टोखा नाचगान र जात्राको सहर पनि हो । टोखामा मात्रै नाचिने नाचहरूमा ‘याप्याखं र नागप्याखं’ हुन् । लाखे नाच पनि नचाइन्छ । गाउँमा दर्जन भजन समूह छन् । हरेक साँझ भजन किर्तन हुन्छ।

यही पर्यटकीय बस्तीमा ०७५ असोज २१ गते प्रकृति प्रेमी समूहको १३८ औं पदयात्रामा हामी २५० जना पदयात्री पुगेका थियौं । हाम्रो पदयात्रा भूतखेल चौरबाट सुरु भएर गाउँको बाटो हुँदै सपन तीर्थ र त्यहाँबाट खेतको बाटो धानबाली हुँदै झोर पुगेको थियो । झोरबाट निकुञ्ज हुँदै गुर्जेभञ्ज्याङ, डाँडा गाउँ हुँदै चण्डेश्वरीसम्म १८ किमी हिँडेका थियौं हामी । प्रकृति प्रेमी समूहले स्वास्थ्य र आन्तरिक पर्यटन विकास गर्न हरेक महिनाको चौथो शनिबार काठमाडौंका डाँडापाखाका विगत ११ बर्ष देखि निरन्तर हाइकिङ गराउँदै आएको छ।

टोखालाई केन्द्र बनाएर एक दिने हाइकिङ गर्न सकिन्छ । पहिलो टोखा– झोर– गुर्जेभञ्ज्याङ– शिवपुरी निकुञ्ज– तार्केश्वर महादेव– पाँचमाने । पदयात्रा दुरी ११ किमी, समय ५ घण्टा।

दोस्रो टोखा–चण्डेश्वरी– विष्णुद्धार– पानी मुहान । पदयात्रा दुरी १२ किमी, समय ६ घण्टा।

टोखाबाट गुर्जे भञ्ज्याङ हुँदै सुन्दरीजल र डाँडागाउँ हुँदै बूढानीलकण्ठ पदयात्रा गर्न सकिन्छ । त्यहाँबाट झोर हुँदै बालाजु बाइपास निक्लन पनि सकिन्छ।

टोखामा हाइकिङ मात्र होइन साइकलिङ र बाइकिङ पनि गर्न सकिन्छ । यतिबेला चाकु खाँदै, सेता हिमाल हेर्दै वनको छहारीमा रम्दै पदयात्रा गर्दा शरिरमा ऊर्जा र ताजापन भरिन्छ।

विडम्बना ! टोखालाई पनि शहरीकरणले छोइसकेको छ । पुराना घर भत्काएर कंक्रिट घर बनाइँदैछ । मलिलो जमिनमा घर ठडिँदैछन् । यसलाई रोकेर घरहरुलाई पुरानै शैलीमा बनाउन सके राम्रो हुन्छ । साथै पुरातात्विक महत्वका मन्दिर संरक्षण गरिराख्नु पर्छ । यसका लागि सरकार, सरोकारवाला र टोखाबासी जागरुक हुन जरुरी छ देखिन्छ।

कसरी पुग्ने : काठमाडौंबाट ९ किमीमा टोखा । टोखाबाट पदयात्रा गर्दा टोखाको भूतखेल चौरबाट सुरु गर्ने । भूतखेलबाट सपनतीर्थ हुँदै झोर र झोरबाट तेर्सो मोटर बाटो हिँडेर गुर्जेभञ्ज्याङ । गुर्जेभञ्ज्याङबाट शिवपुरी निकुन्ज डाँडा गाउँ हुँदै चण्डेश्वरीसम्म पदयात्रा । टोखा– झोर ६ किमि । झोर–गुर्जेभन्ज्याङ ३ किमि, गुर्जेभञ्ज्याङदेखि  डाँडागाउँ हुँदै चण्डेश्वरी ९.५ किमि । जम्मा पदयात्रा दुरी १८.५ किमि । समय ६ घण्टा ।  अधिकांश बाटो निकुञ्ज भित्र पर्छ।

प्रकाशित: १ मंसिर २०७५ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App