७ वैशाख २०८१ शुक्रबार
खेल

पिपिएल – स्पोर्टस टुरिज्मको आधार

शिक्षा, स्वास्थ्य र पर्यटनसँगै पोखराको उपमा थपिएको छ– खेलकुद सहरका रूपमा । स्पोर्टस टुरिज्मको गन्तव्य अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा बजारीकरण क्रिकेटले गरिदिएको छ । क्रिकेटलाई भेन्युले प्रभाव पारेको छ।

पिच र आउटफिल्ड क्रिकेटको लागि महत्वपूर्ण पाटो हो । त्योसँगै पोखराको प्राकृतिक सौन्दर्यताले पहिलो पटक आयोजित पोखरा प्रिमियर लिगलाई नयाँ उचाईमा पु-याइदियो । पोखराको इतिहासमा क्रिकेटको यति ठूलो प्रतियोगिता आयोजना गरिएको भने थिएन।

पोखरा रंगशालामा झण्डै दुई दशकअघि सुरु गरिएको क्रिकेट मैदान निर्माणपछि अन्तर्राष्ट्रिय छवि बनाउने भूमिका पोखरा प्रिमियर लिगले गरिदियो । पोखरा प्रिमियर लिगको सफलता पोखराको सौन्दर्यले दिलायो । माछापुच्छ्रे काखमुनि छ्वाङ्गै खुलेको हिमाललाई लक्षित गर्दै बलिङ र ब्याटिङ गर्ने खेलाडीले आफूलाई भाग्यमानी सम्झँदा पोखरालाई स्पोर्टस टुरिज्मको रूपमा विकास गर्न ठोस टेवा पुगेको छ।

पोखराको क्रिकेट मैदान १२ वर्षअघि नै अन्तर्राष्ट्रियस्तरमा पुगिसकेको थियो । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान निर्माणको चरणमा थियो । मैदान बनाउन डोजर चलाइएको थियो ।  जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेटप्रेमी बलिङ र ब्याटिङ गरिरहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी (एसियन क्रिकेट काउन्सिल) उत्कृष्ट फोटोको उपाधि दिलायो । फोटो खिँचेका थिए– फोटो पत्रकार सुदर्शन रञ्जितले।

समय फेरिएको छ । मैदान बनेको छ । त्यही मैदानमा टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको पहिलो संस्करणसमेत टुंगिसकेको छ । जुन प्रतियोगितालाई क्रिकेटको सर्वोच्च संस्था आइसिसी (इन्टरनेसनल क्रिकेट काउन्सिल)ले स्वीकृति दिएको थियो । ‘सन् २००७ को फोटोले दिलाएको अवार्डले पोखरालाई अन्तर्राष्ट्रिय रूपमा चिनायो,’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेको क्रिकेटका राष्ट्रिय अम्पाएर सञ्जयकान्त सिग्देलले भने, ‘आइसिसीले पिपिएललाई दिएको मान्यताले पोखरालाई एक्पोजर गराइदिएको छ।’

नाटा पोखराका महासचिव समेत रहेका सिग्देलको भनाई अनुसार पोखराको एक्पोजरसँगै मैदान संरक्षणको चुनौती पनि थपिएको छ।

एसिसीको अवार्ड र आइसिसीको मान्यताले पोखरालाई क्रिकेटको सहरको जिम्मेवारीसहितको परिचय थपेको छ । खेलकुदमन्त्री जगत विश्वकर्मा पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय न्युट्रल भेन्युको रूपमा विकास गर्ने लक्ष्यलाई सहयोग पु¥याएको बताउँछन् । यो भनाइमा सहमत छन्,  राष्ट्रिय खेलकुुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट पनि । तर, त्यसका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने खाँचो भने यहाँका क्रिकेटप्रेमीले औल्याएका छन् ।
सन २००७ अघि पोखरा रंगशालामा क्रिकेट मैदान थिएन भन्दा फरक पर्दैन । पत्रकार रञ्जितको फोटोले अवार्ड जितेपछि क्रिकेटप्रतिको क्रेज ह्वात्तै बढेको थियो । आम खेलकुदप्रेमीले क्रिकेट मैदान बनाउने दबाब दिए । अनि सुरु गरियो मैदान निर्माण।

तत्कालीन क्यानका अध्यक्ष विनयराज पाण्डेको सक्रियता, कास्की जिल्ला क्रिकेट संघका तत्कालीन अध्यक्ष डा. वीरेन्द्रसिंह गुरुङको पहलमा वर्तमान क्रिकेट मैदान बनाउन सुरु गरियो । निर्माण समितिको जिम्मेवारी लिँदै पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक पालिखेले मैदान खारे र सम्याए।

खारिएको जमिनले मैदानको आकार लियो । अनि क्रिकेट पिच बनाइयो । पाँच पिच तयार गरिए । राष्ट्रिय खेलुकद परिषद्ले छुट्टाएको बजेटले निर्माण अघि बढ्यो । आउट फिल्डमा माटो हालियो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको साइज बनाएपछि क्रिकेटका प्रतियोगिता आयोजना गर्ने पूर्वाधार बन्यो।

‘पिपिएल पोखराको ब्रान्ड हो । आइसिसीले मान्यता दिएको छ । हरेक खेललाई आइसिसीले अपटेड गर्छ । गेमलाई प्रत्यक्ष नियाल्यो,’ पोखरा प्रिमियर लिगका आयोजक क्विन्ट इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले भने, ‘त्यो ब्रान्ड पोखरावासीसँगै हुन्छ । हामीले त आयोजना र व्यवस्थापन मात्रै गरेका हौं।’

