४ वैशाख २०८१ मंगलबार
खेल

एभरेस्ट प्रिमियर लिगलाई आइसिसीको मान्यता

काठमाडौं – काठमाडौंमा मंसिर २२ गतेबाट आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । बिहीबार इपिएलको आयोजकले प्रतियोगितालाई मान्यता दिएको जानकारी दिएको हो।

‘नेपालको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर आइसिसीले यो प्रतियोगितालाई मान्यता दिएका छौं ।  इपिएल नेपाली क्रिकेट र खेलाडीको हितमा छ,’ आइसिसी कार्यसमिति सचिव क्लिभ हिट्चककलाई उद्धृत गर्दै आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा मंसिर २२ गतेबाट आयोजना हुँदै छ । ट्वान्टी–२० संरचनामा हुने क्रिकेट प्रतियोगितामा विभिन्न सहरका ६ क्लबले प्रतिस्पर्धा गर्नेछन् । एभरेस्ट प्रिमियर लिगका प्रमुख आमिर अख्तरले आइसिसीको मान्यताले प्रतियोगिता नयाँ उचाइ पुगेको प्रतिक्रिया विज्ञप्तिमार्फत दिएका छन्।

‘आइसिसीको मान्यता इपिएललाई मात्र नभएर समर्थक, क्रिकेट खेलाडी र क्रिकेटप्रेमीका लागि हो । यसका लागि सहयोग गर्ने सबैमा धन्यवाद दिन चाहन्छु,’ आमिरले जारी विज्ञप्तिमा भनेका छन् । आइसिसीबाट मान्यता लिनका लागि आयोजकले २७ लाख ५० हजार रुपैयाँ शुल्क तिर्नुपरेको आयोजकले विज्ञप्तिमा नै उल्लेख गरेको छ।

विदेशी खेलाडीलाई समावेश गर्दै प्रतियोगिता आयोजना गर्नका लागि आइसिसीको मान्यता अनिवार्य हुन्छ । सोहीअनुसार आयोजकले विदेशी खेलाडी समावेश गर्नका लागि आइसिसीको मान्यता लिएको हो।

पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा कीर्तिपुरमा सञ्चालन हुनेछ । प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, वीरगन्ज र पोखराको सहभागिता रहनेछ । विराटनगर गत संस्करणको उपाधि विजेता हो।

प्रकाशित: ३० कार्तिक २०७५ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App