८ वैशाख २०८१ शनिबार
समाज

बुटवलमा भोलिदेखि हर्न निषेध, प्रदेश ५भर विस्तार गरिँदै

रुपन्देही– प्रदेश नं ५ लाई ध्वनि प्रदूषणमुक्त बनाउन ट्र«ाफिक प्रहरीले स्थानीय निकायसँग मिलेर अभियान सुरु गरेको छ। अभियानको थालनीस्वरुप भोलि मंसिर १ देखि बुटबललाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको छ। 

सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको गुनासो आएपछि प्रहरीले अभियानको थालनी गरेको प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले जानकारी दिए। 

अभियानअन्तर्गत मङिंसर १ गतेदेखि बुटवलको तल्लो सिद्धबाबादेखि योगीकुटी, बेलबासदेखि धागो कारखानासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको प्रहरीले जनाएको छ । पहिलो चरणमा नमूनाका रुपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो। यसका लागि बुटवल उपमहानगरपालिका र प्रहरीले बुटवलमा सरोकारवालासँग छलफल गरेका थिए। 

छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले शहरको सुन्दरीकरणका साथै ध्वनि, धुलो र वायु प्रदूषणलाई समेत क्रमशः न्यूनीकरण गर्दै जाने प्रतिबद्धता जनाए। बुटवलपछि प्रदेशका अन्य उपमहानगरपालिकालाई पनि हर्न निषेधित क्षेत्र तोकिने प्रदेश ५ का प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए। 

बुटवलपछि नेपालगञ्ज र घोराहीलाइ पनि हर्न निषेधित क्षेत्र घोषणा गर्ने तयारी प्रहरीको छ । दाङको तुल्सीपुरलाई यसअघि हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि व्यावहारिक कार्यान्वयन भएको थिएन। मंसिरको पहिलो साताभर प्रचारप्रसार तथा जनचेतनामूलक अभियान चलाउने र दोस्रो हप्तापछि नियम पालना नगर्नेलाइ कारवाही गरिनेछ ट्राफिक प्रहरीले जनाएको छ। 

यसअघि ट्राफिक प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण गर्न ‘प्रेसर’ हर्न प्रयोग नगर्न अनुरोध गरे पनि नियन्त्रण हुन सकेको छैन। विद्यालय, अस्पताललगायतका केही क्षेत्रलाई हर्न निषेधित तोकिएको छ तर सवारी चालकले त्यसको पालना गरेका छैनन्। 

प्रकाशित: ३० कार्तिक २०७५ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App