१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुद्दैमुद्दामा बित्यो एक वर्ष

आक्रमणबाट फुटेको मेयर गंगा पासवान चढ्ने कर्जन्हा नगरपालिकाको ना १ झ १६३९ नम्बरको स्कार्पियो जिप। फाइल तस्बिर/नागरिक

कर्जन्हा (सिरहा) - २३ असोजमा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवान चढेको ना १ झ १६३९ जिपमा अन्धाधुन्ध घरेलु हतियार प्रहार भयो । अगाडिको सिसा नफुटेकाले मात्रै अगाडि सिटमा बसेका मेयर पासवान जोगिए। एक वर्षदेखि जारी केन्द्र विवाद टुंग्याउन बोलाएको विशेष नगरसभामा सहभागी भएर घर फर्किदैं गर्दा आक्रमणमा परेका मेयर पासवान ज्यान रक्षाका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा सुरक्षित हुन पुगे । आफूमाथि आक्रमण गर्ने समूहलाई पक्राउ नगरेपछि मेयर पासवानले कर्जन्हामा पत्रकार सम्मेलन गरी दुःख पोखे। आफूमाथि ज्यान मार्ने मनसायबाट भएकोे आक्रमण घटना अनुसन्धानमा प्रहरी गम्भीर नभएको उनको गुनासो छ।

सुरक्षाकर्मीको उपस्थितिमा हमला हुँदा पनि सुरक्षा अधिकारीहरू चुपचाप बस्नु विडम्बना भएको उनको टिप्पणी थियो। आफूलाई भगवान्ले जोगाएको भन्दै उनी भक्कानिए। आक्रमणकारीहरू प्रस्ट भइसक्दा पनि कानुनी कारबाहीको दायरामा नआउनुले आफू असुरक्षित महसुस गरिरहेको उनले पीडा सुनाए। उनीमाथि भएको यो पहिलो हमला थिएन। एक वर्षदेखि सहकर्मी जनप्रतिनिधिबाट अवरोध खेप्दै आइरहेको उनको दाबी छ।

आक्रमणकारीहरू प्रस्ट भइसक्दा पनि कानुनी कारबाहीको दायरामा नआउनुले आफू असुरक्षित महसुस गरिरहेको मेयर गंगा पासवालने बताए । उनीमाथि भएको यो पहिलो हमला थिएन। एक वर्षदेखि सहकर्मी जनप्रतिनिधिबाट अवरोध खेप्दै आइरहेको मेयर पासवानको दाबी छ।

‘२५ असारमा नगर कार्यपालिकाको कार्यालय बगहामा आगजनी भयो। आगजनी घटनामा संलग्न अझै प्रहरीले पक्राउ गरी कारबाही गर्न सकेको छैन। बगहा जहाँ अहिले पनि नगर कार्यपालिकाको कार्यलय छ, त्यही भवनमा आगजनी गरी मलाई घटनामा मुछ्न खोजियो,’ उनले भने। तर, घटना घामजस्तै छर्लंग भएकाले म जोगिएँ।’

कर्जन्हा नगरकार्यपालिकाको कार्यालय(केन्द्र) सार्ने विषयमा विशेष नगरसभा बोलाइएको थियो। केन्द्र हालकै स्थान बगहामा केन्द्र रहने कि कर्जन्हा बजार सार्ने विषयमा अस्ताक्षर संकलन भएको थियो । कुल ५९ नगरसभा सदस्य रहेकोमा ५३ जनाले हस्ताक्षर गरेका थिए । जसमध्ये हालकै स्थान बगहामा केन्द्र रहनुपर्नेमा २४ जना र सार्नुपर्नेमा २९ जनाले हस्ताक्षर गरेको मेयर पासवानले बताए । सभामा दुईतिहाइ नगरसभा सदस्यको हस्ताक्षर भए प्रदेश सरकारमार्फत केन्द्र सरकारलाई केन्द्र सार्न हस्ताक्षर पठाउने योजना थियो । तर, दुईतिहाइ हस्ताक्षर नपुगेपछि केन्द्र सार्ने विषय अनिर्णित बन्यो।

यसरी सुरु भयो केन्द्र विवाद
भौतिक पूर्वाधार अभावका कारण कर्जन्हा नगरपालिका कार्यालय कर्जन्हा बजारको भाडा घरमा सञ्चालन भइरहेको थियो । राजपत्रमा यस नरपालिकाको केन्द्र बगहा तोकिएको छ । नगर कार्यपालिकाको कामकाज भाडाको घरबाट सञ्चालन गर्न थालेपछि गत वर्ष स्थानीय वागबहादुर दनुवार र ओमप्रकाश महतोले नगर कार्यपालिकाविरुद्ध अदालतमा निवेदन हाले । निवेदनउपर आदेश गर्दै उच्च अदालत राजविराजले राजपत्रमा उल्लेखितबाहेक अन्यत्र केन्द्र राखेर कामकाज नगर्न÷नगराउन अन्तरिम आदेश दियो। अदालतको आदेशपछि नगरकार्यपालिकाको सम्पूर्ण कामकाज बगाहामै फिर्ता भयो।