पिपिएलको पहिलो संस्करण सबैलाई चासो र चनाखो बनायो । क्रिकेटको क्रेज बढायो । अब पोखरामा पनि अन्तर्राष्ट्रियस्तको क्रिकेट प्रतियोगिता हुन्छ भन्ने प्रष्ट हुन पुग्यो । राष्ट्रिय क्रिकेट खेलाडी, विदेशी खेलाडीसँग घरेलु खेलाडीले पनि सहभागिता जनाई एक्पोजरको मौका पाए।

‘क्रिकेट प्रतियोगिता नेपालको धेरै ठाउँमा हुन्छन् । त्यहाँको सफलताको श्रेय आयोजकले लिने गर्छन् । तर, पोखरामा क्रिकेटको सफलता भेन्युले गरेको छ,’ नेपाली क्रिकेटका प्रशिक्षक जगत टमटाले भने, ‘पहिलो पटक आयोजना गरिएको पिपिएलको सफलता भेन्युले दिएको छ । यस्तो भेन्यु विश्वमै कहीँ पनि छैन । ६ टिमका १२ विदेशी खेलाडी पनि भेन्यु देखेरै मन पुलकित बनाएर फर्किएका छन्।’

फाइनलमा मेचीदेखि महाकालीसम्मका दर्शकको उपस्थिति थियो । पूर्वको विराटनगर र पश्चिमको धनगढी टिमको सहभागिताले प्रिमियर लिग हेर्न दर्शक एवं समर्थक पोखरासम्म आएका थिए।

प्रशिक्षक टमटाका अनुसार पोखराको क्रिकेटलाई माथि उठाउन र पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले समेत पूर्वाधार निर्माणमा सहयोगी भूमिका खेल्नुपर्छ । पर्यटन बोर्डले पनि स्पोर्टस टुरिज्मको लागि सहयोग जुटाई क्रिकेट मैदान बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उनको सुझाव थियो । ‘क्रिकेटको आवश्यक पूर्वाधार पिच, आउटफिल्डसँगै पभेलियन, चेन्जिङ रुम, शौचालय र दर्शक प्यारापिट मात्रै भए अन्तर्राष्ट्रियस्तरको खेल क्रिकेट संघको पहलमा पोखरामा ल्याउन सकिन्छ,’ प्रशिक्षक टमटा भन्छन्।

भर्खरै फ्रेन्चाइज स्टाइलको ११ दिने नमस्ते पोखरा प्रिमियर लिगको पहिलो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रत्यक्ष नियाल्यो । आइसिसीको स्वीकृतिसँगै पोखरा रंगशालाको क्रिकेट मैदान र लिगले स्पोर्टस टुरिज्म पुष्टि गरिदिएको छ । प्रत्येक दिनको लिग खेललाई आइसिसीले आफनो आधिकारिक वेबसाइटमा अपडेट ग-यो।

नेपाली क्रिकेट टिममा ब्याटिङ प्रशिक्षक समेत रहेका भारतीय पूर्व खेलाडी उमेश पटवाललाई आइसिसीले निर्देशकको रुपमा नियुक्ति गरी पठाएको थियो । त्यसले पनि पोखरालाई क्रिकेटले स्पोर्टस टुरिज्मलाई अन्तर्राष्ट्रियस्तरमै पु-याएको छ।

पिपिएल स्पोर्टस टुरिज्मको पहिलो खुड्किलो भएको पर्यटन व्यवसायीको ठम्याई छ । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले आइसिसीको मान्यता पाएको पिपिएलले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखरा स्पोर्टस डेस्टिनेसनको रूपमा परिचित हुने विश्वास व्यक्त गर्छन्।

‘खेलकुदको आवश्यक पूर्वाधार बन्नुपर्छ । जति पूर्वाधार बन्यो उति नै स्पोर्टसले गति लिन्छ । टुरिज्म प्रोमोसन हुन्छ,’ उनी भन्छन्।

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान अन्तर्राष्ट्रिय  मापदण्ड अनुसार बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) पेश भइसकेको छ । टेक स्टुडियो अफ इन्जिनियरिङ र जिओ कम इन्टरनेसनल प्रालिको संयुक्तमा क्रिकेट मैदानको डिपिआर तयार गरी राष्ट्रिय खेलकुद परिषदमा पेश गरिएको छ।

रंगशाला झण्डै २० हजार दर्शक क्षमताको छ । प्रतिवेदन अनुसार पेभेलियनसहित चारै दिशामा प्यारापिट, चेन्जिङ  रुम, शौचालयसहितको पूर्वाधार निर्माण गर्ने उल्लेख छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै डिजाइन सहितको प्रतिवेदन बुझाएका छन् । पाँच पिच र पिचदेखि ७५ मिटरको बाउन्ड्रीसहितको मैदान बन्नेछ।’  

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठले पनि पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित पोखरा प्रिमियर लिगले क्रिकेटको क्रेजसँगै क्रिकेटको न्युट्रल भेन्यु बन्न सक्ने विश्वास व्यक्त गरे। ‘हामीसँग भएको प्राकृतिक सौन्दर्यतालाई उपयोग गर्दै क्रिकेटको पभेलियन बनाई क्रिकेटको अन्तर्राष्ट्रिय भेन्यु बनाउनुपर्छ भन्ने खेलकुद मन्त्रालयले ध्यान दिएको छ ।’ उनले भने, ‘सके सरकारले नभए दातृ निकायसँग आवश्यक छलफल भइरहेको छ । फाइनल टुंगो केही महिनाभित्रैमा हुन्छ ।’ ४१७ रोपनी क्षेत्रफलको पोखरा रंगशालाको भौतिक पूर्वाधार बनाउन चिनिया कम्पनीले चासो दिइरहेको छ।

प्रकाशित: १ मंसिर २०७५ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App