coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, २० योजनामा १४ सडक

पत्रकार सम्मेलनमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट बिनियोजन बारेमा जानकारी दिँदै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई ।

खोटाङ– खोटाङमा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट बिनियोजन गरिएको छ। निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट बिभिन्न २० योजनाका लागि बिनियोजन गरेको हो। संघीय संसदका लागि एक मात्र निर्वाचन क्षेत्र तोकिएको खोटाङमा ३ सयको हाराहारीमा माग भएका योजनामध्ये २० योजनालाई छनौट गरेर बजेट बिनियोजन गरिएको शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य भट्टराईले जानकारी दिए। प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका प्रमुखबाट परामर्श समितिमा प्राप्त परामर्शका आधारमा केही दिन समय लगाएर स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट बिनियोजन गरिएको हो। 

प्रतिनिर्वाचन क्षेत्र ४ करोडका दरले प्राप्त हुने अधिकांश बजेट सडकका लागि बिनियोजन गरेको पाइएको छ। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका सबै स्थानीय तहलाई कार्यक्रमले समेटे पनि २० वटा योजनामध्ये १३ वटा योजना सडक निर्माण सम्बन्धिका छन्। सबैभन्दा बढी ५ योजना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पारिएका छन्। प्रतिनिधिसभा सदस्य भट्टराईका अनुशार केपीलासगढी गाउँपालिकाको शुक्रबारे–पत्करु–मैयूँ सडकका लागि १५ लाख, सुंदेल–साल्पा पर्यटन सडकका लागि १५ लाख, ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडकका लागि ३० लाख, रावाबेँसी गाउँपालिकाको निगाले–जौबारी–नुनथला चौकी सडकका लागि २० लाख, हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटार–भाँडबेसी–हलेसी सडकका लागि ५० लाख, माल्खु–चुरीबन–शायखु–ताराखसे सडकका लागि १३ लाख बजेट बिनियोजन गरिएको छ। 

यस्तै, साकेला गाउँपालिकाको साकेला माबि रतन्छामा कृषि बाली बिज्ञान भवन निर्माणका लागि ५० लाख, निर्माणाधिन टेम्के–कर्मदोर्जे गुम्बा निर्माण र सडक निर्माणका लागि एकमुष्ट २० लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा–काहुले–स्यालगौंडे–छितापोखरी सडक स्तरोन्नतीका लागि २० लाख, छोरम्बुमा कोल्डस्टोर निर्माणका लागि १० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महुरेगढी प्राविधिक शिक्षालयको भवन पुर्वाधार निर्माणका लागि २० लाख, छिप्तीबेँसी टोल–दिखुवा सडकका लागि १७ लाख, मनमायाँ राई खानीडाँडा बिमानस्थल–भुलभुले–ढकालबेँसी सडकका लागि २० लाख, काहुले–चिउरीडाँडा–लामदुवाली सडक स्तरोन्नतीका लागि २० लाख, पुरानो बैंकचोक–पोखरी सिँढि निर्माणका लागि १० लाख बजेट बिनियोजन गरिएको छ। 

खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी पर्यटन क्षेत्र बिकासका लागि २० लाख, गारेखोला खानेपानी आयोजना लिच्कीराम्चेका लागि १० लाख, जन्तेढुंगा गाउँपालिकाको चुम्लुङ–खाप्तिङ–रेभुवा सडकका लागि २० लाख, बराहपोखरी गाउँपालिकाको रुम्दु–फोक्सिङटार सडक (बराहपोखरी)का लागि १० लाख र सुन्तले–साकुमा–सडक (सुन्तले)का लागि १० लाख बजेट बिनियोजन गरिएको भट्टराईले बताए। ‘पर्याप्त मात्रामा सडक बनिसकेका छन्। सानातिना सडक खनिरहनुपर्ने आवश्यकता छैन,’ प्रतिनिधिसभा सदस्य भट्टराईले भने, ‘तर, पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र महत्वका सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको हो।’ 

न्यूनतम १० लाखभन्दा कम बजेट बिनियोजन गर्न नमिल्ने र २० वटाभन्दा बढि योजना छान्न नमिल्ने प्रावधान अनुशार टुंग्याइएका बजेट सम्बन्धित स्थानीय तहमार्फत सञ्चालन हुने जनाइएको छ। प्रतिनिधिसभा सदस्य भट्टराई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ र जिल्ला समन्वय अधिकारी शरद पोखरेल सम्मिलित निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट बिनियोजन गरिएको भए पनि पत्रकार सम्मेलनमा गुरुङ अनुपस्थित भएकी छन्। आफुले राखेका योजना समाबेश नगरी एकलौटी गरिएकाले पत्रकार सम्मेलनमा उपस्थित नभएको गुरुङले बताईन्। सिफारिस गरेका योजना नपरेपछि गुरुङ असन्तुष्ट बनेको बताइएको छ। 

प्रकाशित: ३० कार्तिक २०७५ १३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App