coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

चिसोमा तात्तातो सुप

चिसो मौसम छ । यतिबेला स्वास्थ्यको ख्याल गर्न नसके विभिन्न रोग संक्रमण हुन सक्छ । बालबालिका र वृद्धवृद्धालाई यसको जोखिम बढी हुने गरेको छ । त्यसैले चिसो लाग्नबाट जोगिन न्यानो लुगा लगाउनेसँगै तातो खान्की खान जरुरी छ । शरीरलाई न्यानो बनाउने खान्कीमध्ये एक हो– सुप।

चिसो मौसममा तात्तातो सुप पिउन सके शरीर न्यानो हुने बताउँछिन्, पोषणविद् अरूणा उप्रेती । शरीर न्यानो बनाउन खानपानमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘मौसम अनुसार खानपानमा ध्यान दिन सके शरीरलाई शक्ति दिनुका साथै मौसमी रोगबाट पनि बचाउँछ।’

आम मानिसको भान्छामा पाइने खाद्यपदार्थको सुप बनाएर पिउन सके चिसो लाग्नबाट बच्न सकिने उनी बताउँछिन्।

घरमा बनाउन सकिने केही सुपका परिकारहरू
चिसो मौसममा विभिन्न सुप पिएर शरीरलाई न्यायो बनाउन सकिन्छ । यो मौसममा अधिकांशले कम पानी पिउने भएकाले शरीरमा तरल पदार्थ मात्रा कम हुन सक्छ । यस्तो अवस्थामा विभिन्न समस्या देखिन सक्ने चिकित्सक बताउँछन् । त्यसैले शरीरमा तरल पदार्थको मात्रा कम हुन नदिन फलफूलको जुस, तरकारीको झोल र गेडागुडीको रस प्रशस्त मात्रामा पिउनुपर्ने चिकित्सकको सुझाव छ।

मिक्स भेजिटेवल सुप
भान्छामा पाइने तरकारी मसिनो काटेर आवश्यक मसला राखी यो सुप तयार गरिन्छ।

आवश्यक सामग्री
रुचि र इच्या अनुसारको तरकारी, तेल, ज्वानो/मेथी/जिरा/जिम्बु/लसुन/अदुवा, नुन, ब्ल्याक पेपर, ओरिगानो।

बनाउने तरिका
रुचि अनुसारको तरकारी सानो सानो पिस काट्ने । थोरै तेलमा (ज्वानो/मेथी/जिरा/जिम्बु/लसुन/अदुवा) मध्ये कुनै एक फुराउने । काटिएको तरकारीलाई पाक्ने समयसम्म भुट्ने । भुटेको तरकारीमा ब्ल्याक पेपर, ओरिगानो राखेपछि पानी हाल्ने । उम्लिएपछि तातो मिक्स भेजिटेवल सुप तयार हुन्छ।

स्पाइसी ननभेज सुप (चिकन, मटन, बफ)
ननभेट आइटमलाई विभिन्न मसलेदार सामग्री मिसाई बनाइन्छ, स्पाइसी ननभेज सुप । आफ्नो इच्छा अनुसारको मासुको प्रकारलाई सुप बनाएर पिउन सकिन्छ।

आवश्यक सामग्री
रुचि र इच्छा अनुसारको चिकन, मटन, बफ, तेल, प्याज, तेजपात, ब्ल्याक पेपर, ओरिगानो, नुन, सुर्सानीको धुलो, टमाटर, धनियाँको पात, हट मसला, मुला, गाँजर, सिमी।

बनाउने तरिका
इच्छा अनुसारको (चिकन, मटन, बफ) सानो साइजमा मिलाएर काट्ने । थोरै तेलमा तेजपात र प्याज फुराउने । फुरेको प्याजमा मासुलाई पकाउने । सानो आँचमा मासु पाकेपछि मुला, गाँजर वा सिमी राखेर ढक्कनले ढाक्ने । पाकिसकेको मासुमा आवश्यकता अनुसार नुन, खुर्सानीको धुलो, हट मसला र पानी राखेर उमाल्ने । उम्लिएको सुपमा ब्ल्याक पेपर, ओरिगानो राखेपछि स्पाइसी ननभेज सुप तयार हुन्छ।

