१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अापराधिक घटना राेक्न प्रहरी र स्थानीय तहबीच सहकार्य

खोटाङ - ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले स्थानीय तहसँग सहकार्य थालेको छ। बढ्दो बलात्कार, यौनजन्य हिंसा, हत्या लगायतका घट्ना न्यूनीकरणका लागि प्रहरीले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकासँगको सहकार्यमा ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालन गर्नेगरी समझदारीका काम थालेको हो। ‘समुदाय–प्रहरी साझेदारी अभियान’ सञ्चालनका लागि हालसम्म जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासँग समझदारीपत्रमा द्वि–पक्षीय हस्ताक्षर भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

अापराधिक क्रियाकलाप न्यूनीकरण गर्दै समाजमा शान्ति स्थापनाको लक्ष्यकासाथ हालसम्म हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिका बीचमा समझदारी कायम भइसकेको छ। मुलुकभर एकैसाथ गत कात्तिक ११ गतेदेखि सुरु गरिएको अभियान खोटाङमा प्रहरी र स्थानीय सरकारको सहकार्यमा सञ्चालन गर्न लागिएको हो।

‘समुदाय–प्रहरी साझेदारी अभियान’ का लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीचमा समझदारीपत्रमा हस्ताक्षरसँगै नगरस्तरिय अभियान उद्घाटन हुने डिएसपी केसीले बताए। अभियानका लागि अन्य स्थानीय तहसँग पनि क्रमशः सम्झौता र समझदारी स्थापित गर्ने प्रहरीले जनाएको छ। ‘अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम लिएर टोल–टोलमा पुग्ने छौँ, बलात्कार, यौन हिंसा, लैंगीक हिंसा, साइबर क्राईम लगायतका बारेमा पनि अभियान चलाउने छौँ,’ डिएसपी केसीले भने, ‘समुदाय–प्रहरी साझेदारी अभियानका लागि ६ स्थानीय तहसँग सम्झौता भइसकेको छ। बाँकी ४ स्थानीय सरकारसँग पनि सम्झौता गरेर काम अघि बढाउँछौँ।’ 

 

प्रकाशित: २९ कार्तिक २०७५ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App