७ वैशाख २०८१ शुक्रबार
राजनीति

विपद् व्यवस्थापन आकस्मिक कोष बनाउने तयारी

बुटवल– प्रदेश नम्बर ५ को शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ। भैपरी आउने तथा  विपद व्यवस्थापनका लागि सरकारले आकस्मिक कोष बनाउने तयारी गर्दै त्यस सम्बन्धि विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद बैकले आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो। बैठकले वित्त हस्तान्तरण मार्फत संघीय सरकारबाट थप भई आएको १ अर्ब ५५ करोड ९२ लाख ६४ हजार रुपैयाँ खर्च गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ। प्रदेश सभाबाट अनुमोदन गराउने गरी सो रकम खर्च गर्न अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले जानकारी दिए। बैठकले प्रदेश विश्वविद्यालय सम्बन्धी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। 

मन्त्रिपरिषद् बैठकले साउनदेखिको चौमासिकको समीक्षा समेत गरेको छ। साउन यता कात्तिक मसान्त सम्म २० वटा र त्यसअघि ७ वटा बैठक बसेको सरकारका प्रवक्ता मन्त्री चौधरीले बताए। ती बैठकमा १ सय २८ वटा महत्वपूर्ण निर्णयहरु भएका छन्।

यो अवधिमा १३ वटा विधेयक प्रदेश सभामा पेश गर्नुका साथै आगामी प्रदेश सभाको अधिवेशनमा १३ वटा विधेयक पेश गर्ने र २७ वटालाई सैद्धान्तिक सहमति दिएको बताए। मन्त्री चौधरीका अनुसार चालु आर्थिक वर्षमा ५५ वटा ऐन बनाउने सरकारको तयारी छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चरणबद्ध रुपमा मन्त्रालयगत छलफल र समीक्षा भएको भन्दै सरकारका प्रवक्ता मन्त्री चौधरीले केही दिनमै समग्र रिर्पोट तयार गरी सार्वजनिक गर्ने बताए। 

प्रकाशित: ३० कार्तिक २०७५ १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App