काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका महन्थ ठाकुरले पार्टीको महाधिवेशनको तिथी तोकिएयता पार्टीमा धमाधम पदाधिकारी नियुक्त गरेका छन् । राजपाको पहिलो महाधिवेशन आगामी वैशाख ७, ८ र ९ गते हुँदैछ । तर महाधिवेशनको तिथि नजिकिँदै जाँदा संयोजक ठाकुरले महासचिव, सहमहासचिव र केन्द्रीय सदस्य धमाधम नियुक्त गरेका हुन् । ठाकुरले नियुक्त गरका पदाधिकारीको रेकर्ड पार्टी कार्यालयमा समेत छैन । पदाधिकारी र केन्द्रीय सदस्यमा नियुक्त गरेको चिठी ठाकुर आफंैले दिने गर्छन् भने यसको जानकारी र रेकर्ड पार्टीका पदाधिकारीलाई पनि हुँदैन।
ठाकुरले हालै अरविन्द साह (धनुषा) र रामकृष्ण यादव (बारा) लाई सहमहासचिवमा नियुक्त गरेका छन् । यसैगरी उनले रमन सिंह (धनुषा), धिरज पटेल, गिता सिंह (कैलाली), सुरेन्द्र यादव (सप्तरी)लाई केन्द्रिीय सदस्यमा मनोनित गरेको चिट्ठिी दिएका छन् । केही दिन अघि मात्र उनले ४ महासचिव र २ सहमहासचिव सुटुक्क नियुक्त गरेका थिए।
ठाकुरले विनोद सिंह, जयप्रकाश ठाकुर, शशिकपुर मिया र पुरूषोत्तम झालाई महासचिवमा नियुक्त गरेका थिए । यसमध्ये महासचिवमा नियुक्त गरिएका झा अहिले पनि संघीय फोरममा आवद्ध रहेको संघीय फोरमका एक केन्द्रीय नेताले दाबी गरे। महाधिवेशनको तिथि घोषणा भइसके पछि पदाधिकारी थप्न नमिल्ने तर्क ठाकुरसँग असन्तुष्ट नेताहरूको छ। राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले महाधिवेशनको तिथि घोषण भइसकेपछि पार्टीको केन्द्रिय समिति विघटन गरी तयारी समिति बनाउनु पर्नेमा उल्टै पदाधिकारी मनोनित गर्नु न्यायोचित नभएको बताए । उनले भने, ‘महाधिवेशनको तिथि घोषणा भइसकेपछि केन्द्रीय समिति विघटन गरी महाधिवेशन तयारी समिति गठन गराैं भन्ने मेरो सुझाव हो । तर तिथि घोषणा भइसकेपछि पनि पदाधिकारी मनोनित गरिँदैछ । यो न्यायोचित होइन।’
यसैगरी अर्का एक पदाधिकारीले पनि यस विषयमा असहमति जनाउँदै पार्टी नेतृत्वको कायैशलीप्रति आक्रोश पोखे। यसबारेमा अध्यक्षमण्डलका सदस्यको ध्यानाकर्षण गराउने पनि उनले बताए। ठाकुरसँग निकट एक नेताले भने ठाकुरले अध्यक्षमण्डलका सबै सदस्यहरूसँग छलफल गरी पदाधिकारी मनोनित गरेको बताए । उनले भने, ‘पदाधिकारी नियुक्त गर्नुमाअध्यक्ष मण्डलका सबै सदस्यहरूको आ–आफ्नो चाहना हो, तर सबै दोष उहाँ (ठाकुर)लाई मात्र दिने काम भयो।’
राजपामा अब महासचिवको संख्या अब ३२ पुगेको छ। यसअघि महामन्त्रीको संख्या ३१ थियो । चुनावका बेला तीन महामन्त्री वृजेशकुमार गुप्ता, जगिंलाल राय र विमल श्रीवास्तव राजपा छाडेर अर्को पार्टीमा प्रवेश गरेपछि महामन्त्रीको सख्या २८ पुगेको थियो तर ठाकुरले ४ व्यक्तिलाई मनोनित गरे यता महासचिवको संख्या अब ३२ पुगेको छ। राजपामा उपाध्यक्षको संख्या २८ पुगेको छ । यसैगरी सहमहासचिवको संख्या ३४ पुगेको छ।
राजपामा पदाधिकारीको कुल सख्या १ सय ३४ पुगेको छ । राजपामा केन्द्रिय सदस्य मात्रै ८ सय १५ जना छन् । झन्डै एक दर्जन केन्द्रीय सदस्य भरखरै थपिएको एक नेताले दाबी गरे । तत्कालीन ६ तराइ मधेस केन्द्रित दलहरूवीच एकता भइ राजपा गठन गरिएको थियो । पार्टी एकता हुँदा तत्कालीन ६ वटा पार्टीका केन्द्रिय सदस्य र पदाधिकारीलाई सोही स्थानमा समायोजन गरिएको थियो । यसबाट राजपामा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या जम्बो छ तर महाधिवेशनको तिथी घोषणा भइसकेपछि पनि पदाधिकारी र केन्द्रीय सदस्य मनोनित गरेपछि राजपाको केन्द्रीय समितिको आकार अरू बढेको छ । महाधिवेशन पछि भने केन्द्रीय समितिको आकार सानो गराउने तयारी राजपाका अध्यक्षमण्डलका सदस्यहरूले गरेका छन्।
प्रकाशित: ३० कार्तिक २०७५ ०२:१३ शुक्रबार