पोखरा– स्थापनाको ३ दशकमै विकासमा छलाङ मारेको चीनको हाईनान प्रान्तले गण्डकी प्रदेशसँग भगिनी सम्बन्ध गाँसेको छ। नेपालमा प्रदेश सरकार स्थापना भएपछि पहिलोपटक गण्डकी प्रदेशले विकसित देशको प्रान्तबाट समृद्धि अपेक्षासहित सहकार्य गर्न तयार भएको हो।
प्राविधिक र व्यावसायिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार वाणिज्य र सांस्कृतिक आदानप्रदान गर्ने सहमति सहित दुई देशका प्रान्त र प्रदेशले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध गाँसेको सन्देश दिए।
शुक्रबार प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनमगर र हाईनान प्रान्तका भाईस चेयरमेन छु जुनले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे। समझदारीपत्रमा चिनियाँ प्रविधिको विकास, प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार तथा संस्कृति लगायतका सात विषय रहेका छन्।
प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले यो सम्झौताले दुवै देशलाई फाइदा पुग्ने बताए। बस्नेतका अनुसार गण्डकी प्रदेशले लिएको लक्ष्य पुरा गर्न यो सम्झौता निकै महत्वपूर्ण छ। ‘दुवै देशका दुवै प्रान्त र प्रदेशलाई यसले फाईदा पु¥याउँछ कसरी भने, गण्डकी प्रदेशले त्यहाँको प्रविधी सहित विकास निर्माणको मोडललाई अनुशरण गर्न सक्छ भने हाईनानले हाम्रो प्रदेशको सांस्कृतिक एकता सहितका विषय सिक्ने अवसर पाउँछ’, उनले भने।
गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यता र संस्कृतिको चीनमा प्रचार हुँदा चिनियाँ पर्यटक बढ्ने र प्रदेशले पर्यटनमा लिएको लक्ष्यमा सघाउ पुग्ने अपेक्षा रहेको उनको भनाई छ। ‘नेपाल चिनाउने र नेपालमा उनीहरूका तर्फबाट पर्यटक भित्र्याउने काम हुनेछ,’ उनले भने। संस्कृति, कला, परम्परा, जनस्तरको सम्बन्धका लागि यो भगिनी अवधारणा महत्वपूर्ण मानिन्छ। ‘सहिष्णुता त कायम हुन्छ नै, उनीहरुको आगमनले हामीलाई प्रत्यक्ष फाइदा पनि पुग्छ’, बस्नेतले भने।
भगिनी सम्बन्धको चर्चा भने अघिल्लो झन्डै दुई महिनाअघि देखि नै चलेको हो। त्यतिबेला प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री भएयता पहिलोपटक विदेश भ्रमणस्वरुप उनी हाईनान प्रान्त गएका थिए। भ्रमणमा गएका मुख्यमन्त्री त्यहाँका विकास र समृद्धिसँग लोभिए र उनीहरुलाई पनि गण्डकी प्रदेशको भ्रमण गर्न निम्ता दिए। त्यतिबेला नै उनले भगिनी सम्बन्ध गाँस्ने बताएका थिए।
त्यही निम्तो मान्न चिनियाँ टोली पोखरा आएको हो। छु जुनको नेतृत्वमा आएको चिनियाँ टोलीले शनिबार मुस्ताङमा सौर्य ऊर्जाको अवलोकन समेत गर्नेछ।
ऊर्जामा चीनले देखाएको रुचिबाट गण्डकी प्रदेशले उज्यालो प्रदेश नीतिमा सघाउ पुग्ने आशा गरेको छ। यस्तै, शुक्रबार नै गण्डकी प्रदेशका २० जना विद्यार्थीलाई हाईनान प्रान्तले स्नातक तहको अध्ययन गराउने सम्झौता भएको छ।
आगामी ५ वर्षसम्म प्रदेशबाट ४ जनाका दरले नेपाली विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनको लागि हाईनान प्रान्त जानेछन्। विद्यार्थी छनोटको प्रक्रियाको मापदण्ड भने छिट्टै तयार हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए।
प्रदेशसँगै पोखरा महानगर र हाईकावो सिटीबीच पनि भगिनी सम्बन्ध गाँसिएको छ। महानगरका तर्फबाट उपमेयर मञ्जुदेवी गुरुङ र हाईनान प्रान्तको हाईकावो सिटीका फाङ जोङ्लीले भगिनी सहरको समझदारीपत्रमा हस्ताक्षर गरे। महानगरले चिनियाँ टोलीलाई उपहार समेत दिएको थियो।
प्रकाशित: ३० कार्तिक २०७५ १४:२५ शुक्रबार