८ वैशाख २०८१ शनिबार
समाज

कालोपत्रे सकिनुपर्ने सडकमा बुङबुङ्ती धुलो, ७२ करोडको योजनामा भेटिँदैनन् कामदार

गोरखाको बारपाक जाने सडक। कालोपत्रे सकिनुपर्ने यो सडकमा बुङ्बुङ्ती धुलो उँड्छ । तस्बिर : नरहरि/नागरिक

बारपाक (गोरखा) – ‘झण्डै ३० किलोमिटर भन्दाबढि सडक यतीबेलासम्म कालोपत्रे भइसक्नुपथ्यो’ बारपाकका जितबहादुर घलेले भने, ‘अहिले गोरखा बाह्रकिलोबाट झण्डै चार घण्टा समय लाग्छ, ‘पिच’ भएको भए डेढ घण्टामा पुगिन्थ्यो।’ धुलाम्य सडकमा मुख छोपेर सकसले यात्रा गर्नुपरेको उनको जस्तै गुनासो बारपाकी र उक्त सडक भएर यात्रा गर्ने अन्यको पनि छ।

११ किलो छेवेटार भालुस्वाँरा, बारपाक सडक आयोजनाले चार वटा प्याकेजमा ठेक्का लगाएको बारपाकसम्मको सडक चौडा गर्दै कालोपत्रे गर्ने काम कछुव गतिमा छ। गत वर्ष सम्पन्न हुनुपर्ने तीनवटा प्याकेजको काम अझै २५ देखि ५० प्रतिशत सम्म बाँकी छ। पहिलो खण्डको ९ देखि १७ किलोमिटर सम्मको काम नागार्जुन त्रिसुली जेभीले २०७१ साल असारमा जिम्मा लिएको थियो।

१० करोड ५९ लाखमा दुई वर्षभित्र सिध्याउने गरी ठेक्का सम्झौता भएपनि अहिलेसम्म ६५ प्रतिशत मात्रै काम भएको छ। समयमै काम नगरेका कारण सडक कार्यालयले उक्त निर्माण कम्पनीलाई कालो सुचीमा राख्ने प्रक्रिया थालेको इन्जिनियर शंकर पौडेलले बताए। १७ किलोमिटरदेखि २२ सम्म दोस्रो खण्डको भने अझै समय बाँकी छ। १३ करोड ४८ लाखमा कन्काई गोरखा जेभीले २०७४ असारमा ठेक्का सम्झौता गरेको हो। उक्त योजनाको काम करिब ६० प्रतिशत पुरा भएको छ।

२०७६ असारसम्म कालोपत्रे सक्नुपर्ने आयोजनाको कामको गती भने शुस्तनै छ। २२ देखि ३० किलोमिटरको सडक कालोपत्रे गर्ने जिम्मा पाएको लोहोनी एण्ड ब्रदर्श कन्ट्रक्सन प्रालीले २०७२ असारमा सम्झौता गरेको थियो। २०७४ असारमा सिध्याउनुपर्ने काम ४० प्रतिशत मात्रै पुरा गरेको छ। १२ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पहिलो पटक थपिएको म्याद सकिएपछि आउँदो चैत मसान्त सम्म पुन म्याद थप्ने तयारी गरिएको छ। ३० किलोमिटरदेखि बारपाक अर्थात ४६ किलोमिटर सम्मको अन्तिम खण्डको ३५ करोड ४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ।

२०७५ असारसम्म सिध्याउनुपर्ने कालोपत्रे अहिले सम्म सुरु समेत भएको छैन।  रसुवा सुर्य ईलाईट जेभीले जिम्मा लिएको उक्त सडक खण्डको म्याद पनि आउँदो चैत सम्म थप्न सडक आयोजनाले प्रक्रिया अगाडि बढाएको छ। यी सडकमा कालोपत्रे सुरु नै भएको छैन। ‘कालोपत्रे सुरु भएको छैन, तर कालोपत्रे गर्नुअघिको नाला निर्माण, सडक फराकिलो बनाउने, बेस हाल्ने, पर्खाल लगाउने काम भइरहेको छ’ साईड इन्जिनियर एवं सडक कार्यालयका सुचना अधिकारी शंकर पौडेलले भने। धमाधम काम गर्ने हो भने एक वर्षभित्र चारवटै प्याकेजको काम गर्न सकिने उनले बताए।

‘काम गर्न समस्या छैन, ठेकेदारले काम नै नगरेको ढिला भएको हो, अहिले हामी नियमित अनुगमन र मूल्याङ्कन गरिरहेका छौँ, सुधार भएको छ’ उनले भने। सडक कार्यालयले काम भएको दावी गरेपनि हिजोआज कुनैपनि खण्डमा कामदार भेटिँदैनन्। कतैकतै मेसिनले सडक चौडा बनाएको बाहेक अरु केही देखिँदैन। दसैं, तिहार, छठको समयमा झण्डै दुई महिना कमदार अभाव देखाउँदै ठेकेदारले काम गरेका छैनन्। जेठको अन्तिमदेखि भदौसम्म वर्षातका कारण देखाउँदै काम नगर्ने ठेकेदारको हेलेचेक्राइले बारपाक सडक अलपत्र छ। कहिले निर्माण सामग्री अभावमा काम हुन नसकेको बाहना निर्माण कम्पनीलाई म्याद थप्ने आधार बन्छ।

चारवटा प्याकेजमा बिभाजन गरेपनि बारपाक सडक एउटै खण्डको सडक कालोपत्रे गर्न संचालन गरिएको जिल्लाकै ठुलो योजना हो। भुकम्पको केन्द्रबिन्दु बारपाकसम्म जाने पर्यटकलाई पनि सडक स्तरोन्नती नहुँदा समस्या भएको छ। बारपाकका स्थानीयलाई भूकम्पपछिको पुनर्निमाण गर्न अफ्ठ्यारो छ भने महँगो भाडा तिर्नुपर्ने बाध्यता छ। बारपाक माथिको लाप्राक गाउँ अहिलेसम्म पुनर्निमाण हुन सकेको छैन।

गैर आवासिय नेपाली संघ (एनआरएन) ले निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा ढिलो भएको बताउँदै आएको छ। जिम्मा लिएको निर्माण कम्पनीले समयमै बारपाक सडक कालोपत्रे नगर्दा चौतर्फी समस्या भएको गुनासो बारपाकीले गरेका छन्।  ठेकेदारहरु भने कार्यालयसँगको मिलेमतोमा ठेक्काको समय थप्छन् तर काम गर्दैनन्। अहिलेको गतीले बारपाक सम्म कालोपत्रे हुन अझै वर्षौँ लाग्छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App