८ वैशाख २०८१ शनिबार
खेल

भारत टि–२० महिला विश्वकपको सेमिफाइनलमा

काठमाडौं – आयरल्याण्डलाई ५२ रनले पराजित गर्दै भारत महिला टि–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। वेष्ट इण्डिजको गयनास्थित प्रोभिडेन्स स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो।

भारतका लागि ओपनिङ ब्याट्सम्यान मिथाली राजले सर्वाधिक ५१ रनको अर्धशतकिय पारी खेलिन। उनले ५६ बलमा ४ चौंका र १ छक्का प्रहार गरिन। उनले स्मृति मन्दनासँग मिलेर पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेकी थिइन। मन्दनाले २९ बलमा ४ चौंका र १ छक्काको मद्दतमा ३३ रन बनाइन। त्यस्तै जेमिमा रोड्रिगेजले १८ र दिप्ती शर्माले नटआउट ११ रन जोडिन।

बलिङतर्फ आयरल्याण्डकी किम गार्थले २ तथा इमेयर रिचार्डसन, लुसी ओ राइली र लौरा डिलानीले समान १–१ विकेट लिए। जवाफमा १४६ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड पुरै ओभर खेल्दै ८ विकेट गुमाउँदै ९३ रनमा समेटियो।

आयरल्याण्डका लागि इसोबेल जोयसीले सर्वाधिक ३३ रन बनाइन। उनले ३८ बलमा ४ चौंका प्रहार गरिन। त्यस्तै क्लेरी सिलिङटनले २३ रन जोडेपनि अन्य कुनैपनि खेलाडीले दोहोरो रनको आकडा बनाउँन सकेनन्। आयरल्याण्डलाई ९३ रनमा समेटन भारतका लागि स्पिनर राधा यादवले ३, दिप्ती शर्माले २ तथा पुनम यादव र हर्मनप्रिती कौरले १–१ विकेट लिए।

समूह ‘बी’ रहेको भारतले आफ्नो अन्तिम खेलमा शनिबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेलले समूह विजेताको टुंगो लाग्नेछ।

यसै समूहको न्यूजिल्याण्डले पाकिस्तानलाई ५४ रनले पराजित गर्यो। हारका बाबजुत न्यूजिल्याण्ड र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। भारतसँग आयरल्याण्ड पराजित भएसँगै न्यूजिल्याण्ड र पाकिस्तानको यात्रा समूह चरणमानै सकिएको हो।

प्रकाशित: ३० कार्तिक २०७५ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App