८ वैशाख २०८१ शनिबार
समाज

उदयपुरमा बलात्कार घट्ना भयावह, १० महिनामा ३९ बलात्कार

इन्सेक कार्यक्रममा सहभागी प्रजिअ कार्कीलगायत समीक्षकहरू । तस्बिरः महेश्वर/नागरिक

उदयपुर – पछिल्लो समय उदयपुरमा बलात्कारका घट्ना अत्यासलाग्दो तरिकाले वृद्धि भएको छ। गएको १० महिनामा मासिक ४ वटाका दरले बलात्कारका घट्ना घट्ने गरेको तथ्यांक सार्वजनिक भएको छ। बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार गएको १० महिनामा ३९ वटा बलात्कारका घट्ना घटेका छन्।

इन्सेकले प्रकाशन गर्ने ‘वर्ष पुस्तक’को पूर्व समीक्षा कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार १० महिनामा घटेका ३९ घटनामध्ये २६ वटा बलात्कार र १३ वटा बलात्कार प्रयासका घट्ना भएका छन्। बलात्कार र बलात्कार प्रयासबाट जिल्लाका बिभिन्न स्थानीय तहका २१ जना बालिका र १८ महिला पीडित हुन पुगेको तथ्यांक इन्सेक पतिनिधि भरत खड्काले सार्वजनिक गरे। सन् २०१८ जनवरीदेखि अक्टोवर अन्तिमसम्मको अवधिमा जिल्लामा ७० वटा मानव अधिकार उल्ल्ङघनका घट्ना घटेको विवरण देखाउँदै खड्काले सबै घट्ना गैरराज्य पंक्षबाट भएको तथ्यांकले देखाएको बताए।

बलात्कार घट्नामा १२ बालिका पीडित भएको, ८ बालिकामाथि बलात्कार प्रयास, १ बालिका अपहरण गरी बलात्कार, १३ महिला बलात्कार, ५ महिलामाथि बलात्कार प्रयास देखाइएको छ। बलात्कारमा पर्ने पीडितमध्ये १ जना सुस्तमनस्थितिकी बालिकासमेत छिन्। त्यस्तै १५ घरेलु हिंसा, ५ बहुबिवाह पनि १० महिनाभित्रको अवधिमा समेटिएका ज्यादतीका घट्ना छन्। सोही अवधिमा २ जनाको हत्या भएको देखिन्छ भने बम विस्फोटबाट १ बालक घाइते भएका छन्।

त्यसैगरी २ जना कर्मचारीमाथि दुर्व्यवहार भएको, १ जना जनप्रतिनिधिमाथि दुर्व्यवहार, २ बालविवाह, १ जनामाथि खुकुरी प्रहार, १ जनालाई अभक्ष (दिसा) खुवाएको र एउटा बैवाहिक बलात्कारका घट्ना पनि जिल्ला प्रहरीमा दर्ज भएको तथ्यांकले देखाएको छ। समग्र घट्नाबाट ७३ जना पीडित भएको र ८० प्रतिशत महिला पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ। जसमध्ये ७० घटनाको उजुरी परी अदालतबाट ३४ वटाको फैसला गरी कारबाही र मेलमिलापकर्ता मार्फत मिलापत्र गरिएको पाइएको छ। सबै घट्नामा संलग्नमध्ये ३ आरोपित फरार रहेको तथ्यांकले देखाएको छ। ७ वर्षीया बालिका आफ्नै हजुरबुुवाबाट बलात्कारको शिकार भएको दर्दनाक दृश्य पनि तथ्यांकले देखाएको छ।

अपाङ्गता भएका महिला र बालबालिका जो अरुको सहारामा जिउन बाध्य हुन्छन् र प्रतिकार गर्ने क्षमता राख्दैनन् त्यस्तासमेत बलात्कारको शिकार भएको पाइनुले समाज दिसाविहीनतातर्फ उन्मुख भएको समीक्षा कार्यक्रमका सहभागीले टिप्पणी गरे। समीक्षकहरूले बालिकामाथि बालकबाटै बलात्कार हुनु ठूलो चुनौतिको विषय भएको टिप्पणी पनि गरेका छन्। ५ वर्षीया बालिका १० वर्षे बालकबाट, ७ वर्षीया बालिका १० वर्षीय बालकबाट बलात्कृत हुनु लज्जास्पद विषय भएको टिप्पणी समीक्षकले गरे। प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले यौनजन्य घट्ना न्यूनिकरण गर्न सबै पक्षको साथ सहयोग अपरिहार्य रहेको बताए। बिधिको शासन प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै यौनजन्य हिंसा बढ्नु जीवनशैली, समाजको खुल्लापन र सामाजिक सञ्जाल प्रमुख कारण रहेको उनको ठम्याई छ।

प्रजिअ कार्कीले मावनअधिकारका बहस र पैरवी विगतभन्दा पछिल्लो समय निकै हुँदै आएपनि अध्ययनको विषयमा कमी हुनुले विधिको शासन कमजोर हुदै गएको उनको भनाई थियो। विधिको शासन कमजोर भएकैले समाजमा उश्रृंखलता वृद्धि हुँदै विकृति विसंगती बढेर असुरक्षा, अन्याय र अराजकता बढ्न पुगेको उनले बताए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी अर्जुन रानाभाटले घरघरमा भित्रिएको सूचना प्रविधि बालबालिकाका लागि खतरनाक सावित हुँदै गइरहेकोप्रति सतर्क हुनुपर्ने बताए। इमेल, इन्टरनेट, वेबसाइट र सामाजिक सञ्जालका कारण बालबालिकाको यौनजन्य व्यवहारमा परिवर्तन ल्याएको बताउँदै उनले यसप्रति सामाजिक चासो राखेर सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष सृजना दनुवारले सञ्चारमाध्यमको निरन्तर खवरदारीबाट मात्र समाज र कानुन पालकहरू सजग हुनसक्ने भन्दै त्यसप्रति पत्रकारजत्तिकै न्यायालय पनि सचेत हुनुपर्ने बताइन्। घट्नाको विवरण जुन रुपले सञ्चारमाध्यमले बाहिर ल्याएपनि सो न्याय सम्पादन गर्ने निकायबाट कारवाही भयो भएन भन्ने विषयमा समाजले वास्ता नगर्ने उनको भनाई थियो।

इन्सेकका प्रदेश प्रमुख सोमराज थापाले मानव अधिकार संरक्षण र सम्बर्द्धनमा थुपै्र चुनौति देखिएको भन्दै सबै क्षेत्रले कानुन कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए। कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि खड्काले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ मा समेटिने घट्नाहरू वर्षमा २ पटक सार्वजनिक गरी सरोकारवालाको सुझावका आधारमा अभिलेख राख्ने बताए। उनले समेटिएका घट्नालाई आधार बनाएर अर्को वर्ष घट्ना न्यूनिकरण होस् भन्ने उदेश्यले समीक्षा कार्यक्रम गर्ने गरेको बताए।

प्रकाशित: ३० कार्तिक २०७५ ०९:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App