coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पाटनमा ऐतिहासिक कात्तिक नाच

ललितपुरको चर्चित कात्तिक नाचले हिजोआज पाटन दरबार क्षेत्रको रौनक बढाएको छ । साँझपखदेखि सुरू हुने नाच हेर्न कात्तिक डबलीमा युवादेखि पाका पुस्तासम्म झुम्मिन्छन् । दरबार अवलोकनमा आएका विदेशी पर्यटक पनि नाच हेर्न अडिने गरेका छन् । फरक पहिरनमा सजिएका पात्रको अभिनयले सबैको ध्यान खिँच्ने गरेको छ । यो वर्ष कात्तिक २६ गते नाच सुरु भएको हो । नाचमा वर्षेनी फरकफरक नाच देखाइन्छ । गत वर्ष १२ नाच देखाइएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिने कात्तिक नाच संरक्षण समितिले जनाएको छ।

समिति अध्यक्ष किरण चित्रकारका अनुसार कात्तिक २६ र २७ गते बाःथ प्याखं, २८ र २९ गते गते उषाहरण लीला देखाइएको छ । उनी भन्छन्, ‘विदेशी पयर्टक नाच हेर्न आतुर हुन्छन् । उनीहरू अत्यन्त अनौठौ मान्दै ध्यानपूर्वक नाच हेर्छन्, त्यसैले पनि यस नाचको लोकप्रियता बढ्दै गएको छ।’

साँझपखदेखि सुरू हुने नाच हेर्न कात्तिक डबलीमा युवादेखि पाका पुस्तासम्म झुम्मिन्छन् । दरबार अवलोकनमा आएका विदेशी पर्यटक पनि नाच हेर्न अडिने गरेका छन् । फरक पहिरनमा सजिएका पात्रको अभिनयले सबैको ध्यान खिँच्ने गरेको छ ।

३ सय ७६ पुरानो भएकाले युवा पुस्ताले पनि निकै अनौठो नाचका रूपमा लिने गरेका छन् । नाच संरक्षण गर्न युवा पुस्ता पनि लागिपरेका छन् । यो नाच राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका थिए । देशमा विध्न बाधा नआओस्, शान्ति सुव्यवस्था कायम होस् भन्ने हेतुले सिद्धिनरसिंहले नाच सुरु गरेको समिति अध्यक्ष चित्रकारको भनाई छ।

उनका अनुसार नाच सुरु हुनुअघि ललितपुरका बासिन्दा जोश–जाँगरहीन भएपछि राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीसँग सल्लाह लिँदा राज्यमा ‘मघाह’ दोष परेको थियो । त्यतिबेला राज्य सञ्चालनसमेत कठिन भएको थियो । दोष निवारण गर्न ज्योतिषले नरबलि दिन सुझाए । त्यसैबमोजिम राजाले नरबली दिएपछि ललितपुरवासी जोशिला भएको किंवदन्ती छ । पछि सिद्धिनरसिंहले नरबलि अनुचित ठहर गर्दै मुकुट र हिरण्यपात्र बनाई कात्तिक नाच सुरु गरे।

शुक्रबार उषाहरण लीला अन्र्तगतको देवी प्याखँ नाच प्रस्तुत हुनेछ । त्यसभित्र उषाहरण लीलाअन्तर्गतकै उषा र अनिरुद्धको शृंगार प्रसंग पनि देखाइनेछ।

मंसिर १ गते उषाहरण लीलाअन्र्तगत युद्ध कला, २ गते उषाहरण लीला अन्र्तगतकै वाणासुरया सहश्रभुज त्वाल्हाइगु, ३ गते जलशयण, ४ गते वराह अवतार, ५ गते नृसिंह अवतार, ६ गते वस्त्रहरण लीला र ७ गते शुक्रबार दधि लीला नाच देखाएर कात्तिक नाच समापन हुनेछ।

चित्रकारका अनुसार यस वर्ष चन्दा उठाएर र महानगरको सहयोगमा नाच सञ्चालन गरिएको हो । समितिले नाचका लागि रकम अभाव भएको भन्दै ललितपुर उपमहानगरपालिकासँग १६ लाख रूपैयाँ मागेको थियो । यसअघि १७ नाच रहेकोमा अहिले बुद्ध लीला, वस्त्रहरणलगायत ५ नाच लोप भइसकेका छन् । २००६ सम्म २७ दिन हुने यो नाच आर्थिक अभावले छोट्टिँदै गएको हो।

समितिले नाच २७ दिन नै सञ्चालन गर्न १५ लाख रूपैयाँ आवश्यक रहेको बताएको छ । नाच जीवित राख्न पछिल्लो समय सरकारी निकायले चासो नदिएकाका कारण समिति र स्थानीयको आर्थिक सहयोगले परम्परा धान्दै आएको अध्यक्ष चित्रकारको भनाई छ।

सरकारले नाच संरक्षणमा नसघाए पनि निजी स्तरबाटै सञ्चालन स्वीकृति दिए बाह्र दिने नाच २७ दिन नै सञ्चालन गर्न सक्ने समितिको भनाइ छ । ३० वर्ष अघिसम्म नाचका लागि सरकारले नै रकम उपलब्ध गराउँदै आएको थियो।

प्रकाशित: ३० कार्तिक २०७५ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App