कर्जन्हा गाउँपालिका हुँदा बगहा गाउँस्थित गाविस भवनमा केन्द्र थियो । ०७४ साल जेठ ११ गते यो गाउँसहितका गाउँ गाभेर नगरपालिका घोषणा भयो । स्थानीय तह निर्वाचन पनि यही कार्यालयबाट सम्पन्न भयो । ‘तर, यहाँ कार्यालय सञ्चालनका लागि पूर्वाधार अभाव भएपछि गाउँ कार्यपालिकाको पहिलो बैठकले भाडाको भवनमा नगरपालिकाको कामकाज गर्ने निर्णय भयो’, उनले भने।

पासवानका अनुसार बगहास्थित तीनकोठे भवनमा नगरपालिकाका १२ शाखा र ३६ उपशाखा सञ्चालन गर्न गाह्रो भएपछि कार्यपालिकाको निर्णयबाट काम काम गर्ने स्थान विभाजन गरिएको थियो।

केन्द्र विवादका कारण पटकपटक यहाँ घटना भइरहे । सोही कारण गत वर्ष धेरै योजनाका काम हुन नसकेको उनले बताए । ‘हामीले नगरपालिकाको केन्द्र सारेका थिएनौं’, मेयर पासवानले भने, ‘आफ्नो भवन नबनेसम्म भाडाको भवनमा कार्यालय सञ्चालन गर्ने निर्णय मात्र गरेका थियौं।’

दलितको नेतृत्व पचेन
दलित वर्गबाट जिल्लामा पहिलोपटक स्थानीय सरकारको नेतृत्व गर्दा धेरैलाई नपचेको मेयर पासवानको भनाइ छ । सबै मिलेर आफूलाई असफल पार्न खोजेको उनले जिकिर गरे । वर्ष दिन बितिसक्दा पनि अझै केन्द्रको सुल्झिन सकेको छैन । जसका कारण विकासका कामकाज ठप्प प्रायः बनेको छ । बजेट तथा योजना निर्माणका कामसमेत प्रभावित भएको छ।

मेयरको प्रस्ताव कर्जन्हामा केन्द्र राख्नुपर्छ भन्ने छ । पूर्वपश्चिम राजमार्ग वरिपरिका वडा १ देखि ६ सम्मका अध्यक्षले बगहा गाउँमै केन्द्र रहनुपर्ने अडान लिएका छन् । कर्जन्हा नगरपालिका ११ बगहा यो नगरपालिकाका बहुसंख्यक बासिन्दा बसोवास गर्ने केन्द्र भएकोले नगर कार्यपालिकाको केन्द्र पनि यही रहनुपर्ने उपमेयर ज्ञानु श्रेष्ठले अडान राख्दै आएकी छन्।

मेयर पासवानका अनुसार केन्द्र सार्ने विषयलाई थाती राखी सबै मिलेर चालू आर्थिक वर्षको विकास बजेट सदुपयोग गर्र्नुपर्ने आग्रह गरेको छ । ‘दोस्रो नगरसभाबाट पारित योजना सहज ढंगले सदुपयोग गर्न विकासमुखी वातावरण बनाएर अघि बढ्न उपमेयर पक्षलाई उनको आग्रह छ । म र उपमेयर एउटै पार्टी (नेकपा) का छौं, तर उहाँले मेरो नेतृत्व पचाउनै सक्नुभएको छैन,’ मेयर पासवानले भने । समस्या केन्द्र बगहा रहने कि कर्जन्हा भन्नेमा नभएर दलित मेयरको नेतृत्व कसरी स्वीकार गर्नेमा रहेको उनको भनाइ छ । ‘म मेयरमा जितेर पनि हारे सरह नै छु,’ उनले भने, ‘कारण मलाई मुद्दैमुद्दामा अल्झाएर काम गर्न दिइएको छैन । हामीमाथि हमला हुँदा न प्रहरीले सुन्छ न त दलका नेता नै सुन्न तयार छन्।’

एक वर्षदेखि एकपछि अर्को लफडामा पारिँदै आएका मेयर पासवान अहिले उकुसमुकसको पीडा खप्दैछन् । मेयरलाई धर्काउने त सामान्य मैहाल्यो यतिसम्म कि मेयरकै पार्टी समर्थित महिला वडाध्यक्षलाई सम्पत्ति विवरण पेस गर्न भनी सही गराएर मेयरविरुद्ध मुद्दा हाल्न लगाइयो । जब उनले यो रहस्य खोलिन् त्यसपछि ती महिला वडा अध्यक्षमाथि हातपातै भएको मेयर पासवानले सुनाए।

प्रकाशित: १ मंसिर २०७५ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App