स्विट कर्न सुप
स्विट कर्न सुप कलिलो वा हरियो मकैबाट तयार गरिन्छ । यसले शरीरलाई न्यानो मात्रै बनाउँदैन, शक्ति पनि दिन्छ । पौष्टिक तत्वले भरिपूर्ण रहेको मकैलाई घरमा नै सुप बनाएर पिउन सकिन्छ।

आवश्यक सामग्री
हरियो वा फ्रोजन मकै, आलु, गाँजर, सिमी, ब्ल्याक पेपर, चिनी, चिज, मसिनो गरी काटेको लसुन/अदुवा।

बनाउने तरिका
चिजलाई भाडामा तताउने । तातेको चिजमा मसिनो गरी काटिएको तरकारी (आलु, गाँजर, सिमी) राख्ने । आवश्यक मात्रामा पानी राखी तरकारी पकाउने । पाकेको तरकारीमा हरियो वा फ्रोजन मकै राखेर सानो आँचमा पकाउने । चिनी, ब्ल्याक पेपर राखेर केही समय पाक्न दिने । आवश्यक परे पानी थप्न सकिन्छ । एकछिन उम्लिएपछि सुप तयार हुन्छ।

मिक्स गेडागुडी सुप
यो सुप घरमा उपलब्ध गेडागुडीबाट तयार गर्न सकिन्छ । यसलाई सदाझैं खाइने स्वादभन्दा फरक बनाउन सकिन्छ।

आवश्यक सामग्री
गेडागुडी (चना, केराउ, भटमास, राजमा, सिमीको गेडागुडी), नुन, प्याज, टमाटर, तेजपात, गाँजर, इच्छा अनुसार हड्डीसहितको मासु।

बनाउने तरिका
गेडागुडी पाक्ने समयसम्म उसिन्ने । पाकेको गेडागुडीमा गाँजर र हड्डी नभएको मासु राखेर पकाउने । गेडागुडी, गाँजर, मासु पाकेपछि तेजपात, नुन, प्याज राखेर ढाकेर सानो आँचमा पकाउने । प्याजको स्वादिलो बास्ना आएपछि सुप तयार हुन्छ।

पम्किन सुप
फर्सीलाई तरकारीको रूपमा मात्र होइन, सुप बनाएर पनि पिउन सकिन्छ । यसमा शरीरलाई आवश्यक पोषणतत्व हुने भएकाले लाभदायक मानिन्छ।

आवश्यक सामग्री
फर्सी, तेल, सुकेको खुर्सानी, लसुन काटेको, च्याउ, चिज, नुन, ब्ल्याक पेपर।

बनाउने तरिका
सानो आँचमा फर्सीलाई उसिन्ने । फर्सी पाकेपछि अलिभ तेल राख्ने । फर्सीमाथि मिलाएर च्याउ राख्ने, आवश्यक पानी राखेपछि एकछिन च्याउको बास्ना आउने गरी पकाउने । उम्लिएको फर्सीमा लसुन, नुन, ब्ल्याक पेपर राख्ने । केही समय सानो आँचमा पकाएपछि चिज राख्ने । यसरी पम्किन सुप घरमा नै तयार गर्न सकिन्छ।

पिठोको सुप
घरमा भएको कोदो, मकै, गहुँ लाई पकाएर सुप तयार गरिन्छ । नेपाली भान्छामा पाक्ने यो परिकार स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ।

आवश्यक सामग्री
इच्छा अनुसारको पिठो, पानी, नुन, जिम्बु, तेल र बेसार।

बनाउने तरिका
भाडोमा थोरै तेल हालेर जिम्बु फुराउने । बेसार र नुनसँगै पिठो राखेर एकछिन चलाउने । खैरो रंग लिएपछि पानी हालेर उमाल्ने । यसरी पिठोको सुप तयार हुन्छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App