काठमाडौं – फिल्म ‘बन्धकी’को ‘सुर्खेतको बुलबुले ताल’बोलको गीतबाट चर्चामा आएका गायक अर्जुन सुनाम मंसिरको पहिलो साता एकल साँझमा गुञ्जिने भएका छन् । पन्ध्र वर्षदेखि संगीत क्षेत्रमा सक्रिय कैलालीका अर्जुनले आगामी मंसिर ८ गते राजधानीको जमलस्थित राष्ट्रिय नाँच घरमा हुन लागेको ‘अर्जुन सुनाम सुमधुर साँझ’मा उनले झण्डै एक दर्जन गीत सुनाउनेछन्।
सांगीतिक करियरकै पहिलो एकल साँझमा गुञ्जिन लागेका अर्जुन कार्यक्रम प्रति उत्साहित छन् । ‘एउटा कलाकारका लागि एकल साँझ महत्वपूर्ण हुँदो रहेछ । एकल साँझका लागि उमेर पनि बुढो हुनुपर्ने सोचाईलाई चुनौति दिँदै बुढो हुनु भन्दा अघि नै एकल साँझ गर्न लागेको हुँ,’१५ वर्षदेखि दोहोरी साँझमा गीत गाइरहेका गायक सुनामले बिहीबार पत्रकारमाझ भने,‘सबै किसिमका गीत सिक्ने स्थान दोहोरी साँझ नै हो । एकल साँझमा चाहिँ म आधुनिक र लोक शैलीका गीत सुनाउनेछु।’
बहराइन र मलेशियामा लामो समय बसेका अर्जुनले त्यहाँका गजलबारमा पनि गीत गाएका छन् । ‘कहिलेकाँही नेपाल आउँदा गीत रेकर्ड गराएर उतै फर्किने बानीले गर्दा धेरै श्रोताले मलाई चिन्न सक्नुभएन । मेरो गीत मनपराउनुभयो तर मलाई नै चिन्नु भएन । त्यसकारण पनि यो एकल साँझ आम श्रोता दर्शकलाई चिनाउनका लागि माध्यम बन्नेछ,’उनले भने।
सरस्वती मिडिया फिल्मस्को आयोजना तथा सत्यवती कला केन्द्रको व्यवस्थापनमा हुने कार्यक्रममा अर्जुनले ‘सलल बगेको भेरी नदी’, ‘कहाँ पुग्यौ नेटो काटी’, ‘तिम्रै मायामा’, ‘राम कसम’ र ‘तिम्रै झल्को आउँछ मेरी निरमाया’लगायतका गीत सुनाउनेछन् । कार्यक्रम संयोजक उदिराम खड्काले कार्यक्रमबाट संकलन हुने रकमको केही प्रतिशत हिस्सा रक्तक्यान्सर पीडित बिरामी पूर्णकुमार श्रेष्ठलाई प्रदान गरिने बताए।
एकल साँझमा संगीता राना प्रधान, बीबी अनुरागी, रिमा गुरुङ होडा, शर्मिला गुरुङ, टिका पुन, जुनु रिजाल र चन्दा विश्वकर्माले पनि अर्जुनलाई गायनमा साथ दिनेछन्।
प्रकाशित: ३० कार्तिक २०७५ ०५:२६ शुक्रबार