७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

स्वस्थ साहित्यकार

साहित्यकार तथा व्यवसायी डा. अर्चना थापा चिनाइरहनुपर्ने नाम होइन । उमेरले उनी पाँच दशक वर्ष पार गरिसकेकी छन् । तैपनि उनलाई  अहिलेसम्म खास रोग लागेको छैन । अझै काम सक्रिय र फूर्तिली छन् । यसको रहस्य के हो ? प्रस्तुत छ– साहित्यकार थापासँग उनको स्वस्थ जीवनबारे नागरिक दैनिकले गरेको कुराकानीः

आजभोलि केमा व्यस्त हुनु हुन्छ?
मि टुसम्बन्धी लेख लेख्दैछु।

कति वर्षकी हुनु भयो?
५० वर्ष कटिसकें

उचाइ कति छ?
५ फट ४ इन्च।

निकै फूर्तिली देखिनु हुन्छ नि, कसरी हो?
खास केही गर्दिनँ, नियमित काममा व्यस्त हुन्छु।

शरीरमा कुनै रोग?
अहिलेसम्म खास त्यस्तो कुनै घातक रोग लागेको छैन । उच्चरक्तचाप, मधुमेह, मुटुरोगजस्ता घातक रोग अहिलेसम्म लागेका छैनन् । धेरै महिलालाई हर्मोन गडबडले हुने रोगचाहिं लागेको छ । केही वर्षदेखि थाइराइड देखिएको छ, यसको मात्र औषधि खाइरहेकी छु।

स्वस्थ रहन के–के खाने कुरा खाने गर्नुभएको छ?
घरमा असाध्यै साधारण खानेकुराहरू बन्छन् । ससुराबा मधुमेहको बिरामी हुनुहुन्छ । उहाँलाई ध्यानमा राखेर चिल्लो कम भएका र साधारण खानाहरू बनेको हुन्छ । त्यही खाना सबैले खान्छौं । म माछामासु खादिनँ।

कुन–कुन परिकार बन्छन् त घरमा?
दाल, भात, रोटी, तरकारी, सागपात, दूध नियमित खानामा पर्छन् । यसका साथै फलफूल भइहाल्यो । जाडोमा भने ग्रिन टी समावेश हुन्छ । मौसमी फलफूलहरू सबै मिलाएर खान्छु  । यतिबेला मौसमी फलफूल केरा, स्याउ र मौसम खाइरहेकी छु । अन्य मौसमका फलफूल पनि मिलाएर खान्छु।

दिनचर्या कसरी बित्छ?
बिहान ५ बजे उठ्छु, व्यायाम, मर्निङ वाक गर्छु । त्यसपछि भान्छाको काममा लाग्छु । खाना खाएपछि सार्वजनिक कार्यक्रममा निस्कन्छु । कुनै कार्यक्रम छैन भने घरैमा लेख÷रचना लेख्ने र पुस्तक अध्ययन गर्ने गर्छु।

स्वस्थ रहन अरू के–के गर्नुहुन्छ?
बिहान उठेपछि पहिला आधा घण्टा हिंड्छु । आएपछि एक घण्टा योग गर्छु । योगपछि हल्का चिया–खाजा खान्छु र घरको काममा लाग्छु । दिनभरि कुनै न कुनै काममा व्यस्त हुन्छु । साँझको खाना छिटो खाएर राति १० बजे सुतिसक्छु । बिहान सबैरै उठ्ने बानी छ । पुस्तक आह्वान नामक आफ्नै संस्था छ । यसले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन्छु । यसले मलाई सक्रिय बनाइरहेको छ।

स्वस्थ रहन अरूलाई के सुझाव दिनुहुन्छ?
हरेक दिनलाई आफूले पाएको उपहारका रूपमा ग्रहण गर्छु र उत्सवका रूपमा मनाउँछु । अरू मानिसको जीवनमा जस्तै मेरो जीवनमा पनि पीरमर्का छन्, संघर्ष छन् । तर यी सबै पक्षलाई व्यवस्थापन गर्दै अघि बढ्न सकेमा मन खुसी हुन्छ । मन खुसी भयो भने शरीर पनि स्वस्थ हुन्छ । साथै राज्यले पनि नागरिकलाई स्वस्थ बनाउन स्वच्छ वातावरण र पानीको व्यवस्था गरिदिनुपर्छ । परिवारको भूमिका पनि महत्वपूर्ण हुन्छ । परिवारको सहयोगले जीवन सुखी हुन्छ । सुखी मान्छेको शारीरिक र मानिसक दुवै स्वास्थ्य राम्रो हुन्छ । सन्तुलित खाना, नियमित व्यायाम र प्रसन्न रहने बानी नै स्वस्थ रहने प्रमुख उपाय हुन्।

प्रकाशित: १ मंसिर २०७५ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App